बिहीबार, वैशाख २०, २०८१

घुर्ने समस्या मात्र होइन रोग पनि हो

मेरोन्यूज २०७७ चैत ११ गते १३:२६

डा. योगेश न्यौपाने (नाक, कान, घाँटी एवम् सिलिप सर्जन)

डा. योगेश न्यौपाने
काठमाडौं । धेरैजसोले घुर्नुलाई सामान्य समस्याका रुपमा लिने गरेको पाइन्छ । तर यो सामान्य समस्या मात्र नभएर एक प्रकारको रोग पनि हो । विभिन्न अध्ययन हेर्दा विश्वमा ३० देखि ३५ प्रतिशत मानिसमा घुर्ने रोग छ । पछिल्लो समयमा मानिसमा बढ्दो तौलले पनि यो समस्या बढाउँदै गएको देखिएको छ । श्वास फेर्ने बाटो साँघुरो हुन्छ अनि मानिस घुर्न थाल्छ । धेरै साँघुरो बाटोबाट हावा जाँदा त्यसले एक किसिमको ‘भाइब्रेसन’ गर्छ । त्यही भाइब्रेसन नै घुराइ हो ।

नाकदेखि फोक्सोसम्मको नलीलाई ‘श्वासनली’ भनिन्छ । त्यो चाहिनेभन्दा बढी साँघुरो हुन्छ । जसले गर्दा फोक्सोमा हावा कम पुग्छ । घुर्ने व्यक्तिको शरीरमा रातिको समयमा अक्सिजन कम हुने हुन्छ । दिनको समयमा मानिस व्यस्त हुने हुँदा हाम्रो ऊर्जा खर्च हुन्छ तर रातको समयमा आवश्यक ऊर्जा बढी प्राप्त गर्छौं । त्यो ऊर्जा पाउन अक्सिजन चाहिने हुन्छ तर शरीरले पाउँदैन् । घुराइले अहिलेको समयमा रोग नदेखिएपनि दिर्घकालीन समयमा कुनै न कुनै प्रकारको रोग देखाउँछ । कपालदेखि पैतलासम्म देखिने रोग देखिन्छ ।

मुटु रोग, हृदयाघात, बे्रन स्टोक र ग्याष्टिकलगायत समस्या देखिने हुन्छ । घुर्ने समस्या लिएर अस्पतालमा आउनेको संख्यासमेत देखिन थालेको छ । सामान्यता घुराइ सामान्य छ कि रोगमा परिणत भएको छ, त्यसको अध्ययन गरेर हेर्ने गरिएको छ । रातको समयमा बिरामीको शरीरमा एउटा मेसिन राख्ने गरिन्छ । उक्त मेसिन राखेर रातभरीमा सबै रेर्कड गर्छ । रातको समयमा कति पटक घुर्छ, झस्किएर उठ्छ । ति व्यक्तिको शरीरमा रोग देखिएमा कुन रोग हो ? त्यसको अधारमा औषधि दिने गरिन्छ ।

घुराइका लक्षणहरुः

श्वास फेर्दा अड्किने

बिहान उठ्दा घाँटी सुख्खा हुने (पानी तथा चिया खाएपछि मात्रै घाँटी खुल्ने गर्छ)

घाँटी दुखे जस्तो हुने ।

बिहान उठ्दा टाउको भारी हुने, काममा जागर नहुने ।

खाना खाएपछि निन्द्रा आइहाल्ने ।

निन्द्रा लाग्ने ।

रातको समयमा बीचबीचमा पिसाब लाग्ने हुन्छ ।

विस्तारै मुटु तथा मिर्गौलाको समस्या देखिने वा यस्ता रोगको औषधिको मात्रा बढ्ने ।

माथिका लक्षण देखिन थालेमा तुरुन्तै अस्पताल जानुपर्ने हुन्छ ।

यसबाट बच्न के गर्ने ?

बिरामीले आफ्नो तौल घटाउनुपर्ने हुन्छ ।

कोल्टे फर्किएर सुत्ने ।

घुराइसम्बन्धी (व्यायम युट््युबमा हेर्न सकिन्छ)

जंकफुड नखाने ।

माथिका कुनै पनि लक्षण देखिएमा तुरुन्तै चिकित्सकसँग सल्लाह लिने ।

(त्रिवि शिक्षण अस्पताल, महाराजगन्जका डा न्यौपाने नाक, कान, घाँटी रोग विशेषज्ञ हुन्)

प्रतिक्रिया