शनिबार, वैशाख २२, २०८१

जुवा खालबाट पक्राउ परेका दोलखा कांग्रेस सभापतिलाई छुटाउन दबाब

मेरोन्यूज २०७८ कार्तिक २२ गते १६:१७

काठमाडौँ । बिहीबार राति जुवा खेल्दै गर्दा पक्राउ परेका दोलखाका कांग्रेसका सभापति बर्मा लामालाई छोड्न प्रहरीमा दबाब परेको छ । भर्खरै निर्वाचित भएका सभापति लामा जुवा खेल्दै गर्दा पक्राउ परेपछि महानगरीय प्रहरी परिसर काठमाडौँमा दबाब परेको हो ।

Advertisement

शुक्रबार बिहानसम्म लामाले नाम ढाँटेको तर उनका आफन्त आएपछि दोलखाका कांग्रेस सभापति रहेको खुलेपछि प्रहरीलाई गृहमन्त्री बालकृष्ण खाँणको सचिवालयबाट छुटाउन दबाब परेको थियो । प्रहरीले पक्राउ गरिसकेको र कार्यालय नखुलेकाले उनलाई छुटाउन प्रहरीलाई अप्ठेरो परेको

थियो ।

त्यसपछि कांग्रेस दोलखा सभापति लामाले आफु अस्वस्थ्य भएको भन्दै अस्पताल भर्ना हुन पुगे । अस्पतालमा पनि उनलाई भेटन राजनीतिक दलका नेताहरुको लर्काे नै लाग्यो । यतिसम्मकी उनलाई भेटन अस्पतालमा एमाले नेता तथा पूर्वमन्त्री पार्वत गुरुङसम्म पनि पुगेका थिए । (हेर्नुहोस तस्विर पार्वत गुरुङ लगायत नेताहरु लामा भेटन अस्पतालमा) ।

‘शुक्रबार बिहान दोलखाको सभापति भन्ने खुल्यो त्यतिञ्जेल प्रहरीमा उहाँलाई छुटाउनेको भीड लागेको थियो, उहाँलाई छाड्दा अरुलाई पनि छाड्नु पर्ने हुन्थ्यो त्यो सम्भव थिएन’, प्रहरी परिसर स्रोतले भन्यो ।

बिहीबार राति ११ बजे नयाँ बस्ती, ओलाङचुङगोला गुम्बा नजिकै सागर लामाले कोठा भाडामा लिई कौडा खेलाइरहेको अवस्थामा लामा पक्राउ परेका थिए । प्रहरीले छापा मार्दा कांग्रेस दोलखाका सभापति लामासहित १८ जनालाई महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेको थियो ।

प्रहरीले जुवा अखाडाबाट ६ लाख ३२ हजार ५ सय रुपैयाँसमेत बरामद गरेको थियो । पक्राउ पर्नेहरूमा बौद्धका ५१ वर्षीय माधवप्रसाद आचार्य, रामेछाप घर भई बौद्धमै बस्ने ३६ वर्षका निमा लामा, दोलखा घर भई गोकर्णेश्वर नगरपालिका नयाँबस्ती बस्ने ५२ वर्षीय शान्त थापा, बौद्धका ६१ वर्षीय रामहरि सञ्जेल, रामेछाप घर भई भक्तपुरको राधेराधे बस्ने ५७ वर्षीय गोविन्द तामाङ, रामेछाप घर भई इमाडोल बस्ने ३६ वर्षीय राजेशकुमार श्रेष्ठ छन् ।

त्यसैगरी, जुवा अखाडाबाट पक्राउ पर्नेहरुमा बौद्धका ५७ वर्षीय केशव पुडासैनी, रामेछापका हाल बौद्ध बस्ने ३१ वर्षीय टासी लामा, रामेछाप घर भई गोकर्णेश्वर बस्ने ५० वर्षीय धर्म लामा, ५१ वर्षका दुर्गालाल सुनार, बौद्धमा बस्ने रामेछापका ३५ वर्षीय मनोज तामाङ, २१ वर्षीय रणबहादृुर घिसिङ, काठमाडौँ बुढानीलकण्ठ नगरपालिका १० कपनका २९ वर्षीय सुजन ढुंगेल, सोही नगरपालिका कपनका ४० वर्षीय कृपा गोले, रामेछाप घर भई बौद्ध बस्ने ३१ वर्षका सुमन लामा, दोलखा घर भई भक्तपुरको चाँगुनारायण बस्ने ४० वर्षीय कृष्णबहादुर तामाङ छन् ।

चाडपर्वको बेलामा जुवा खेल्नेहरुका कारण अपराधका घटनामा वृद्धि भएकाले गृहमन्त्रालयले प्रहरीलाई कडाई गर्न निर्देशन दिएपछि प्रहरीले काठमाडौँका सबै क्षेत्रमा छापा मारेको थियो । त्यही क्रममा सभापति लामा नै पक्राउ परेका हुन् ।

गृहमन्त्रीको सचिवालयले दबाब दिए पनि प्रहरीले लामालाई छाड्न मानेको छैन । लामा लगायतको तिहार प्रहरी हिरासतमै बितेको छ । गृहमन्त्री खाँणको सचिवालयले जुवाडे छुटाउन प्रहरीलाई दबाब दिँदा गृहमन्त्री नै बदनाम हुने अवस्था छ । तर, सभापति लामाले भने महानगरीय प्रहरी कार्यालयका प्रमुख एआइजी हरिबहादुर पाल, डीआइजी उत्तम सुवेदी, महानगरीय प्रहरी परिसरका एसपी अशोक सिंहमाथि कांग्रेसका नेताहरुले दबाब दिएका छन् ।

जुवा अखाडाबाट पक्राउ परेकाहरुको सूचीमा सबैको स्थायी ठेगाना लेखिए पनि सभापति लामाको भने काठमाडौंको ठेगाना मात्र राखिएको छ । दोलखा कांग्रेसको सभापति भए पनि प्रहरीले उनलाई काठमाडौँको गोकर्णेश्वर नगरपालिका ६ नयाँबस्तीको बासिन्दा भएको उल्लेख गरेको छ ।

प्रतिक्रिया