मंगलबार, वैशाख १८, २०८१

कोरोनाबारे नेपाली दल र चिनियाँ कम्युनिष्टबीच बैठक जारी

मेरोन्यूज २०७८ जेठ १२ गते १४:०७

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) महामारीविरुद्ध दुई देशका राजनीतिक दलले संयुक्त लडाइँ थाल्नुपर्ने बताउँदै चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) र नेपालका राजनीतिक दलहरूबीच भर्चुअल बैठक सुरु भएको छ ।

प्राप्त सूचनाअनुसार ‘महामारीविरुद्ध लड्न र जनताको जीवन रक्षा गर्न सँगै काम गर्ने तथा चीन र नेपालका राजनीतिक दलहरूको महामारीविरुद्ध संयुक्त लडाइँ’ शीर्षकमा बैठक भएको हो ।

बैठकमा नेपालका तर्फबाट नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, नेपाल मजदुर किसान पार्टीलगायतका नेताहरू सहभागी छन् । नेकपा एमालेबाट महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, कांग्रेसबाट नेता नारायण खड्का, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल र कृष्णबहादुर महराले सहभागिता जनाएका छन् । जसपाबाट अध्यक्ष उपेन्द्र यादवले सहभागिता जनाएका छन् ।

सीसीपीले यसअघि भर्चुअल र नेपालमै आएर कार्यक्रम गर्दा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा पार्टीसँग मात्र गर्दै आएको थियो । नेकपा फुटेपछि सीसीपीले यसपटक अन्य राजनीतिक दललाई पनि छलफलमा सहभागी गराएको हो ।

सीसीपीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागले आयोजना गरेको बैठकको नेतृत्व विभागका प्रमुख सोङ ताओले गरेका छन् ।

प्रतिक्रिया