मंगलबार, वैशाख १८, २०८१

कोरोनाबाट जोगिन छाड्नैपर्ने आनीबानीहरू

डा. हेमराज कोइराला २०७८ वैशाख ३१ गते १८:३१

आज अखिल विश्व कोभिड–१९ को महामारीले आक्रान्त भइरहेको छ । चीनको हुवई प्रान्तको बुहान सहरमा सन् २०१९ को उतरार्धमा कोरोना भाइरसको नविन प्रजातीको कारणले यो महामारी फैलिएको हो। आज यस महामारीबाट कुनै पनि देश अछुतो छैन । अत्यन्त तिब्र गतीमा फैलनसक्ने क्षमताको यस रोगले हाल सम्म ३३,१७,३५८ जन सामान्यले ज्यान गुमाइ मृत्युशैयामा सुतासकेको छन्।

विश्व स्वास्थ्य संगठनले दर्शाय अनुरूप यो रोग लागेर ज्यान गुमाउनेहरू मध्ये अधिकांशको स्वास्थ्य स्थिति ठिक नरहेको वा कुनै न कुनै दीर्घरोगले ग्रसित रहेको, प्रतिरक्षा प्रणाली अत्यन्त नाजुक रहेको र जीवनशैली अत्यन्त गडबड रहेको पाइएको छ तर सवल स्वास्थ्य स्थिति रहेकाहरूलाई भने यो रोगले त्यति विध्न ग्रस्त पारेको र ज्यान लिइहालेको छैन ।

यसर्थ आजको परिपेक्षमा कोभिड–१९को संक्रमणबाट जोगिन एवं यसको रोकथाम एवं बचाऊको लागि सबैभन्दा भरपर्दो उपाय भनेको आफ्नाे जीवनी शक्ति वा प्रतिरक्षा प्रणालीलाई सबल पार्नु हो। हामी मध्ये धेरैलाई प्रतिरक्षा प्रणाली कसरी सबल वा दुर्बल हुन्छ भनेर थाह छैन । प्रतिरक्षा प्रणालीलाई सबल पार्ने कि दुर्बल पार्ने भन्ने विषय हाम्रै हातमा छ ।

प्रतिरक्षा प्रणाली लाई सबल बनाउन सन्तुलित भोजन, उचित व्यायाम, समुचित विश्राम, सकरात्मक विचार र सदाचारयूक्त व्यावहारको आवश्यकता पर्दछ भने यसको ठिक विपरित हाम्रो आनिबानी र जीवनशैली गडबड छ, खाना प्राकृतिक छैन्, व्यायाम गर्ने बानी छैन, चेत र चिन्तन घटिया छ भने हाम्रो प्रतिरक्षा प्रणाली पनि कमजोर हुन सक्छ ।

आज म तपाईंहरूलाई के गर्दा हाम्रो प्रतिरक्षा प्रणली कमजोर हुन्छ वा कस्ता आनीबानी एवं जीवनशैलीले प्रतिरक्षा प्रणालीलाई कमजोर बनाइरहेको हुन्छ भन्ने विषयमा बताउन गइरहेको छु । प्रतिरक्षा प्रणालीलाई आघात पुर्याउने आनीबानीहरूः

१. राती नसुत्नेः प्रतिरक्षा प्रणालीलाई सबल बनाउन चाहने हरूले निन्द्रा कहिले पनि माया मार्नु हुँदैन । त्यसमा पनि राती ९ः०० बजे देखि बिहान ५ः०० बजेको बिचको निन्द्रालाई त कदापि कचमचिन दिनु हुँदैन । अनुशंधानहरूले दर्शाय अनुरूप राती राम्रोसँग नसुत्नेहरूको रगतमा प्रतिरक्षा कोषहरूको संख्या कम भएको र रक्षात्मक साइटोकाइन्सको उत्सर्जन पनि राम्रोसँग नभएको पाइएको छ ।

२.चिनीको सेवनः हामीले मिठो मानी मानी खानेगरेको चिनी वा चिनी हालीएका खानेकुराहरू स्वास्थ्यका लागि अत्यन्त हानीकारक हुन भन्ने विषय धेरैलाई थाह नहुन सक्छ तर वास्तविकता बुझ्दा चिनी हाम्रो लागि मिठो विष हो । चिनीले प्रतिरक्षा प्रणालीका कोषहरूको कीटाणु मार्ने क्षमता लाई दुर्बल गराई दिन्छ । यसरी दुर्बल हुनुमा यी कोषहरूलाई यथोचित कार्य गर्नका लागि आवश्यक भिटामिन सी लागाएतका रसायन हरूलाई चिनीले कोषभित्र जान दिदैन फलतः यी कोषहरूको कार्यक्षमता घट्दछ ।

यदि चिया, कफी, कोका, सोडा जस्ता पेयको साथमा चिनी लिइएको हो भने यी रसायनहरूले प्रतिरक्षा प्रणालीमा अझ धेरै आघात पुर्याउँदछ । यसो हुनुको पछाडि चिया, कफी, कोका, सोडामा विद्यमान तत्वहरूले स्नायू तन्त्रलाई लठ्याएर धरैमात्रामा कर्टीसोल उत्सर्जन गर्दछ जसले प्रतिरक्षा प्रणालीलाई कमजोर पार्दछ ।

३. रक्सी सेवनः प्रतिरक्षा प्रणालीलाई दुर्बल बनाउने महत्वपूर्ण द्रव्य रक्सी पनि हो । रक्सीले शरीरमा प्रतिरक्षक कोषहरूको उत्पादनलाई असर पुर्याउनुका साथै रगत, रक्तनली, नशा, नाडी, मुटु, कलेजो आन्द्रा आदिलाई पनि आघात पुर्याउँदछ। यसका अतिरिक्त रक्सीले हाम्रो शरीरमा जलीय माध्यममा हुने अनेकौ जैव रासायनिक प्रतिक्रियाहरूलाई रोकीदिने र चुस्त प्रतिरक्षा क्रियाकालागि चाहिने रसायनको शंष्लेषणलाई समेत प्रभाव पार्दछ ।

४. धूमपानः धूमपानका धेरै बेफाइदाका बारेमा धेरथोर सबैलाई थाहा छ तर यसले प्रतिरक्षा प्रणालीलाई पार्ने असरका बारेमा धेरैलाई थाह नहुन सक्दछ । धूमपान गर्दा धूवामा विद्यमान अनेकौ हानीकारक तत्वहरूले प्रतिरक्षक कोषहरूको कार्यकुशलता कम गरिदिने, कोषहरूमा विद्यमान एण्टीअक्सिडेण्टको गतिविध निरस्त गरिदिने, धरै भन्दा धेरै फ्रि–रेडिकलहरूको उत्पादन गराई दिने र ती कोषहरूको डी.एन.ए. समेत ड्यामेज गरिदिने गर्दछ । कमजोर प्रतिरक्षा भएकै कारण कोभिड–१९ धूमपान कर्ताहरूमा भयावह बन्ने गरेको छ ।

५ तनावः मानसिक तनाव पनि प्रतिरक्षा प्रणालीकाे दुस्मन हो । तनावको स्थितिमा प्रतिरक्षा प्रणाली कमजोर हुनुमा तनाव हारमोन कर्टिसोल र एड्रिनालीन जिम्मेवार छ । शरीरमा कर्टिसोल र एड्रिनालीनको मात्रा ज्यादा भएको खण्डमा यी हारमोनले प्रतिरक्षाका कोषहरूलाई निष्क्रिय पार्ने एवं यी कोषहरूको कीटाणु पहिचान क्षमतालाई समेत निष्तेज पारिदिन्छ ।

६. घटिया खानाः सबल प्रतिरक्षा प्रणालीको लागि सन्तुलित, प्रकृतिक एवं पौष्टिक खानाको ठूलो महत्व छ । खानाको गुणस्तर खस्किँदा प्रतिरक्षा प्रणालीको कार्यक्षमता पनि खस्किन्छ । त्यसमा पनि जङ्कफूड, रिफाईण्ड फूड र मीलावटी खानेकुरा हरूको सेवनले प्रतिरक्षा प्रणालीलाई बेस्सरी आघात पुर्याउँदछ ।

यी खानेकुराहरूमा प्रचूर मात्रामा स्याचूरेटेड फ्याट, प्रशोधित चिनी, चाहिने भन्दा उच्च मात्रामा नुन, स्वाद बर्धक रसायन, अजीनोमोटो जस्ता प्रीजरभेटिभ हालीएको हुदाँँ यी रसायनहरूले प्रतिरक्षा प्रणालीलाई असर पुर्याउँदछ । फलतः घाउ–खटिरा ढिलो निको नहुने, इन्फ्लामेसन भइरहने, क्यानसरको जोखिम बढ्ने, मुटु तथा रक्तनलीका रोगहरू लाग्ने, एलर्जीले सताइरहने र प्रतिरक्षा प्रणाली आत्मघातीसमेत हुने गर्दछ ।

७. पर्याप्त पानी नपिउनेः शरीरमा हुने अनेकौ जैव रसायनिक क्रियाहरूलाई जलीय माध्यम चाहिन्छ र यो माध्यम दिइरहनका लागि पर्याप्त मात्रामा पानीको सेवन गरिरहनु पर्ने हुन्छ । शरीरमा पानी कमहुदाँ फ्री रेडकलहरूको अत्याधिक उत्पादन भई कोषहरूले अक्सिडेटिभ स्ट्रेस झेल्नु पर्दछ । विभिन्न अनुशंधानहरूले दर्शाय अनुरूप प्रतिरक्षा प्रणालीका कोषहरूलाई यथोचित कार्य गर्नका लागि उर्जा भन्दा पनि पानीको पहिलो आवश्यकता रहन्छ ।

८. व्यायाम नगर्नेः निष्क्रिय जीवनले प्रतिरक्षा प्रणालीलाई समेत निष्क्रिय पारिदिन्छ । व्यायाम र कसरतको माध्यमले जीवनलाई सक्रिय राख्दा तनाव कमहुने एवं सेता रक्तकोषहरूको उत्पादन लाई समेत बढाउँदछ । यसका अलावा व्यायाम एवं कसरतले विजातीय द्रव्यहरूको निष्कासनलाई समेत बढाउने हुँदा शरीरमा हानीकारक ब्याक्टेरिया एवं भाइरसको वृद्धि एवं वर्धन हुन दिँदैन । यसर्थ व्यायाम हाम्रो प्रति रक्षा प्रणालीको लागि अत्यन्त राम्रो आदत हो तर व्यायाम गर्ने नाममा कठिन प्रकारको व्यायाम गर्दा भने प्रतिरक्षा प्रणालीलाई असर पार्दछ ।

९.औषधिको सेवनः रासायनिक औषधिहरूको दीर्घकालीन प्रयोगले पनि प्रतिरक्षा प्रणालीलाई कमजोर बनाइरहेको हुन्छ । त्यसमा पनि केही औषधिहरू जस्तै अत्मघाती प्रतिरक्षा प्रणाली जन्य रोगहरूका औषधि, किमोथेरापिका औषधि, स्टेरोइडहरू आदिले त प्रतिरक्षा प्रणालीलाई प्रत्यक्ष दमन गर्ने हुँदा औषधिको प्रयोगमा पनि विशेष ध्यान पुर्याउनु पर्नेहुन्छ ।

१०.दीर्घ रोगः स्वास्थ्यमा दीर्घकालीन समस्या भएका जस्तै उच्चरक्तचाप, मधुमेह, दम, खोकी, क्यान्सर, वात–रोग, एचआइभी, मृगौला रोग, अत्मघाती प्रतिरक्षा प्रणालीका समस्या झेलिरहेकाहरूको प्रतिरक्षा प्रणाली रोग लागेकै कारणले कमजोर भएको हुन्छ ।

(लेखक भरतपुर-१ वागीश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्रकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।)

प्रतिक्रिया