मंगलबार, वैशाख १८, २०८१

प्रधानमन्त्री ओलीले भने-माधव नेपाल र भीम रावलमाथि कारबाही हुन्छ

फागुन २८ को केन्द्रीय कमिटी र चैत ७ को संसदीय दलको निर्णय फेरिन्न

मेरोन्यूज २०७७ चैत १३ गते १७:५५

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेताद्वय माधवकुमार नेपाल र भीम रावलमाथि कारबाही गर्ने संकेत गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा ओलीले त्यस्तो संकेत गरेका हुन् ।

पार्टीले साेधेकाे स्पष्टीकरणकाे सन्दर्भमा नेपाल र रावलले दिएकाे जवाफ कारबाहीयोग्य भएको उनकाे भनाइ थियाे । संसदीय दलको बैठकमा समेत सहभागी नभएका नेपाल र रावललाई संकेत गर्दै प्रधानमन्त्री ओलीलेले नेपालसहितका ४ जना नेतालाई केन्द्रीय कमिटी बैठकले स्पष्टीकरण सोधेको तर नेपाल र रावलको स्पष्टीकरण अत्यन्त नकारात्मक कोणबाट आएकाले उनीहरू कारबाहीको भागीदार हुने बताए ।

तर उनले स्पष्टीकरण सोधिएकै मध्येका घनश्याम भुसाल र सुरेन्द्र पाण्डेका सन्दर्भमा भने केही बाेलेनन् । गत चैत ७ गतेको एमाले केन्द्रीय समिति बैठकले पार्टी हितविपरित गतिविधि गरेको भन्दै नेताहरू नेपाल, रावल, पाण्डे र भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

पार्टी महासचिव इश्वर पाेखरेलले गत सोमबार नेताहरुलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन भन्दै पत्र काटेका थिए । चारै नेताले बिहीबार साँझ मात्र पत्रकाे जवाफ बुझाएका थिए । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले नेता नेपाल र रावलमाथि केन्द्रीय कमिटी बैठकबाटै कारबाहीको निर्णय हुने बताए ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले अध्यक्ष ओलीले फागुन २८ गतेको निर्णय कुनै पनि हालतमा फिर्ता नहुने बताएकाे जानकारी दिए । ‘फागुन २८ गतेको केन्द्रीय कमिटी बैठकका निर्णय र चैत ५ र ७ गतेको संसदीय दलले गरेका निर्णय तथा विधान संशोधन कुनै हालतमा फिर्ता हुँदैनन् । तपाईंहरू यसबीचमा बैठकमा आउनुभएन, अब आउनुभएमा स्वागत छ, तर गुटगत डिल हुँदैन’ ,ओलीको भनाइ उद्धत गर्दै प्रमुख सचेतक भट्टराईले भने ।

नेता नेपाल पक्षीय नेता झलनाथ खनालले शुक्रबार नै संसदीय दलको बैठकमा पुगेर फागुन २८ र चैत ७ को निर्णय फिर्ता हुनुपर्ने माग गरेका थिए । एमाले र माओवादी एकता अगाडि २०७५ जेठ २ को अवस्थामा पार्टी र पार्टी संगठनलाई फर्काउनुपर्ने बताउँदै उनले आफूहरुको उक्त माग पूरा गर्नुपर्ने धारणा राखेका थिए । आफ्नाे धारणा राखेपछि उनी बैठकबाट बाहिरिएका थिए ।

तर खनालको मागप्रति लक्षित गर्दै प्रधानमन्त्रीले अब कुनै पनि खालको सम्झौता नहुने प्रष्ट पारे । अध्यक्ष ओलीले आफूलाई नेता नेपालले पुष्पकमल दाहाल (प्रचण्ड)सँग मिलेर पार्टी सदस्यताबाट समेत निष्कासन गरेको स्मरण गर्दै त्यस्तो अपराध गर्नेलाई आफूले स्पष्टीकरण मात्र सोधेर सुधार्न खोजको बताएका थिए ।

एमालेमा अब गुटगत र समूहगत रुपमा कसैसँँग पनि छलफल नहुने भन्दै ओलीले कोहीकसैंका व्यक्तिगत समस्या भए पार्टीमा छलफल गर्न सकिने तर समूहगत रुपमा गुटका विषयमा वा गुटगत गतिविधि स्वीकार्य नहुने बताए । यस अगाडिका दुई/दुई वटा संसदीय दलको बैठक वहिष्कार गरेको खनाल-नेपाल समूहका नेता आजको बैठकमा भने सहभागी भएका थिए ।

ओलीले यसअघिकाे बैठकमा सहभागी नभएका नेताहरुलाई स्वागत गर्दै बालुवाटारमा आज नयाँ केही भएको टिप्पणीसमेत गरेका थिए । ‘यसअघि बैठकमा सहभागी नहुनु भएका नेताहरु आउनुभएको छ । बालुवाटारमा आज नयाँ घटना घट्यो । आज आउनुभएका नेतालाई स्वागत छ,’ उनले भने ।

प्रतिक्रिया