मंगलबार, वैशाख १८, २०८१

एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएकाे समर्थन फिर्ता लियाे

मेरोन्यूज २०७८ जेठ १० गते १९:१०

काठमाडाैं । नेकपा (एमाले) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएकाे समर्थन फिर्ता लिएकाे छ । साेमबार बालुवाटारमा बसेकाे स्थायी कमिटी बैठकले नेकपा (माओवादी केन्द्र)का मुख्यमन्त्री त्रिलाेचन भट्टलाई दिएकाे समर्थन फिर्ता लिएकाे हाे ।

एमालेकाे समर्थनमा भट्ट तीन वर्ष अगाडि मुख्यमन्त्रीमा नियुक्त भएका थिए । एमालेकाे ओली पक्षले समर्थन फिर्ता लिएकाे भए पनि एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले उनलाई साथ दिइरहेकाे छ ।

प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका २५ सदस्य छन् । यस्तै सरकारको नेतृत्व गरेको माओवादी केन्द्रका १३ जना छन् । माओवादीले एक सदस्यलाई यसअघि नै कारवाही गरेर हटाइसकेको छ ।

कांग्रेसका १२ सदस्यले प्रतिनिधित्व गर्दा जनता समाजवादी पार्टी नेपालका दुई सदस्य छन् । तत्काल कायम रहेको ५२ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न २७ सदस्य आवश्यक पर्छ ।

माओवादी केन्द्र, कांग्रेस र जसपा मिलेमा सरकारलाई सजिलो पर्छ । केन्द्रमा जसपा प्रधानमन्त्री केपी ओलीको सरकारकै निरन्तरताको चाहनामा रहेको हुनाले एमालेबाहेक माओवादीले सरकार बनाउन सक्ने सम्भावना कम छ ।

एमालेबाट सामाजिक विकासमन्त्री रहेका कृष्णराज सुवेदीले आधिकारिक जानकारी आएपछि छलफल गरिने बताए ।

प्रतिक्रिया