मंगलबार, वैशाख १८, २०८१

घनश्याम भुसाललाई पत्र !

रामदीप आचार्य २०७८ भदौ ८ गते २१:२४

कमरेड घनश्याम भुषाल क्रान्तिकारी अभिवादन

माओवादी केन्द्र र एमालेको एकता भएर बनेको नेकपापछि एमाले पंक्तिको नेताहरूमध्ये सायद तपाईसँगै धेरै छलफल भयो होला जस्तो लाग्द छ । विषयको गहिराइमा बुझ्ने, तर्कपूर्ण विषय र मिठासपूर्वक कुरा राख्ने, रणनीतिक सोच राख्ने शैलीका कारण तपाई मन पर्नेमध्ये एक नेता हुनु भयो । सम्भवतः नेकपाभित्रको वैकल्पिक सम्भावना बोकेको नेता । गएको चार वर्षको तपाईको असंगतिपूर्ण जीवनकाबारे (व्यक्तिगत होइन राजनीतिक र सार्वजनिक) छलफल गर्नु आवश्यक ठानेर यो पत्र लेख्दै छु । सकारात्मक रुपमा लिनु हुनेछ र गम्भिर आत्मासमीक्षा गर्नु हुनेछ, आशा गर्दछु ।

लेखक : रामदीप आचार्य

१ कमेरड जबजको च्याप्टर क्लोज भयो कि खुल्लै छ ? विगत चार वर्षका सार्वजनिक भाषणको यु ट्युव भिडियो, लेख, अन्तर्वार्ता र समाचारहरू पक्कै पनि हेर्ने गर्नु हुन्छ होला । यति ठूलो वैचारिक प्रश्नमा तपाईको मौनताको अर्थ के हो ? नेपाली मौलिकताको जनवादी क्रान्ति पूरा भयो र अबको यात्रा समाजवादी क्रान्तिको हो ।

त्यो समुन्नत समाजवाद निर्माण गर्ने अबको कार्यभार र त्यसको अगुवाई गर्ने नेतृत्वका बीचको अन्तरविरोधका कारण आजको समस्या आएको हो भन्ने तपाईको संश्लेषण फेरियो कि यथावत छ रु प्रष्ट भाषामा एमालेको गएको महाधिवेशनमा विचार एउटाको र मूल नेतृत्व अर्काको टिमबाट आएको र नेतृत्वले इमान्दारीपूर्वक त्यो विचारको कार्यन्वयन नगरेको कारण समस्या आएको संश्लेषणको समाधान आजको सन्दर्भमा कसरी गर्दै हुनु हुन्छ ? तपाईले भनेको जबजको च्याप्टर क्लोज भएर समाजवादको यात्रा खुलेको हो वा पुरानै जबजको धुन बजिरहन्छ ? विचार र नेतृत्वका बीचको अन्तरविरोधको समाधान कसरी गर्नु हुन्छ ? अनुनय विनय गरेर, बिन्ती पत्र हालेर, जी हजुरी गरेर वा दृढतापूर्वक संघर्ष गरेर ।

प्रवृतिगत हिसाबले केपी शर्मा ओली खराब छन् कम्युनिष्ट आन्दोलनको मूल जड हुन् । तर, संघर्ष गर्न सकिदैन उनकै काखमा, छत्र छायामा रहनु पर्दछ । सकारात्मक विश्लेषण र नकारात्मक संश्लेषण तपाई बाँचिरहेको जीवनको सबैभन्दा ठूलो विरोधा भाष हो । यस्तो अवस्था असाध्यै पीडादायी हुन्छ । हामीले चिनेको घनाश्याम र हामीले भोगेको घनाश्याम एउटै हो कि फरक हो ?

२, नेकापाबारे – नेकपा माओवादी केन्द्र र नेकपा एमालेका बीचमा एकता हुनु नै गल्ती थियो वा एकता टिकाउन नसक्नु गल्ती हो ? एक्काइसौँ शताब्दीको समाजवादी क्रान्तिको कार्यभार पूरा गर्ने संकल्प बोकेको पार्टी प्राविधिक वा कानुनी कारण मात्रै विभाजन हुनु दुर्भाग्यपूर्ण हो । एकता हुनु सही थियो । तर, एकतालाई दीर्घजीवी बनाउन नसक्नु गल्ती हो । नेकपाभित्रको अन्तरसंघर्षलाई चर्काउन, सार्वजनिक गर्न र नेतृत्वलाई दबाब सृजना गर्नमा तपाईको पनि उल्लेख्य हात छ भन्नेमा त सहमत नै हुनु हुन्छ होला । कार्लमार्क्स द्विशतवार्षिकी वरिपरिका गतिविधि हेर्ने जो कोहीले पनि सहजै त्यो निष्कर्षमा पुगिहाल्छ ।

एकातिर, जुन नेतृत्वविरुद्ध जेहाद छेड्नु भयो । उसकै नेतृत्वमा सुटुक्क मन्त्री खाना जानु भयो । विचारको जामा पहिरिएर पदको सिँढी चढ्नु अवसरवाद हो भन्ने कुरा मलाईभन्दा बढी कमरेडलाई नै थाहा छ । अर्कोतिर, कमरेड प्रचण्ड र कमरेड माधवलगायतलाई रुख चढ्न उक्साएर फेद काटेको अनुभूति हुँदैन र कमरेड ? पार्टीभित्र अन्तरसंघर्षको खास उद्देश्य के थियो ? एकता संघर्ष रुपान्तरण । एकता संघर्ष फुट । एकता संघर्ष सम्झौता । एकता संघर्ष आत्मासमर्पण । राजनीतिक जीवनको यति लामो अवधिमा केपी प्रवृत्ति पक्कै चिन्नु भएको थियो होला । संघर्षको अधिकतम र न्यूनतम लक्ष्य थियो होला । अहिले त १० बुँदेको लंगौटीले नछोपेको लाजले आत्म समर्पणतिर पो पुर्यायो । के पार्टीभित्र अन्तरसंघर्ष गर्नु गल्ती थियो भन्ने निष्कर्षमा पुग्नु भएको हो ? तपाईले गर्नु भएको १० बुँदेले दुुई दुई पटक संसद विघटनलाई प्रतिगमन भन्छ वा इतिहासको आवश्यकता ? १० बुँदेको वैचारिक धरातल के हो ? यो त इतिहासप्रतिको भद्दा मजाक भएन र ?

३, कमरेड तपाईले नयाँ पार्टी बन्न नसक्ने दलील मध्य भूराजनीति र देशको आन्तरिक अवस्थालाई उल्लेख गर्नु भएको छ । पार्टीभित्र अन्तरसंघर्ष चलेयता देशबाहिर न त देशभित्र उल्लेख्य फेरबदल भएको छ । बरु अफगानिस्तानबाट नेटोसहित अमेरिकी सेनाको लज्जानक फिर्ती र तालिवानको पुनरागमनले सकारात्मक नै सन्देश प्रवाहित गरेको छ । भलै हामी तालिवानको राजनीतिसँग सहमत नहौँला । सवाल नयाँ पार्टी बनाउने कि नबनाउने भन्ने होइन बरु नयाँ संश्लेषणलाई लागु गर्न कम्युनिष्ट शक्तिको केन्द्री करणको हो । नयाँ विचार, संकल्प र संगठनको आधारमा । विज्ञानको विकासलाई चुनाव चिन्ह जस्तो प्राविधिक कारणले असम्भव देख्नु झनै नमिल्दो कुरा हो । गोयलको मन्त्रणा र संसद विघठनबीचको सम्बन्ध देख्ने विश्लेषण त यहाँहरुकै हो क्यारे ।

चौथाइवालेको आगमन र हतार हतारको सहमतिबीच साइनो छ होला, भन्ने त म कल्पना गर्दिनँ । तपाईको क्रान्तिकारी विचारको गर्जनलाई दुनियाँको कुन चाहिँ भूराजनीतिले रोक्ला र ? के तपाई एक्काइसौँ शताब्दीको स्पार्टाकश बन्न तयार हुनु हुन्छ ? वा यसको विपरित ।

४, रामराज्य, नयाँ अयोध्याको खोजी, सुनका गजुर, हिन्दु राज्य, एकछत्र एकल नेतृत्व, विचारको विकास र कम्युनिष्ट आन्दोलनको तथाकथित लोकतान्त्रीकरणका बीचमा कतै पनि संगति देखिदैन । मार्क्सवादको त छेउटुप्पो पनि भेटिदैन । १० बुँदेसहितको एमालेमा कमरेडको भूमिका के होला ? आधुनिक विज्ञानको विकास र मध्य युगीन धर्मान्धताको बीचमा कुनै मेल हुँदैन । यो गम्भिर विश्व दृष्टिकोणको सवाल हो । के कमरेड पनि बालकोटबाट ‘बा’सँगै रथयात्रा गरेर ठोरीतिर लाग्ने हो र ? म कमरेडलाई कम्तिमा बेलायती विकासवादी जीव वैज्ञानिक रिचर्ड डकिन्सको द गड डिलुजन पढ्न विनम्रतापूर्वक सुझाव दिन्छु । र, १० बुँदेमा समावेश गरेर ‘बा’लाई पनि पढाउन अनुरोध गर्दछु ।

५, कतिपयले भन्ने गर्दछन् एमालेको आन्तरिक मामिलामा माओवादीलाई के चासो । सामान्य आँखाबाट हेर्दा यो ठिकै जस्तो लागे पनि गहिरो गरी हेर्दा उत्तिनै खतरनाक । पार्टीहरू भनेका सार्वजनिक सरोकारका सवाल हुन् । हामी जस्ता बिसौँ वर्ष कम्युनिष्ट आन्दोलनमा खर्चेका नेता कार्यकर्ता मात्रै होइन । आम जनताको पनि उत्तिकै सरोकारको विषय हो । न त एमाले, न त माओवादी वा नत काँग्रेस वा अन्य दलहरू सबैका सवालमा सार्वजनिक बहस हुनु स्वभाविक मात्रै होइन अत्यावश्यक पनि छ । एमाले विभाजनमा चिन्ता र चासो राख्ने हामीहरूले नेकपा विभाजनमा पनि उत्तिकै चिन्ता र चासो राख्नु पर्दछ । तसर्थ, यो हाम्रै सवाल हो भन्ने म ठान्दछु । हाम्रो सवालमा हामी किन नबोल्ने ?

६, आज हामी सिकार तथा भोजन संग्रह, कृषि युग, औद्योगिक युगपछि डिजिटल युगमा प्रवेश गरेका छौँ । होमो सेपियन्सले विगत दुई लाख वर्षमा नगरेको, नभएको विकास विगत दुई दशकमा भएको छ । भविष्य हामीले सोचेभन्दा तीव्र रुपमा बदलिइरहेको छ । हाम्रो सोच्ने तरिकामा, हाम्रो काम गर्ने तरिका र हाम्रो बाँच्ने तरिकामा व्यापक फेरबदल आएको छ । र, यो क्रम जारी छ । हामीले दर्शनमा, सिद्धान्तमा, विचारमा, संगठनात्मक सिद्धान्तमा र कार्यशैलीमा व्यापक विकास गर्नु पर्ने भएको छ । हामी सुल्टो बाटो हिँड्नु पर्ने कतै उल्टो भयो कि ? विज्ञानको विकास भिडले निर्धारण गर्दैन । संख्याले निर्धारण गर्दैन । कतै कमरेडमा आफैप्रतिको विश्वासमा लघुताभास पो देखा पर्यो कि ?

७, अन्तमा, म कमरेडलाई सत्यानास हुने वा विजय हुने बाटो रोज्न अनुरोध गर्दछु । पटक-पटक अपमानको विष पिउनभन्दा विद्रोहको बाटो रोज्नु सर्वोत्तम हुुन्छ होला । तपाईले भनेको सर्वोत्तम बाटो भनेको त मुसीको बिहे जस्तो भयो । एमालेका मान्छे एमालेमै रहन पनि के त्यत्रो माथापच्ची गर्नु र सफलता हात पारेकोमा गर्व गर्नु पर्दछ र ? एमालेका मान्छे एमालेमै रहन निवेदन, अनुनय र सहमति अनि गौरवबोध ? अचम्म । कमेरड एक शुभ चिन्तकको हैसियतले भन्छु देशकै आशा लाग्दो नेता विचारकबाट विचौलियामा रुपान्तरण नभइदिनु होस् । विचारक भनेको घनश्याम जस्तो होओस् भन्ने ठाउँ राखिदिनु होस् । बाटो हिँड्न त तपाई स्वतन्त्र हुनुहुन्छ । कथंकदाचित तपाई हिड्न सक्नुहुन्न भने तपाईले प्रशिक्षित गरेका निष्कलंक र क्रान्तिकारी युवा, विद्यार्थी र तमाम कमरेडहरूको उत्साहमा चिसो पानी नखन्याइदिनु होस् ।

तपाईको हितैसी, रामदीप आचार्य

प्रतिक्रिया