शनिबार, वैशाख १५, २०८१

हिमालबारे विदेशीले लेखेका पुस्तक एकपक्षिय छन्- नवराज घिमिरे

नरेन्द्र रौले २०८० फागुन ५ गते १३:१६

एक दशक भन्दा लामो समय पर्यटन क्षेत्रमा सक्रिय व्यक्ति हुन्, मस्र्याङ्दी गाउँपालिका ९ गैरागाउँ, लमजुङका नवराज घिमिरे । सन् २०१० मा आफ्नै ट्राभल एजेन्सी कम्पनी सञ्चालन गरेर केहीलाई रोजगारी दिएका घिमिरेले पर्यटन क्षेत्रमा लागेर विश्वका ३०/३५ मुलुक चहारिसके ।

पर्यटन क्षेत्रमा समर्पित घिमिरे स्वदेशमै केही गरौं भन्ने सोच बोकेका युवा हुन् । हिमाल, शेर्पा र नेपालको पर्यटनबारे युवा पुस्तालाई बुझ्न सघाउने र रुची जगाउने पुस्तक अभाव उनले महशुस गरे । उनले आफ्नो अनुभव, पर्यटन क्षेत्रमा सक्रिय व्यक्तित्व र बिभिन्न पुस्तक, पत्रत्रिका मिहिन ढंगले अध्ययन गरेपछि नयाँ पुस्तक लेखेका छन्, बेस क्याम्प । यसै सेरोफेरोमा रहेर मेरो न्युजका लागि नरेन्द्र रौलेसँग गरिएको कुराकानी :

‘बेस क्याम्प’ पुस्तक लेख्दा अन्य किताबहरु कत्तिको पढ्नुभयो ?
सरुभक्तको ‘चुली’, र प्रतिक ढकालका केही किताब । विदेशी लेखक तथा पत्रकार जोन क्राउकर र आरोही एडमण्ड हिलारीका सबैजसो पुस्तक छिचोलियो । बिभिन्न पत्रपत्रिकामा छापिएका लेखहरु पढि भ्याएँ । सन् २००७ देखी पर्यटन क्षेत्रमै काम गरिरहेको हुनाले म आफै पनि कतै न कतै कथाको पात्र भएँ । यसले गर्दा मलाई किताब लेख्न पनि सजिलो भयो ।

तपाईंले पुस्तक लेखनका लागि हिमाल, शेर्पा र पर्यटन विषय नै किन रोज्नुभयो ?
आफै पर्यटन क्षेत्रमा लामो समय बिताउँने मौका पाएकाले मैले प्रिभिलेज पाएँ । यसै पेशाबाट मैले रोजिरोटी चलाएँ, देश तथा विदेश घुमें । त्यसैले पर्यटन क्षेत्रलाई आफ्नो तर्फबाट केही दिउँ जस्तो लाग्यो । पर्यटन र हिमालबारे त्यति धेरै लेखिएको छैन । मैले समयको माग अनुसार लेखेको हो । त्यही भएर मैले कलम चलाएको हो । प्लस टु पढ्ने पुस्ताले हिमाल, हिमाल आरोहणबारे बुझ्न यो पुस्तकले केही हदसम्म सघाउनेछ ।

‘बेस क्याम्प’ कथा कसरी जन्मियो ? यसको पृष्ठभुमीबारे थोरै जानौं न ।
कुनै आरोहीले वा लेखकले सरल ढंगले बुझिने भाषामा पुस्तक लेखेको भए मैले लेख्नै पर्दैनथ्यो । मैले त्यो प्रयास गरें । हिमालमा आकस्मिक रुपमा जे पनि हुन सक्छ । हिमालको अगाडी हामी केही होईनौं । सधैं आरोहीको जित हुन्छ भन्ने छैन । पर्यटन क्षेत्रमा दस वर्ष भन्दा लामो समयको मेरो अनुभव, रुची, यसै क्षेत्रमा संलग्न व्यक्तित्वहरुसँगको कुराकानी भएर लेखें ।

‘बेस क्याम्प’ पुस्तक लेख्न कति समय लाग्यो ?
यस्तै ७/८ महिना जति लाग्यो । कोभिड १९ का बेला मानिसहरू मृत्युको संख्या गनेर बसिरहेका थिए । मैले त्यो समयको सदुपयोग गरें । धेरैले बाँच्ने आशा मारिसकेका थिए । बैंकको खातामा भएको पैसा काम नलाग्ने अवस्था थियो । इष्टमित्र मर्दा पनि मलामि जान नसकिने कहालिलाग्दो परिस्थीति सिर्जना भएको थियो । भुमध्ये रेखामा हिंडे जस्तो थियो । भुल्नका लागि मेडिटेसन चाहिएको थियो । विपत्तिमा खोज्ने मुक्तिको उपायमा थिएँ म । आफैभित्र आशाको बिउ रोपिरहेको थिएँ । मैले घरको कोठामा बसेर लेख्दै गएँ । अनि तयार भयो, ‘बेस क्याम्प’ ।

एक पटक लेखिसकेपछि पुर्नलेखन पनि गरियो कि ?
एकचोटी पुर्नलेखन गरियो । त्यसपछि भाषा सम्पादकले सम्पादन पनि गर्नुभयो ।

हिमालबारे जति पुस्तक लेखिए, के ति पर्याप्त छन् ? तिनको विषयवस्तु कत्तिको सन्तुलित पाउनुभयो ?
मैले फ्रन्टलाइनमा बसेर काम गरेका थुप्रै व्यक्तिहरुसँग गफ गरें । विदेशीले पोर्टर भनेर हेपेर लेखेका छन् । हाम्रै शेर्पाहरुले बनाएको बाटोमै टेकेर उनीहरुले पुस्तक लेखे । तर, वास्तविकता भने लेख्न सकेनन् । शेर्पालाई उनीहरूले मजदुरका रुपमा चित्रण गरे । विदेशीले लेखेका पुस्तक एकपक्षिय छन् । बाटो बनाउने, डोरी टाँग्ने, विदेशी बचाउँने, खुवाउने सबै काम गर्ने शेर्पा हुन् । तर, उनीहरुबारे न्याय गरेर लेखिएको पाईदैन । सम्बन्धित पक्ष, सरकारी विभाग, शैक्षिक संस्था, मन्त्रालयले बुझिदिए हुन्थ्यो जस्तो लाग्छ ।

‘बेस’ क्याम्प छापिएपछि कस्तो प्रतिक्रिया पाउँनुभयो ?
असाध्यै राम्रो प्रतिक्रिया पाएको छु । युवा पुस्ताले मलाई थप हौसला दिनुभएको छ । म थप उर्जावान भएको छु । प्लस टु पुस्तामाझ यस पुस्तकलाई लैजान अझ जरुरी छ ।

तपाईंले पर्यटन क्षेत्रमा लामै समय बिताउँनुभयो । नेपाल, हिमाल र पर्यटनबारे कस्तो बुझाई रह्यो ?
मैले विश्वका ३०, ३५ वटा मुलुक घुमें । नेपालको महत्व बल्ल बुझें । विश्वमा यो देश चिन्नेलाई श्रीखण्ड नचिन्नेलाई खुर्पाको बिंड भने जस्तै हो । तर, शासकले देश चिनाउन सकेनन् । हामीले पनि सन्तानहरुलाई देश चिनाउन सकेनौं । वास्तवमा आर्थिक क्रान्तिका आधार हिमाल हुन् । पश्चिमाले समुन्द्र भएकोमा गर्व गर्छन् । हाम्रा लागि हिमाल, ट्रेकिङ ट्रेल हुन् । पर्यटन हाम्रो आर्थिक स्रोतको पहिलो आधार हो । धेरैले यसै पेशाबाट रोजिरोटी गरिरहेका छन् । बाँकी ठूलो संख्याले रोजगारी पाउने सम्भावना बोकेको क्षेत्र हो, पर्यटन । राज्य र यसका निकायहरुले राम्ररी प्रचारप्रसार गर्न सकेका छैनन् ।

सगरमाथा सुनको अण्डा हो । देशले हिमालकै कारण ठूलो राजस्व कमाएको छ । तर, सरकारबाट हिमालको सौन्दर्य कायम राख्नका लागि र बाटोघाटो लागि पर्याप्त काम भएको पाइँदैन । नेपालमा हिमालबारे पढाई हुने विश्वविद्यालय खुल्नु पर्थ्याे । त्यतातिर कसैको ध्यान गएको छैन ।

अब तपाईंको तयारी के छ ?
पर्वतारोहणमा केही लेखिराख्नु पर्छ । त्यो हुट्हुटी राखिरहन्छु । फरक कथाहरु लेखिराख्ने विचार छ । व्यापारसँगै पढ्ने, लेख्ने काममा सक्रिय हुनेछु ।

प्रतिक्रिया