मंगलबार, वैशाख २५, २०८१

शेखर समूहको भेलाः न्यायोचित व्यवहार नभए ४० प्रतिशत

मेरोन्यूज २०७९ साउन २८ गते १९:१४

काठमाडौँ । नेपाली कांग्रेसको शेखर कोइराला समूहका नेताहरूले शनिबार छलफल गरेका छन् । उनीहरूले सभापति शेरबहादुर देउवाले पार्टीमा न्यायोचित व्यवहार नगरेको भन्दै राष्ट्रिय भेलाको पूर्व तयारी बमोजिम भेला गरेका छन् ।

Advertisement

काठमाडौँको बत्तिशपुतलीमा कांग्रेस नुवाकोटका पूर्व सभापति जगदीश्वरनरसिंह केसीको संयोजनमा दोस्रो तहका नेता सम्मिलित बैठक सम्पन्न भएको हो । भेलामा केन्द्रीय सदस्य प्रतिमा गौतम, प्रकाश स्नेही, मधु आचार्य पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरेसहित युवा नेता मनोजमणि आचार्य, केशव सिंह, रञ्जित कर्ण, सुवास पोख्रेल, डिल्लीराम सुवेदी, गोमा केसी, कुसुम थापासहित ८० जनाको उपस्थितिमा भेला सम्पन्न भएको हो ।

भेलामा सहभागी सम्पूर्ण वक्ता एक स्वरमा नेतृत्वले एकलौटी ढंगबाट अघि बढेको, अब भागबण्डा खोज्नु पर्ने अवस्था आएको बताएका छन् ।

‘८ महिनामा भएका एक दर्जन निर्णयमा प्रतिस्पर्धी समूहका एक जनालाई पनि समेट्नु भएको छैन, राष्ट्रियसभाको निर्वाचन, स्थानीय तह निर्वाचन केन्द्रीय समिति सदस्य मनोनियन, भ्रातृ संस्थाको अध्यक्ष मनोनयनमा प्रतिस्पर्धी समूहका व्यक्तिसँग सल्लाह पनि गर्नुहुन्न, समेट्दा पनि समेट्नुहुन्न, यसबाट के बुझियो भने आगामी संसदीय निर्वाचनमा पनि उहाँले न्यायोचित निर्णय नहुने भए भागबण्डामा जानु पर्ने भयो,’ भेलाको संयोजन गरेका नेता केसीले भने ।

‘न्यायोचित निर्णय गर्नु हुन्न भने ४० प्रतिशत चाहियो,’ केसीले भने, ‘सभापतिको अभिभावकीय ठाउँबाट सोचेर अगाडि बढाउनु भएको भए यो विवाद आउने थिएन नि, अब अस्तित्वको लडाइँ लड्नु पर्ने भयो ।’

प्रतिक्रिया