मंगलबार, वैशाख १८, २०८१

होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन महानगरको आग्रह

मेरोन्यूज २०७९ माघ १७ गते १५:४३

विराटनगर । नगर क्षेत्रका सबै व्यवसायीलाई करको दायराभित्र आउन विराटनगर महानगरपालिकाले आग्रह गरेको छ । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानमा होटल तथा मदिरा व्यवसायीले पनि साथ दिनुपर्ने महानगरको आग्रह छ ।

विराटनगरभित्र सञ्चालित धेरै होटल र मदिरा व्यवसाय दर्ता नगरेको पाइएपछि व्यवसायीहरुलाई बोलाएर महानगरले छलफल गरेपछि सो आग्रह गरेको हो । महानगर प्रमुख नागेश कोइरालाले यो अभियानमा साथ दिन व्यवसायीलाई आग्रह गरे । “सबैको साथ र सहयोगले मात्रै विराटनगरलाई व्यवस्थित बनाउन सकिन्छ”, उनले भने।

प्रमुख कोइरालाले बढीभन्दा बढी कर सङ्कलन नभएसम्म महानगरवासीको विकासको चाहना पूरा गर्न गाह्रो पर्ने भन्दै उनले भने, “ करको दर बढाएको छैन । हामीले दायरा मात्रै बढाउन अभियानमा छौँ”, नगरमा धेरै होटल, रेष्टुरेन्ट र मदिरा पसलहरु महानगरमा दर्ता नगरीकनै सञ्चालन गरेको पाइएको उनको भनाइ थियो ।

उपप्रमुख शिल्पा निराला कार्कीले कानुनी रुपमा बलियो भएर व्यवसाय सञ्चालन गर्दा कसैसित पनि डराउनु नपर्ने बताइन् । उनले अनुगमनमा पुग्दा सबै कागजपत्र दुरुस्त बनाएर राख्दा व्यवसायीकै प्रतिष्ठा बढ्ने कुरामा जोड दिइन् ।

प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले महानगर क्षेत्रभित्र सञ्चालित सबै व्यवसायलाई करको दायरामा ल्याउने गरी काम भइरहेको बताए ।

प्रतिक्रिया