मंगलबार, वैशाख १८, २०८१

आत्मनिर्भर हुन उद्योग विभागको अभियान

मेरोन्यूज २०७८ असार २२ गते १६:४१

काठमाडौँ । औद्योगिक क्षेत्रबाट उत्पादन हुने सामाग्रीमा आत्मनिर्भर हुन उद्योग विभागले अभियान थालेको छ । आज मंगलबार एक अध्ययन प्रतिवदेन सार्वजनिक गर्दै आवश्यकतानुसार आर्थिक उन्नतीका लागि आत्मनिर्भरमा सर्वसाधारण लाग्न सक्ने संकेत गरेको हो ।

प्रतिवेदनले नेपाली उद्योगहरूलाई प्रोत्साहित गर्ने, कर छुट दिने, विदेशबाट आयात हुने सामाग्रीमा कडाई गर्ने, कच्चा पदार्थ आयातलाई सहज बनाउने, स्वदेशी कच्चा पदार्थलाई प्रोत्साहन गर्नेलगायत विषयवस्तु प्रतिवेदनमा उल्लेख गरिएको छ ।

विं.सं. २०७७÷७८ को लागि निम्न पाँच वटा वस्तुहरूको उद्योग विभागको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत ‘नेपालमा आत्मनिर्भर औद्योगिक सामानको विस्तृत अध्ययन’को आव्हान हुँदा औषधि उत्पादन उद्योगहरूले आफूलाई अग्र स्थानमा लैजाँदै गरेको छ । यस्तै, चिया, विद्युत्तीय तार, जुत्ता–चप्पल, जस्ता पाता र पेन्टलाई आत्मनिर्भरका लागि विभागले प्राथमिकता दिएको छ ।

छनोटमा परेका आत्मनिर्भर हुन सक्ने औद्योगिक कम्पनीहरूको उत्पादन अवस्थाबारे विवरण संकलन, माग र आपूर्तिको अवस्था, उद्योगले भोगिरहेका समस्या तथा समाधानका उपायहरू पहिचान तथा विश्लेषणबारे धारणा माग गरेको छ । यस्तै, सरकारको तर्फबाट दिनु पर्ने प्रोत्साहन, छुट, सुविधा र सहुलियत सम्बन्धमा आवश्यक सुझाव दिने अध्ययनको मुख्य उद्देश्य रहेको विभागले जनाएको छ ।

झापा जिल्लामा सिटिसी र पहाडी क्षेत्र इलाम, पाँचथर धनकुटा, तेह्रथुम, ताप्लेजुङ र संखुवासभामा परम्परागत अर्थोडक्स चिया, ग्रीन चिया, उत्पादन भएर आत्मनिर्भर भएको अध्ययनको निष्कर्ष भएको प्रतिवेदनमा उल्लेख छ ।

नेपालमा एक सय ४६ चिया इष्टेट र १४ हजार १४ साना चिया किसानले १६ हजार ९ सय ५ हेक्टर क्षेत्रमा चिया खेती गरिएको प्रतिवेदनको निष्कर्ष छ । चिया उत्पादनमा ७२ प्रतिशत जमिनमा ठूला उद्योगले ओगटेका छन् भने २८ प्रतिशत जमिनमा साना किसानले समेटेको निष्कर्ष छ ।

गत वर्ष सिटिसी चिया उत्पादन १४ हजार ९ सय ७७ मेट्रिक टन चिया उत्पादन भएको छ । यस्तै, अर्थोडक्स चिया ८ हजार २ सय ५१ मेट्रिक टन, हरियो र अन्य चिया ८ सय ९० मेट्रिक टन चिया उत्पादन भई व्यापार राम्रो भएको अध्ययनको निष्कर्ष छ ।

नेपालमा हाल विद्यमान २५ उद्योगमध्ये १३ उद्योगहरूले मात्र गुणस्तर चिह्न पाएका छन् । २५ केवल र कण्डक्टर उद्योगको औसत क्षमता उपयोग ४० प्रतिशत रहेको छ भने विद्युतीय केवल र कण्डक्टरको ५ वर्षको भविष्यको माग करिव १३ प्रतिशत वृद्धि हुने अध्ययनको निष्कर्ष छ । नेपालमा ६ वटा ठूला जुत्ता–चप्पल उद्योग, १५ मध्यम स्तरका तथा ३ सय साना उद्योग र १ हजार २ सय लघु उद्योगले ४ करोड ५० लाख जोडी उत्पादन गरी १६ करोड रुपैयाँ कमाएको छ ।

दुई लाख मेट्रिक टन पेन्ट नेपालमा उत्पादन भएको छ । जसबाट २० अर्ब रुपैयाँको कारोबार भएको उद्योग विभागको प्रतिवेदनले जनाएको छ । यसैगरी जस्ता पाता उत्पादनको उत्पादन क्षमता हाल ६ लाख मेट्रिक टन रहेकोमा २ खर्ब ५ अर्ब रुपैयाँ लगानी रहेको छ । उद्योग विभागका महानिर्देशक जिवलाल भुसालले गत आर्थिक वर्ष २०७६÷७७ मा नेपालको १० खर्ब ९९ खर्ब रुपैयाँ घाटामा भएको जानकारी दिए ।

मेरोन्युजसँग कुरा गर्दै उनले नेपालबाट ८७ अर्ब ८३ करोड रुपैयाँ बराबरको सामान निर्यात भएको जानकारी दिएका छन् । यस्तै, उनका अनुसार १२ खर्ब ९९ अर्बका रुपैयाँ सामानहरू आयात भएको छ ।

प्रतिक्रिया