मंगलबार, वैशाख १८, २०८१

पुनर्निर्माण प्राधिकरणले विपद् जोखिममुक्त नेपाल निर्माण सम्बन्धी दशवर्षे महाअभियान सञ्चालन गर्ने

मेरोन्यूज २०७८ वैशाख १ गते १२:१६

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विपद् जोखिममुक्त नेपाल निर्माण सम्बन्धी दशवर्षे महाअभियान सञ्चालन गर्ने भएको छ ।

प्रधानमन्त्री एवम् प्राधिकरणको निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको निर्देशक समितिको १८ औं बैठकले यस सम्बन्धी कार्यक्रमको प्रस्ताव तयार पारी आगामी आर्थिक वर्षदेखि महाअभियान सुरु गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण एवं व्यवस्थापन प्राधिकरणको सहकार्यमा त्यस्तो कार्यक्रम सम्बन्धी प्रस्ताव तयार भइरहेको जानकारी दिए ।

३६ अर्ब ३५ करोड बजेट प्रस्ताव

आगामी आर्थिक वर्षका लागि ३६ अर्ब ३५ करोड ३८ लाख रुपैयाँको बजेटका लगि नेपाल सरकारसमक्ष प्रस्ताव पेश गर्ने निर्णय पनि समितिले गरेको छ ।

बैठकले परराष्ट्र मन्त्रालयको समन्वयमा ‘सगरमाथा संवाद’को समयलाई समेत ध्यानमा राखी सन् २०२१ को नोभेम्बरको अन्तिम साता वा डिसेम्बरको पहिलो साता नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने निर्णय पनि गरेको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ऐतिहासिक धरहरा टावरको पुनर्निर्माण अन्तिम चरणमा पुगेको जानकारी गराउँदै २०७८ बैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गर्ने कार्यक्रम रहेको बैठकलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया