आइतबार, वैशाख १६, २०८१

विराट गोल्डकप : आजको खेल त्रिभुवन आर्मी फुटबल क्लब र न्यूरोड टिम एनआरटी काठमाडौँबीच हुने

मेरोन्यूज २०८० चैत १६ गते २१:०९

सुन्दरहरैँचा (मोरङ) । मोरङको विराटनगरमा जारी आठौँ संस्करणको रात्रिकालीन विराट गोल्डकप प्रतियोगितामा आजको खेल त्रिभुवन आर्मी फुटबल क्लब र न्यूरोड टिम एनआरटी काठमाडौँबीच हुने भएको छ ।

बिहीबारको उद्घाटन खेलमा पाहुना टोली भुटानको रोयल थिम्पू फुटबल क्लब (आरटिएफसी) ले विभागीय टिम नेपाल पुलिस क्बललाई हराउँदै विजयी सुरूवात गरेको थियो । विराटनगरको सहिद रङ्गशालामा फ्लडलाइटको माध्यमबाट सुरू भएको रात्रिकालीन गोल्डकपको उद्घाटन खेलमा नेपाल पुलिसलाई ३–० गोलले हराउँदै आरटिएफसी क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

जितको लागि आरटिएफसीका किन्ले ग्यालसेन, किन्जाङ तेन्जिङ र सिद्धार्थ गुरूङले समान १–१ गोल गरे । पहिलो हाफको ३६ आँै मिनेटमा केल्जाङ जिग्मेंले गरेको कर्नर प्रहार किन्ले टच गर्दा गोलमा परिणत भयो ।

आरटिएफसीले अग्रता लिएको चार मिनेट बित्न नपाउँदै पुलिसको कमजोर डिफेन्सको फाइदा उठाउँदै किन्लेले ४० औं मिनेटमा मध्यभागबाट निकालिदिएको पास किन्जाङले आकर्षक गोल गरी अग्रता दोब्बर बनाए । ६३ औँ मिनेटमा सिद्धार्थ गुरूङले मैदानको मध्य भागबाट पुलिसका खेलाडीलाई छक्याउँदै डिबक्सभित्रबाट गरेको प्रहार गोलमा परिणत गर्दै टिमको जित सुनिश्चित गरे ।

पहिलो हाफमा दुई गोल खाएपछि दबाबमा परेको पुलिसले दोस्रो हाफदेखि आक्रमक खेल पस्कियो । पुलिसका खेलाडीले थुप्रै गोल गर्ने सुन्दर अवसर चुकाउँदा तीन पटकको विराट गोल्डकपको च्याम्पियन टिम पहिलो खेलबाट बाहिरिन बाध्य भयो ।

खेलको प्लेयर अफ द म्याच भुटानका किन्जाङ तेन्जिङ घोषित भए । उनले नगद रु ११ हजार पाए । चैत २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विदेशी तीन टिमसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागिता रहेको आयोजक विराट गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिए ।

ल्डकपको विजेताले रु ११ लाख र उपविजेताले रु पाँच लाख ५० हजार पाउनेछन् । उत्कृष्ट प्रशिक्षकलाई, उत्कृष्ट गोलरक्षकलाई, सर्वाधिक गोलकर्तालाई जनही रु २१ हजार पुरस्कार प्रदान गरिनेछ । सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल उपहार दिने गोल्डकपका अध्यक्ष शाहीले बताए ।

विसं २०१८ देखि तत्कालीन राजा महेन्द्र शाहको नामबाट सुरू गरिएको गोल्डकपको विसं २०६८ मा नाम परिवर्तन गरी ‘विराट गोल्डकप’ राखिएको हो । गत वर्षको उपाधि विराटनगर फुटबल क्लबले जितेको थियो । विराटनगरले भारत केरेलाको लुका सकर क्लबलाई फाइनल खेलमा पराजित गरेको थियो । यो वर्ष विराट गोल्डकपको नतिजा कसको हातमा पर्ने हो । यो प्रतिक्षाको विषय बनेको छ ।

प्रतिक्रिया