शनिबार, वैशाख २२, २०८१

छिन्नमस्ता गाउँपालिकामा डिजिटल एग्रीकल्चर रूम स्थापना गरिने

मेरोन्यूज २०८१ वैशाख ८ गते १७:५४

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा डिजिटल एग्रीकल्चर रूम स्थापनाु गरिने भएको छ । कृषिलाई आधुनिकीकरण गरि उत्पादन बढाउने उद्देश्यले छिन्नमस्ता गाउँपालिकाले कृषि सुचना तथा प्रशिक्षण केन्द्रको सहकार्यमा पालिकामा डिजिटल एग्रीकल्चर रूम स्थापना गर्न लागेको हो ।

Advertisement

कृषकहरूको समस्या समाधानको लागि डिजिटल भिलेज इन्टिएटिभ(डीभीआई)कार्यक्रम अन्तर्गत पालिकामा डिजिटल एग्रीकल्चर रुमको स्थापना गर्न लागेको पालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए । उनका अनुसार यस रूममा पालिकाको कृषि विज्ञ, पशु विज्ञ तथा कार्यक्रम विज्ञ रहेर कृषकको बालीमा आइपरेको रोग, समस्याको समाधान गर्ने बताए । उनले यस कार्यक्रम अन्तर्गत किसानहरूको मोबाइल फोनमा टेली प्वाइन्ट डाक्टर नामको एप राख्ने बताए ।

कृषकहरूको मोबाइलमा यो एप राखिनेछ, जसबाट उनीहरूले आफ्नो बालीको फोटो खिचेर त्यसमा कुन किरा लागेको, के रोग हो थाहा पाउँछन् र त्यसको समाधान पाउँछन्, यो चौबिसै घण्टा प्रयोग गर्न सकिने अध्यक्ष चौधरीले बताए।

उहाँले पालिकामा कृषकहरुको सूचिकरण गरिने तथा सोलार वाटर पम्प समेत जडान गर्ने कार्यक्रम रहेको सञ्चारकर्मीलाई जानकारी दिए । त्यस्तै, पालिकाले डिजिटिल सोइल म्यापिङ्ग (कम्प्युटरमा आधारित माटो नक्साङ्कन) कार्यक्रम सुरुवात गर्न लागेको जनाएको छ । यसबाट जग्गाहरूको फोसफोरस, पोटास, नाइट्रोजन, ओरगेनिङ्ग मेटर, टेक्सटल, जमिनहरुको किसिम लगायतको विषयबस्तुको डाटा थाहा पाउने बताइएको छ ।

यस कार्यक्रम अन्तर्गत जग्गाको अवस्था, जग्गामा मल खाद्यको लागि रणनिती बनाउन मदत पुर्याउनुको साथै संतुलित मलखाद्यको प्रयोग र कृषि उत्पादन बढाउन तथा विषादीरहित उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने जनाएको छ ।

प्रतिक्रिया