बुधबार, वैशाख १९, २०८१

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ

मेरोन्यूज २०८१ वैशाख ६ गते १९:४४

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जनालाई पक्राउ गरेकाे छ ।

सुनसरी, धरान उपमहानगरपालिका-२० स्थित कार्कीछाप जंगलबाट अवैध लागूऔषध गाँजा १ सय ८५ किलो, तरवार ३ थान र स्टिलको पाईप १ थानसहित सोही उपमहानगरपालिका-११ बिष्णु चोक बस्ने २५ वर्षीय नकुल राई लगायत ३ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

कास्की, अन्नपूर्ण गाउँपालिका-१ मट्यु बस्ने ३४ वर्षीय नविन थकालीलाई अवैध लागूऔषध नुन मोलेको गाँजा करिब ४ किलोसहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी घान्द्रुकबाट खटिएको प्रहरीले उनलाई उनकै घरमा लुकाइछिपाई राखेको उक्त गाँजासहित पक्राउ गरेको हो ।

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध फेनारगन ९ सय ५१ एम्पुल नफुटेको तथा १ सय १४ एम्पुल फुटेको, बुर्फेनोफिन ६ सय ८५ एम्पुल नफुटेको तथा ५५ एम्पुल फुटेको, डाइजेपाम ८ सय ४२ एम्पुल नफुटेको तथा १ सय ४८ एम्पुल फुटेको र नाईट्राभेट ३ हजार ३ सय ८ ट्याबलेटसहित सप्तरी खडक नगरपालिका-११ बनौली बस्ने ४७ वर्षीय रामलोचन मुखियालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुंगा र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले ना.५ ख १५६० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार मुखियालाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा सर्लाही बरहथबा नगरपालिका-११ घर भई काठमाडौं बसुन्धारा बस्ने ४७ वर्षीय कमल अधिकारीको समेत संलग्नता रहेको भन्ने खुल्न आएपश्चात् प्रहरीले उनलाई पनि पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया