मंगलबार, वैशाख १८, २०८१

दुईपटक स्थगित १२ कक्षाको परीक्षा आजदेखि सुरु हुँदै

मेरोन्यूज २०७८ भदौ ३० गते ७:५१

काठमाडौँ । कोरोना महामारीका कारण दुईपटक स्थगित भएको कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले यसअघि दुईपटक स्थगित गरिएको परीक्षा बुधबारबाट सञ्चालन गर्ने भएको हो ।

आजबाट सुरु हुने परीक्षा असोज ८ गतेसम्म सञ्चालन हुनेछ । परीक्षामा ३ लाख ७४ हजार ४ सय १३ परीक्षार्थी सहभागी हुँदै छन् । आफ्नै विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको छ । ४ हजार ३ सय १५ विद्यालयमा होम सेन्टर कायम गरिएको बताइएको छ । परीक्षामा सहभागी सबै विद्यार्थीलाई कोभिडविरुद्धको खोप लगाएको छ ।

कोभिड–१९ संक्रमित विद्यार्थीलाई पछि परीक्षा दिने व्यवस्था गरिएको छ । गत बैशाखमा हुनुपर्ने परीक्षा कोरोना महामारीका कारण लकडाउन लागू भएपछि स्थागित भएको थियो । त्यसपछि साउन ३१ देखि निर्धारण गरिएको परीक्षा पुनः स्थगित गरिएको थियो । आजदेखि सुरु हुने परीक्षा विहान ११ बजेदेखि हुनेछ ।

प्रतिक्रिया