मंगलबार, वैशाख १८, २०८१

काठमाडौं र धरानमा चल्दा पोखरामा किन चलेन लौरो ?

मेरोन्यूज २०७९ जेठ ४ गते १९:३१

काठमाडौं । काठमाडौं महानगर र धरान उपमहानगर पालिकामा स्वतन्त्र तर्फका उम्मेदवारले ‘जादू’ चलाइरहेका छन् ।  चुनाव चिह्न लोरौ रहेका दुवै स्थानीय तहका उम्मेदवारले मतमा अग्रता लिइरहँदा लौरोबाटै उम्मेदवारी दिएका र बढी भोट पाउन सक्ने अड्कल काटिएका अर्का उम्मेदवार भने निकै पछि परेका छन् । 

पोखरा महानगरपालिकामा स्वतन्त्रतर्फबाट उम्मेदवार रहेका गनेस पौडेल अन्य उम्मेदवारले प्राप्त गरिरहेको मतको तुलनामा कमजोर देखिएका छन् । 

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले निकटतम प्रतिद्वन्द्वी र गठबन्धनका उम्मेदवारलाई निकै पछि पारेका छन् । ४७ हजार ४ मत गणना हुँदा साहले १८ हजार २३७ मत ल्याएका छन्। उनलाई नेकपा एमालेका केशव स्थापितले ९ हजार ५१७ मतसहित पछ्याइरहेका छन् । तेस्रो स्थानमा नेपाली कांग्रेसकी सिर्जना सिंह रहेकी छन् उनले ८ हजार ५३७ मत ल्याएकी छन् । बालेनले दोस्रो स्थानका स्थापितसँग ८ हजार ७२० मतान्तर कायम राखेका छन् । 

त्यस्तै धरान उपमहानगरपालिको प्रमुखका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले लौरो चुनाव चिह्नबाट गठबन्धनका उम्मेदवारलाई जितेका छन् । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई उनले झिनो मत अन्तरसहित अग्रता बनाइरहेका हुन् । साम्पाङले ८१४० मत ल्याएका छन् भने राईले ८१२६ मत गरेका छन् । एमालेकी उम्मेदवार मञ्जु भण्डारी (सुवेदी) ने ६७१३ मतसहित पछि परेकी छिन् । 

तर पोखरा महानगरमा भने गनेशको मत कमजोर देखिएको छ । अहिलेसम्म  ४१,४२३ मत गणना हुँदा लौरो चुनाव चिह्न रहेका गनेसले १ हजार मत कटाउन सकेका छैनन् ।  उनले ९२९ मत पाएका छन् । उनी राप्रपा उम्मेदवार शंकर खराल भन्दा पछि रहेका छन्र । खरालले १,६९८ मत पाएका छन् ।  पोखरामा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले १७,२४२ मत पाएका छन् भने एमाले उम्मेदवार कृष्ण थापा १५,२१० मत पाएका छन् । 

उपमेयरमा गठबन्धनबाट कांग्रेस उम्मेदवार कोपिला रानाभाटले १७,४४३ र एमाले उम्मेदवार मञ्जुदेवी गुरुङले १७,३४१ मत पाएकी छन्। वैशाख ३० को निर्वाचनमा पोखरामा १,४३,२२६ मत खसेको थियो ।

प्रतिक्रिया