शनिबार, वैशाख २२, २०८१

ग्रान्डी अस्पतालले नयाँ बिरामी भर्ना नलिने

मेरोन्यूज २०७८ वैशाख २९ गते १३:२२

काठमाडौँ । काठमाडौँको धापासीमा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पताल प्रशासनले सूचना जारी गर्दै अक्सिजनको अभाव भएकाले नयाँ बिरामी भर्ना लिन असमर्थ रहेको जानकारी गराएको हो ।

Advertisement

अस्पतालका महाप्रबन्धक विकासमान सिंहले अस्पतालमा कोरोना भाइरस संक्रमित तथा कोरोना नभएका बिरामीको सुरक्षित तवरले उपचार गराइरहँदा हाल आएर अक्सिजनको चरम अभाव भएपछि नयाँ बिरामी भर्ना लिन समस्या परेको जानकारी दिए ।

“कोभिड–१९ बिरामीको उपचारमा कटिबद्ध भएर लागेको अवस्थामा नेपाल सरकारको नियमअनुसार दैनिक सय सिलिण्डर अक्सिजन मात्र अस्पताललाई प्राप्त हुँदा चाहेअनुसार थप बिरामी भर्ना गरेर उपचार गर्न असमर्थ छौँ”, उनले भने ।

अक्सिजनको अभावले सेवा प्रवाह गर्न कठिनाइ भएको भन्दै ग्रान्डीले बिरामीसँग क्षमासमेत मागेको छ । अक्सिजनको मात्रा आवश्यकताअनुसार प्राप्त भएसँगै थप बिरामीको भर्ना गरिने महाप्रबन्धक सिंहको भनाइ छ ।

ग्रान्डी अस्पतालले हाल ७५ भन्दा बढी कोरोना बिरामी तथा सयभन्दा बढी कोरोना नभएका बिरामीले उपचार गरिरहेको छ । विसं २०६९ मा स्थापना भएको ग्रान्डी अस्पतालमा दुई सयभन्दा बढी श्ययामार्फत बिरामीको उपचार हुँदै आएको छ ।

प्रतिक्रिया