मंगलबार, वैशाख १८, २०८१

सिर्जना प्रकरण : हत्या कि आत्महत्या ?

दया दुदराज २०७८ असार २८ गते १७:४४

झापा । जिल्लाको विर्तामोड नगरपालिकामा आफ्नै घरअगाडि एक युवती अर्धनग्न अवस्थामा मृत फेला परिन् । बिर्तामोड नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्गको सुगम पेट्रोल पम्मदेखि उत्तरतर्फको गल्ली नजिकै आफ्नै घरको आँगनमा २५ वर्षीय सिर्जना बस्नेत अर्धनग्न अवस्थामा मृत फेला परेकी हुन् ।

उनलाई मृत अवस्थामा फेला परेको समाचार प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनरमनीबाट खटिएको प्रहरी टोली घटनास्थल पुग्यो । घटनास्थलमा पुगेको प्रहरीले केही पत्ता लगाउन नसकेपछि प्रहरीले धरानबाट तालिम प्राप्त कुकुर मगाएको हो ।

घटनास्थलमा पुगेको प्रहरीले बस्नेतको शवलाई पोष्टमार्टमका लागि धरान अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय अनरमनीका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) सन्तोष आचार्यले मेरोन्युजलाई जानकारी गराए ।

हत्या कि आत्महत्या ?

मृतक बस्नेत बिर्तामोड नगरपालिका–५ स्थित आफ्नो सानिमाको घरमा आफ्नो परिवारसँगै बस्दै आएकी थिइन् । परिवारसँग खाना खाएर सुत्न गएकी उनी सोमबार बिहान मृत अवस्थामा फेला परेकी मृतककी ठूली आमाको छोरा लक्ष्मण खड्काले मेरोन्युजलाई बताए । उनले भने, ‘सधाझै उहाँहरु खाना खाएर सुत्न भनेर निस्किएकी थिइन्, तर बिहान शव फेला पर्यो ।’

उनको शव अर्धनग्न अवस्थामा फेला पारिएको हो । उनको शव वरपर दुवोहरु माडिएको छ । उनको टाउको र शरीरको केही भागमा चोट लागेको मृतक बस्नेतकी छिमेकी पोषराज कटवालले बताए । ‘उनको शवको अवस्था हेरेर हत्या कि आत्महत्या भन्ने यकिन हुन सकेको छैन । त्यो त पोष्टमार्टमपछि खुल्ला नै, उनको शवको अवस्थालाई हेर्दा वरपरका केही क्षेत्रका दुवोहरू माडिएको थियो, टाउकोमा चोट थियो डाढको पछाडि चोट छ ।’

‘उनको शव हेरेर प्रहरीले छतबाट लडेको जस्तो देखिन्छ, तर उनलाई अर्धनग्न अवस्थामा देखिँदा हत्या जस्तो पनि देखिन्छ’, कट्वालले भने । कुकुरले शव देख्ने वित्तिकै मृतक बस्नेतको कोठासम्म पुगेको थियो ।

कुकुरले संकेत गरेसँगै प्रहरीले उक्त स्थानबाट विभिन्न परीक्षण गरेको छ । तर, हत्या हो कि आत्महत्या पोष्टमार्टमको रिर्पोट बेगर केही भन्न नसकिने मृतक बस्नेतकी छिमेकी कट्वालले बताए ।

विभिन्न परीक्षणहरू गरे पनि हत्या नै हो र आत्महत्या नै हो भन्ने विषयमा अन्योल रहेको प्रहरीले जानकारी दिए । इलाका प्रहरी कार्यालय अनरमनीका प्रहरी प्रमुख डिएसपी आचार्यले भने, ‘हामीले विभिन्न तवरले अनुसन्धान गर्यो घटनास्थलको पूर्णतः रेखदेख र कुकुरले संकेत गरेबमोजिम नै परीक्षण गर्यो । तर, हत्या हो या आत्महत्या पोष्टमार्टमको रिर्पोटमा नै निर्भर छ ।’

यसको अलावा प्रहरीले घटनास्थल वरपरका स्थानीय व्यक्तिसँग सोधखोज गर्ने र अन्य तवरबाट समेत अनुसन्धान गरिरहेको डिएसपी आचार्यले जानकारी दिए ।

दया दुदराज

मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया