मंगलबार, वैशाख १८, २०८१

तालिवानले छात्रालाई पढ्न दिने, पुरुषसँग कक्षामा बस्न नदिने

मेरोन्यूज २०७८ भदौ २९ गते १२:२१

काठमाडौँ । अफगानिस्तानमा तालिवानी सरकारले छात्राले अध्ययन गर्न विश्वविद्यालय जान अनुमति दिने निर्णय गरेको छ । तालिवानको सत्ता आएपछि छात्रालाई विश्वविद्यालय जान प्रतिबन्ध लगाउने आशंकाका बीच छात्रालाई विश्वविद्यालय जान दिने बताएको हो ।

तर, एउटै कोठामा छात्रा र छात्रलाई राख्न नपाइने तालिवान सरकारका उच्च अधिकारीहरूले जनाएका छन् । विश्वविद्यालयमा महिलालाई पुरुषभन्दा छुट्टै राख्न तालिवान सरकारका नयाँ शिक्षा मन्त्रीले निर्देशन दिएका हुन् ।

विश्वविद्यालयमा छात्रालाई पनि जान दिने निर्णयलाई तालिवानको यसअघि सन् १९९६ देखि २००१ सम्मको शासन व्यवस्थाभन्दा लचक हुने संकेतका रुपमा लिइएको छ । अघिल्लो शासन कालमा अफगानिस्तानमा महिला र बालिकालाई विद्यालय र विश्वविद्यालयमा जान प्रतिबन्ध लगाइएको थियो ।

विश्वविद्यालयलाई लिंगका आधारमा पोसाकसम्बन्धी नयाँ नियम लागु पनि गरिने तालिवानले जनाएको छ । उच्च शिक्षासम्बन्धी मन्त्री अब्दुल बाकी हक्कानीले विद्यार्थीलाई अध्यापन गराइने विषयको समीक्षा गरिने जानकारी दिए ।

तालिवानले महिलालाई शिक्षा र रोजगारीमा प्रतिबन्ध नलगाउने जनाएको छ । तर, गत अगस्ट १५ मा सत्ता आफ्नो हातमा लिएसँगै तालिवानले सुरक्षा अवस्थामा सुधार नआएसम्म स्वास्थ्यकर्मीबाहेक अन्य महिलालाई कामबाट टाढै बस्न निर्देशन दिएको छ ।

तालिवानको अघिल्लोपटकको आफ्नै शासन कालमा भन्दा केही लचक भए पनि निवर्तमान सरकारभन्दा अहिलेको सरकार कठोर देखिएको छ । तालिवानले झण्डै एक महिनाअघि निर्वाचित सरकारलाई अपदस्थ गरी सत्ता कब्जा गरेको थियो ।

प्रदेश राजधानी कब्जा गर्दै केन्द्रीय राजधानी कब्जा गर्न लागेपछि तत्कालीन राष्ट्रपति अशरफ घानीले देश छोडेर भागेपछि सत्ता तालिवानको हातमा आएको हो । उनीले अहिले काम चलाउ सरकार बनाएका छन् । अरु धेरै काममा अन्यौल देखिएको छ । एजेन्सी

प्रतिक्रिया