बुधबार, वैशाख १९, २०८१

हाइटीका राष्ट्रपतिको हत्यामा २ अमेरिकीसहित १७ जना पक्राउ

मेरोन्यूज २०७८ असार २५ गते १४:३८

काठमाडौँ । विदेशी आक्रमणकारीको समूहले आफ्नो देशका राष्ट्रपति जोवेनेल मोइजको हत्या गरेको हाइटी प्रहरीले दाबी गरेको छ । घटनामा २६ कोलम्बियन तथा हाइटी मूलका दुई अमेरिकी नागरिक पक्राउ परेको हाइटीका प्रहरी प्रमुख लियोन चार्सले बताए ।

अन्तर्राष्ट्रिय समाचार संस्था (बिबिसी)का अनुसार हाइटी प्रहरीले हत्यामा संलग्न २ अमेरिकीसहित १७ जनालाई पक्राउ गरेको छ । यस्तै, ८ जना फरार रहेको प्रहरीले जनाएको छ । बाँकीको प्रहरी कारबाहीमा मारिएका थिए ।

बिहीबार हाइटी प्रहरीले केही आरोपीलाई सार्वजनिक गरेको छ । उनीहरूसँग हतियार, कोलम्बियाको पासपोर्ट र अन्य प्रमाण फेला परेको थियो । प्रहरी प्रमुखले चार्सले भने, ‘राष्ट्रपतिको हत्याका लागि विदेशी हाम्रो भूमिमा आए ।’

कोलम्बियन सरकारले आक्रमणकारीको दस्तामा कम्तिमा ६ सदस्य आफ्नो देशका रिटायर्ड सैनिक रहेको हुन सक्ने जनाएको छ । उसले जाँचमा हाइटीलाई पूरा सहयोग गर्ने बताएको छ ।

अमेरिकी विदेश मन्त्रालयले अहिलेसम्म आफ्नो देशका नागरिक हिरासतमा भएको पुष्टि गरेको छैन । यो हप्ता बुधबार बिहान केही बन्दुकधारीले राष्ट्रपति मोइजको आवासमा प्रवेश गरी गोली चलाएका थिए ।

गोली प्रहारबाट राष्ट्रपतिको मृत्यु भएको थियो । यस्तै, उनकी श्रीमती घाइते भएकी छन् । मोइसे सन् २०१७ मा हाइटीको राष्ट्रपति बनेका थिए । केही समयअघि उनले आफ्नो हत्या प्रयास भएको तर सुरक्षा अधिकारीले बचाएको बताएका थिए । एजेन्सी

प्रतिक्रिया