मंगलबार, वैशाख १८, २०८१

दक्षिण अफ्रिकामा भेटियो कोरोनाको नयाँ भेरियन्ट

खोपले काम नगर्ने विज्ञहरुकाे चिन्ता

मेरोन्यूज २०७८ मंसिर १० गते २१:१५

काठमाडौँ । दक्षिण अफ्रिकामा कोरोना भाइरस (कोभिड १९) को नयाँ भेरियन्ट देखापरेको छ ।

उक्त भेरियन्ट अहिलेसम्म देखापरेका कोरोना भाइरसको सबैभन्दा खराब भेरियन्ट रहेको बेलायतका विज्ञहरुले दाबी गरेका छन् ।

‘बी.१.१.५२९’ नाम दिइएको यो भेरियन्ट धेरै संख्यामा उत्परिवर्तित भएको विज्ञहरुले बताएका छन् ।

कोभिडविरुद्ध बनेका खोपसमेत नयाँ भेरियन्टमा प्रभावकारी नहुन सक्ने भन्दै विज्ञहरुले चिन्ता ब्यक्त गरेका छन् ।

यसअघि देखिएका भेरियन्टमध्ये यो धेरै भिन्न र उत्परिवर्तनको अस्वाभाविक समूह रहेको दक्षिण अफ्रिकास्थित सेन्टर फर इपिडेमिक रेस्पोन्स एण्ड इनोभेसनका निर्देशक प्राध्यापक टुलिओ डी ओलिभियरालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

यो भेरियन्टमा ५० वटा उत्परिवर्तन भएको र ३० भन्दा बढी उत्परिवर्तन केवल स्पाइक प्रोटिनमा मात्रै भएको पनि प्राध्यापक ओलिभियराले बताएका छन् ।

दक्षिण अफ्रिकामा कोभिड १९ को नयाँ भेरिएन्ट देखिएपछि बेलायती पर्यटकहरू दक्षिण अफ्रिकाबाट धमाधम घर फर्किन थालेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

नयाँ भेरियन्ट फैलिएसँगै बेलायतले दक्षिण अफ्रिकी ६ वटा देशका नागरिकहरूलाई यात्रा प्रतिबन्ध लगाउने भएको छ ।

दक्षिण अफ्रिका, नामिबिया, लेसोथो, बोत्सवाना, इसवाटिनी र जिम्बावेका फ्लाइट शुक्रबार राति १२ बजेदेखि आइतबार ४ बजेसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया