शुक्रबार, वैशाख २१, २०८१

अर्थमन्त्री भन्छन्– कोरोनाको दोस्रो लहरले आगामी आर्थिक परिदृश्य चुनौतीपूर्ण छ

मेरोन्यूज २०७८ वैशाख २२ गते १८:२१

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ को दोस्रो लहरका कारण निकट भविष्यको आर्थिक परिदृश्य चुनौतीपूर्ण रहेको बताएका छन् ।

Advertisement

‘समावेशी र दीगो आर्थिक पुनरुत्थानको मार्गमा महामारिको बहुपक्षीय प्रभावको कारण अवरोधको सामना गर्नु परेको छ’, बुधबार भएको दक्षिण एसियाली एसियाली सहयोग संगठन (सार्क) अर्थमन्त्रीहरूको अनौपचारिक बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘अर्थतन्त्रको उत्थानशीलता कायम गर्दै परिस्थितिलाई हरसम्भव वशमा राख्ने प्रयत्नका बाबजुद निकट अवधिका आर्थिक परिदृश्य चुनौतीपुर्ण नै रहेका छन् ।’

आशातित रूपमा आर्थिक पुनरुत्थान प्रक्रियाको पाटोमा अगाडि बढिरहेका बेला कोभिड–१९ को दोस्रो लहरबाट निक्कै ठूलो धक्का पु¥याएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले पर्यटन, अन्य सेवाहरू र उत्पादन क्षेत्रमा गम्भीर असर पुगेको उल्लेख गरे ।

कोभिड–१९ को महामारीले स्वास्थ, शिक्षा र मानव जीवनका समृद्धिका समग्रपक्षलाई निरन्तर प्रताडित बनाइरहेको उल्लेख गर्दै उनले जीवन र जनजीविकालाई बचाउन विश्वव्यापी एक्यबद्धता, सामूहिक प्रयत्न र सहयोग अपरिहार्य भएको दाबी गरे ।

कोभिड–१९ विरूद्धको खोपको उत्पादन र आपूर्तिका लागि भारत सरकारप्रति आभार प्रकट गर्दै अर्थमन्त्री पौडेलले त्यसले सार्क क्षेत्रभित्र खोप अभियान शीघ्ररुपमा सञ्चालन गर्ने प्रयासलाई सम्भव बनाएको धारणा व्यक्त गरे ।

आर्थिक पुनरुत्थानको गतिलाई दीगो बनाउन साझा उद्देश्य र लक्ष्यसहित एकसाथ भएर हामी सबैले काम गर्नु पर्ने समय आएको भन्दै अर्थमन्त्री पौडेलले रोजगारी सिर्जना र स्वदेशी उत्पादनमा अधिकरुपमा केन्द्रित भई आर्थिक क्रियाकलाप विगतको भन्दा राम्रो निर्माणका लागि आवश्यक सहजीकरण गर्न आवश्यक नीति तथा रणनीति एकसाथ तय गर्नुपर्ने बताए ।

सार्क क्षेत्रले बजार र अर्थतन्त्रबीचको गहिरो अन्तरआबद्धताको माध्यमबाट क्षेत्रीय समृद्धि हासिल गर्न सक्ने थुप्रै सम्भावना बोकेको भन्दै उनले छोटो समयमा नै आर्थिक पुनरुत्थान गर्न सक्नेमा आशावादी रहेको बताए ।

एसियाली विकास बैंकको ५४औं वार्षिक बैठकको अवसरमा भर्चुअल माध्यमबाट सार्क अर्थमन्त्री तथा प्रतिनिधिमण्डलका प्रमुखको बैठक भएको हो । अर्थमन्त्री पौडेलको अध्यक्षतामा भएको बैठकमा बैठकलाई अफगानिस्तानका अर्थमन्त्री मोहम्मद खालिद पाइन्दा, बंगलादेशका अर्थ मन्त्रालयका अतिरिक्त सचिव मोहम्द खैरुजामन मोजुम्दर, भुटानका अर्थशास्त्र मामिलाका महानिर्देशक लेकजाङ दोर्जी, भारतका आर्थिक मामिला विभागका सचिव अजय सेठ, मालदिभ्सका अर्थमन्त्री इब्राहिम अमिरले सम्बोधन गरेका थिए ।

पाकिस्तानका वित्त विभागका अतिरिक्त अर्थसचिव अविस मन्जुर सुम्राज्य, श्रीलंकका मुद्रा तथा पूँजीबजार र सार्वजनिक संस्थान सुधारका राज्यमन्त्री अजित निभर्त काब्राल, एसियाली विकास बैंकका उपाध्यक्ष सिसिन छनले आफ्ना भनाइ राखेका थिए ।

सार्कका महासचिव इसाला रुवान वीराकुन र एसियाली विकास बैंकका आर्थिक अनुसन्धान तथा क्षेत्रीय सहयोग विभागका प्रमुख अर्थशास्त्री यासुकी सावदाले कोभिड–१९ बाट आर्थिक पुनरुत्थान ः समावेशी तथा उत्थाशिल आर्थिक वृद्धि विषयमा छुट्टाछुट्टै प्रस्तुति गरेका थिए ।

अर्थमन्त्री एवं प्रतिनिधिमण्डलका प्रमुखहरुले कोभिड–१९ को प्रभावलाई न्यूनीकरण एवं आर्थिक सामाजिक पुनरुत्थान गर्न एकआपसमा सहयोग हुनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया