शुक्रबार, वैशाख २१, २०८१

पार्टीको निर्णयलाई सुदूरपश्चिम एमाले संसदीय दलको बैठकद्वारा अस्वीकार

मेरोन्यूज २०७८ जेठ १२ गते १३:३०

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको नेकपा एमाले संसदीय दलको बैठकले तत्काल सरकारको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । बुधबार बसेको बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारको समर्थन जारी राख्ने निर्णय गरेको हो ।

Advertisement

गत सोमबार पार्टीको स्थायी कमिटी बैठकले माधव नेपाल, झलनाथ खनालसहित ११ जना विघटित प्रतिनिधिसभा सदस्यलाई पार्टीको साधरण सदस्यसमेत नरहने गरी निष्कासनसहित सुदूरपश्चिम प्रदेशको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर, सुदूरपश्चिम एमालेको संसदीय दलको बैठकले स्थायी कमिटीलाई चुनौती दिँदै समर्थन फिर्ता नलिने निर्णय गरेको हो ।

एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको आज बसेकाे बैठकले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने निर्णय भएको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण राज सुवेदीले जानकारी गराए । उनका अनुसार अहिले काेराेनाकाे महामारी र बजेट ल्याउने पर्ने अवस्था भएकाले सरकारबाट समर्थन फिर्ता नलिने निर्णय भएको हाे ।

योसँगै सुदूरपश्चिम प्रदेशमा माओवादी नेतृत्वको सरकार जोगिएको छ । सुदूरपश्चिम प्रदेशसभामा एमालेका २५ सांसद छन् । बुधबारको बैठकमा २१ जना सहभागी थिए ।

सुदूरपश्चिम प्रदेशसभामा अहिले ५२ सदस्य छन् । सबभन्दा ठूलो दल एमालेका २५, नेकपा माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टी (जसपा)का २ जना प्रदेशसभा सदस्य छन् ।

प्रतिक्रिया