मंगलबार, वैशाख १८, २०८१

वाइवाइ मिसेज नेपाल वर्ल्डको अडिसन सुरु हुँदै

मेरोन्यूज २०७८ मंसिर २ गते १३:३०

काठमाडौँ । ‘मिसेस नेपाल वर्ल्ड’को रुपमा हुँदै आएको सौन्दर्य प्रतियोगिता अब ‘वाइवाइ मिसेस नेपाल वर्ल्ड’का नाममा हुने भएको छ । आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले ‘मिसेस वर्ल्ड’को फ्रेन्चाइजीमा जोडिएसँगै चौधरी ग्रुपको लोकप्रिय चाउचाउ वाइवाइसमेत यो सौन्दर्य प्रतियोगितामा सामेल भएको छ ।

विवाहित महिलाहरूका लागि आयोजना गरिँदै आएको उक्त कार्यक्रम ‘वाइवाइ मिसेस नेपाल वर्ल्ड २०२१’का नाममा हुने उनले बताए । झाका अनुसार ‘मिसेस नेपाल वर्ल्ड’सँगै सोही स्टेजमा ‘मिसेस नेपाल इन्टरनेसनल’ र ‘एमएस इन्टरनेसनल’ उपाधि विजेता चयन गरिने छ ।

तीनै प्रतियोगिताका लागि आगामी शनिबार पुरानो बानेश्वरस्थित डाइनिङ पार्कमा अडिसन हुनेछ । आवेदन संस्थाको शंखमूलस्थित कार्यालय तथा नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलबाट प्राप्त गर्न सकिने छ ।

आयोजकले ‘मिसेस नेपाल वर्ल्ड’को विजेतालाई आगामी २०२२ को जनवरीमा अमेरिकाको लसभेगासमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस वर्ल्ड’मा नेपालतर्फबाट प्रतिनिधित्व गर्ने अवसर मिलाएको छ ।

यता ‘मिसेस नेपाल इन्टरनेसनल’को पाँचौ संस्करण सन् २०१९ मा सम्पन्न भए पनि कोभिड १९ का कारण २०२० मा स्थगित हुन पुगेको थियो । यस वर्षदेखि यो प्रतियोगितालाई परिमार्जित रुपमा अगाडि बढाउने आयोजकले जनाएका छन् ।

यो वर्ष ‘मिसेस वर्ल्ड’मा नेपालको पहिलो सहभागिता हुनेछ भने ‘मिसेस इन्टरनेसनल नेपाल’ र ‘एमएस नेपाल इन्टरनेसनल’का विजेताले नेपालको प्रतिनिधित्व गरी सन् २०२२ मा सिंगापुरमा हुने ‘मिसेस इन्टरनेसनल’ तथा ‘एमएस इन्टरनेसनल’मा सहभागिता जनाउने छन् ।

अश्विनी झाको कोरियोग्राफी रहने प्रतियोगिताको नियमित तालिम र प्रशिक्षण आगामी मंसिर ८ गतेदेखि नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलमा हुनेछ । प्रतियोगिताको तयारीमा अन्य ख्यातिप्राप्त विशिष्ट व्यक्तिद्वारा पनि तालिम प्रदान गरिने छ ।

प्रतिक्रिया