आइतबार, वैशाख २३, २०८१

हामी सरकारबाट हटेपछि ‘समृद्ध नेपालः सुखी नेपाली’ भन्ने आँट गर्दैन : केपी ओली

मेरोन्यूज २०८० जेठ २० गते १५:४६

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल’ भन्ने आँट कसैले गर्न नसकेको दाबी गरेका छन् ।

Advertisement

अध्यक्ष ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपालः सुःखी नेपाली’ भन्ने आँट कुनै पनि सरकार र प्रधानमन्त्रीले गर्न नसकेको बताएका हुन् । पार्टीको विज्ञान तथा प्रविधि विभागले शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कुनै व्यक्ति नभई सिंगो समाजमाथि उठाउन आफूहरूले समृद्धिको एजेण्डालाई अघि बढाएको बताए ।

‘हामी सरकारबाट हटेपछि समृद्ध नेपालः सुखी नेपाली भन्ने शब्द कुनै सरकार, कुनै प्रधानमन्त्री, कुनै नेता हाम्रा विपक्षहरु कसैले पनि समृद्ध नेपाल भन्ने आँट गर्दैन, ह्वाट दे वान्ट ? समृद्ध नेपाल भन्ने जसको आँट छैन,’ उनले भने ।

अध्यक्ष ओलीले गरिबी छिटो अन्त्य हुने गरी विज्ञान र प्रविधिको प्रयोग गर्न जरुरी रहेको दाबी गरे । विकास, निर्माणको कामलाई अघि बढाउन पनि गरिबी अन्त्य हुन आवश्यक भएकाले विज्ञान र प्रविधिको क्षेत्रमा नेपालले जोड दिएर काम गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

‘अब हामीले भोकमरीको अन्त्य गर्नु छ, गरिबी निवारण गर्नुछ, अहिले पनि धेरै मानिस डेभलपमेण्टको बारेमा सोच्दैन, पेटको बारेमा मात्रै सोच्छ, पेटको बारेमा सोच्नु नपर्ने भएपछि ज्ञान, विज्ञान, प्रविधि र विकासको बारेमा सोच्न थाल्दछ,’ उनले भने, ‘त्यस कारण रुपान्तरणका लागि टेक्नोलोजी, साइन्सलाई प्रविधिमा कसरी रुपान्तरण गर्ने भन्ने हो ।’

अध्यक्ष ओलीले कृषि उत्पादनलाई स्वस्थ बनाउने कुरामा पनि प्रविधिलाई उपयोग गर्नु पर्ने बताए ।

प्रतिक्रिया