मंगलबार, वैशाख १८, २०८१

वृद्ध भत्ता एमालेले दिएको ‘उपहार’

वृद्ध भत्ता जस्तो लोकप्रिय कामले उच्च गति लिनु पर्छ ।

प्रदीप नेपाल २०७८ वैशाख १३ गते १५:०३


सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्ना पूर्व पार्टी अध्यक्ष तथा कम्युनिष्ट पार्टीकै पहिलो प्रधानमन्त्री मनमोहन अधिकारीको २१ औँ स्मृति दिवसलाई भव्यताका साथ मनाएको छ । जनताको बहुदलीय जनवाद (जबज)लाई स्वीकार्दै अघि बढ्नु भएका स्व. नेता मनमोहन अधिकारी जनताका नेता हुनुहुन्छ ।

जबजबिना देश र जनताको विकास नहुने भएकाले उहाँले गर्नुभएको क्रान्तिलाई बिर्सनु हुँदैन । अहिले पार्टीले वर्षमा एकपटक मात्र उहाँलाई सम्झेको जस्तो मात्र गरेको छ । मान्छे मर्छ जान्छ, उहाँहरुको नाममा संस्था खोलिएको छ । तर, मलाई उहाँले गर्नु भएको कामहरु पछ्याएर दोश्रो पुस्ताका नेतालाई हस्तान्तरण गर्नबाट पार्टी चुकेको हो कि जस्तो लाग्छ ।

मनमोहन अधिकारीले आफु सरकारको नतेृत्वमा रहँदा धेरै काम गर्नुभएको छ । उहाँको कामले अहिले पनि उत्तिकै चर्चा पाएको छ । उहाँको कामको उत्तिकै सम्झना हुने गरेको छ ।

उहाँ प्रधानमन्त्री हुँदा लागू गर्नु भएको वृद्धवृद्धाहरुका लागि शुरु गर्नुभएको सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता कार्यक्रम) ले अहिले पनि धेरै प्रशंसा र चर्चा पाइरहेको छ । विं.सं. २०५१/०५२ सालमा मनमोहन प्रधानमन्त्री हुनु हुँदा अर्थमन्त्री भरतमोहन अधिकारी हुनुहुन्थ्यो । भरतमोहनले आफू अर्थमन्त्री हुँदै गर्दा ग्रामीण विकास र वृद्ध भत्तालाई पहिलो प्राथमिकता राखेर काम गर्नु भयो । यही कुरालाई मनमोहनले पारित गर्नु भयो । उहाँले हुन्छ भन्नु भएसँगै भरतमोहनले ल्याउनु भएको नीति पास भएको हो ।


यदि, प्रधानमन्त्रीले अरु मन्त्रीले ल्याउनु भएको कार्य योजनालाई पास नगरिदिनु भएको भए आज सरकारले वृद्ध भत्ता दिने कुरा सायद आउँदैन थियो होला । जबज जस्ता पार्टीको सिद्धान्त, देश विकास र वृद्धा भत्ता जस्ता विषयमा प्रधानमन्त्री मनमोहनले गर्नु भएको कामले आज वृद्धा भत्ताले मूर्त रुप लिएको छ । जबज जस्तो पार्टीको सिद्धान्त र देश विकासमा भने अहिले पनि उचित गतिमा काम हुन सकेको छैन ।

तत्कालीन प्रधानमन्त्री मनमोहन र तत्कालीन अर्थमन्त्री भरतमोहन दुवै नेताले जबज सिद्धान्त, पार्टीको क्रान्ति, ग्रामीण विकास र वृद्ध भत्ता दिनका लागि ठूलो भूमिका खेल्नु भएको छ । एक सय रुपैयाँबाट सुरु गरेको वृद्ध भत्ता सम्पूर्ण वृद्धवृद्धालाई एमालेले दिएको ‘उपहार’ हो ।

एमाले सरकारमा हुँदा दिएको वृद्ध भत्तालाई अरु पार्टी सरकारमा जाँदा जनताको भावनालाई तान्न प्रयोग गरे । तर, यसमा एमालले नै बढी काम गर्ने मौका लिँदै जस लिएको पनि छ। विं.सं. ०६० सालमा वृद्ध भत्ता बढाएर एमालेकै सरकारले एक सय ७५ रुपैयाँ बनाउन सफल भयो ।

यसपछि विं.सं. ०६५ सालमा तत्कालीन माओवादी पार्टी सरकारमा पुग्यो । यही सरकारका तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराईले वृद्ध भत्ता बढाएर पाँच सय रुपैयाँ पुर्‍याए ।

त्यसपछि नेपाली कांग्रेसका तत्कालीन अर्थमन्त्री रामशरण महतको पालामा वृद्ध भत्तालाई बढाएर हजार रुपैयाँ बनाउनु भयो ।
यसपछि सरकारमा पुग्दा हाम्रै पार्टीका तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले दुई हजार रुपैयाँ बनाउनु भयो । अहिले सरकारमा हाम्रै सरकार छ । हाम्रो पार्टी सरकार हुँदा सुरु गरेको वृद्ध भत्ता जस्तो लोकप्रिय कामले अझै उच्च गति लिनु पर्छ भन्ने लागेको छ ।

हाम्रो पार्टीले तय गरेको जबज जस्तो सिद्धान्तलाई लागू गर्न सकियो भने हरेक घर र व्यक्तिको जीवनमा ठूलो प्रभाव पर्न सक्छ । जसलाई यही वृद्ध भत्ताबाट उदाहरण दिन सकिन्छ । जस्तो कि मेरी आमालाई सरकारले दिएको भत्ता लिन जाँदा म आफैले दुरुपयोग गर्ने थिइनँ ।

मनमोहन अधिकारीको स्मृति दिवसमा उहाँलाई सम्झदै गर्दा उहाँको नेतृत्वको सरकारले शुरु गरेको बृद्ध भत्ताको कार्यक्रम, आफनो गाँउ आफै बनाऊ जस्ता कार्यक्रमले आज पनि एमालेलाई सवैका सामु चिनाउने काम गरिरहेको छ । यस अर्थमा पनि एमालेलाई प्राण भर्ने काममा मनमोहन अधिकारीको नेतृत्वको सरकारको ठूलो योगदान देखिन्छ । जुन आज पनि एमालेले आफ्नो विरासतको रुपमा ठान्दै आएको छ । यस अर्थमा पनि मनमोहन अधिकारी जनताका प्रिय नेता, प्रिय प्रधानमन्त्री हुनुहुन्थ्यो ।

आज उहाँलाई सम्झँदा उहाँप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्न चाहान्छु ।

(नेपाल नेकपा एमालेका नेता हुन् ।)

प्रतिक्रिया