शनिबार, वैशाख १, २०८१

फिल्म बनाउन जग्गा बेचेका दिवाकर भण्डारी ‘सापटी काका’, जो कलाकारितामै जीवन बिताउन चाहन्छन्

नरेन्द्र रौले २०८० माघ २९ गते १८:३३

‘मेरी बास्सै’ टेलिशृंखलामा बिगत ८ वर्षदेखी आवद्ध छन्, दिवाकर भण्डारी ‘सापटी काका’, ४६ । उनले निर्देशन, लेखन तथा अभिनय गर्न थालेको झण्डै दुई दशक नै नाघिसक्यो । ८४० भाग प्रशारण भएको ‘मेरी बास्सै’ टेलिशृंखला २०६१ सालदेखी प्रशारण हुन थालेको हो । यस टेलिशृंखलामा उनी २०७२ सालदेखी आवद्ध भए । उनले यसै टेलिशृंखलाबाट आफ्नो पहिचान बनाए ।

वास्तविक नाम दिवाकर भण्डारी भएपनि आम दर्शकहरुले उनलाई ‘सापटी काका’ नामले चिन्छन् । यसअघि उनले जिरे खुर्सानी, खासखुस, ल खत्तम, माफ पाम् लगायतका चर्चित टेलिसिरियलमा अभिनय गरिसकेका छन् । ल खत्तम, माफ पाम सिरियलमा भने उनले लेखन, निर्देशन र अभिनय गर्थे । तर, यि सबै टेलिसिरियमध्ये ‘मेरी बास्सै’ ले दिवाकरलाई ‘सापटी काका’ कलाकारका रुपमा स्थापित गरायो । यतिबेला उनले आफ्नो घर परिवारको खर्च, आफ्नो व्यक्तिगत खर्च, सन्तानहरुलाई स्कुलमा पढाउने खर्च यसै टेलिसिरियबाट पाउने पारिश्रमिकले धानिरहेका छन् ।

०६७ सालतिर पोखराको गण्डकी टिभीबाट ‘खिचडी’ भन्ने टेलिफिल्म प्रशारण हुन्थ्यो । त्यो पात्रले लगाउने पहिरन माग्ने दाईको जस्तो बनाउनु पर्ने हुन्थ्यो । टेलिफिल्मका लागि अभिनय गर्ने क्रममा उनले आफ्नो नाम आफैले जुराए । त्यसको स्क्रीप्ट आफै लेख्ने, आफैले अभिनय गर्ने गर्थे । त्यहींबाट उनको नाम ‘सापटी काका’ रहन गयो ।

‘सापटी काका’ लाई कलाकारिताको यति मोह छ कि उनले पोखरामा आफ्नो नाममा रहेको घडेरी बेचेर फिल्म बनाए । उनको निर्देशन र लगानीमा बनेको मेरी गंगा फिल्ममा समित केसी, सञ्जु डंगोल, रेखा पुरी, राजेन्द्र नेपाली ‘लट्टे’ लगायतका कलाकारले अभिनय गरेका थिए । उनले राजेश हमाल र मिथिला शर्मालाई आफ्नो आइडियल मान्छन् ।

२०६७ मा १६ लाख रुपैयाँमा उनले जग्गा बेचे । बाँकी ६ लाख रुपैयाँ थपेर २२ लाख रुपैयाँको लगानीमा बनाएको ‘मेरी गंगा’ फिल्मले नाफा कमाउन सकेन । आर्थिक हिसाबले त्यो डुब्यो । ‘अहिले त्यही जग्गा ३ करोड रुपैयाँ पर्छ ।’ उनी भन्छन्, ‘कलाकारितामा नशा लागेर सर । लहलहैमा गरें त्यो बेला । सबै कुरा जानेको, बुझेको थिएन ।’ उनको औपचारिक पढाई एसएलसीसम्म मात्र हो । २०५३ मा एसएलसी पास गरेपछि थप अध्ययन गर्न उनीसँग पैसा नै भएन । ०४६ सालमै बुबा गुमाएका सापटी काकाकी ७७ वर्षे आमा यतिखेर कोमामा छिन् । कलाकारितामा लागेर यहाँसम्म पुग्नुमा आमाकै देन ठान्छन् उनी ।

Advertisement

चलचित्रमा अभिनय
सापटी काकाले हालसम्म मेरी गंगा, चिनो, कन्यादान, राज, किड्न्याप, नबोले नि हाँसिदेउ, नाँइ नभन्नु ल २, टु आवर इन् माइ लाइफ, रुम नम्बर १३, छेस्को लगायतका चलचित्रमा उनले अभिनय गरिसकेका छन् । सडक नाटक, गिती नाटक, एकांकी नाटक, पूर्णांकी नाटकमा बिभिन्न भूमिकामा अभिनय गरिसकेका छन् ।

टेलिफिल्मको पहिलो कमाई १ सय रुपैयाँ
वि.सं. ०५२ सालमा ‘धून’ नामक टेलिफिल्मबाट सापटी काकाको कलाकारिता यात्रा सूरु भएका थियो । यो टेलिफिल्म नेपाल टेलिभिजनबाट प्रशारण हुन्थ्यो । यसबाट पारिश्रमिकबापत उनले १ सय रुपैयाँ पाएका थिए । उनले ८५ रुपैयाँमा आमालाई लुगा किने । १० रुपैयाँले बिन्ध्यबासिनी हलमा निरमाया फिल्म हेरे । बाँकी ५ रुपैंयाँ घर जाँदाखेरी बस भाडा तिरे ।

पोखराको बिग एफएममा १२ वर्ष काम गरेका सापटी काकाले रिर्पोटिङ र कार्यक्रम सञ्चालकका रुपमा लामो समय काम गरे । पोखरामा दिवाकर भण्डारी ‘सापटी काका’ भनेपछि नचिन्ने कोही थिएन । उनका दुई वटा कार्यक्रम डामाडोल र बिग हल्ला श्रोताहरुमाझ निकै चर्चित थिए । एक घण्टाको कार्यक्रममा २६ मिनेट त विज्ञापन नै बज्ने गथ्र्यो । सिंगो एफएम नै यिनै दुई वटा कार्यक्रमले धानेको थियो । त्यो बेला कार्यक्रम चलाउ“दाका फ्यानहरु उनी अहिले पनि भेटिरहन्छन् ।

निर्देशनको काम सबैभन्दा रमाइलो
सापटि काकालाई निर्देशनको काम सबैभन्दा रमाइलो लाग्छ । लेखन कार्य भने गार्‍हो लागेपनि अभिनय चाही गरिरहुँ लाग्छ । ‘आनन्द चाही निर्देशनमै लाग्छ ।’ उनले भने, ‘क्यामेराको अगाडी अभिनय गर्दागर्दै मर्न पाए भन्ने लाग्छ ।’ उनलाई अरु कुनै थोकमा नशा बसेन । कलाकारीतामा भने नशा बस्यो ।

‘तपाईंलाई बुढो भएँ भन्ने लाग्छ ?’ सापटी काकालाई सोधियो ।

‘लाग्दैन ।’ एक सेकेन्ड पनि ढिलो नगरी उनले जवाफ फर्काए ।

‘काम गर्न समस्या छैन । बाँचुन्जेल काम गरिरहने हो ।’ उनले थपे, ‘अरुको भर पर्न नपरोस् भन्ने लाग्छ ।’

एक एपिसोडमा प्रशारण हुने विषयवस्तु उनले एक दिनमै लेखिसक्छन् । ४० मिनेटका लागि चाहिने स्क्रृप्ट उनले एकै दिनमा लेखिसक्छन् । उनले समसामयिक विषयवस्तु, सामाजिक विषयवस्तुमाथि कथावस्तु लेख्ने गर्छन् । त्यो सुनेर, हेरेर दर्शक, श्रोताहरुको राम्रो प्रतिक्रिया आउँछ । विदेशमा बस्ने नेपालीहरुले टेलिसिरीयल बढी हेर्ने गर्छन् ।

सापटि काकालाई कलेज पढ्न नपाएकोमा पछुतो लाग्छ । पढ्न चाहँदा चाहँदै पनि आर्थिक अवस्थाले गर्दा पाईएनन् । उनका छोरा संगम ३ कक्षा र छोरी शिवानी ५ कक्षामा पढिरहेका छन् । १२ कक्षासम्म आफ्ना सन्तानलाई पढाएपछि उनी स्वतन्त्र छोड्न चाहन्छन् । आफूले पढ्न चाहेको विषय रोजुन्, आफूले रोजेको पेशा रोजुन् भन्ने लाग्छ ।

‘कलाकारितामा आउँन चाहने युवा पुस्तालाई के सुझाव दिनु हुन्छ ?’ सापटी काकालाई सोधियो ।

‘कलाकारीताबारे बुझेर, जानेर आउनुप¥यो । लेखन, निर्देशन, अभिनयको क्लास लिएर आउँदा राम्रो हुन्छ ।’ उनले भने ‘देशमा सम्भावना निकै छ । हरेक क्षेत्रमा अतिरिक्त ट्यालेन्ट भयो भने सम्भावनै सम्भावना छन् ।’

सापटी काकाले नेपालमै बस्नुपर्छ भन्ने मान्यता बोकेका छन् । विदेसमा कैयौं नेपालीले दुःख पाएको, समस्या भोगेको सुन्दा विदेश जान उनलाई मन लाग्दैन । राजनीतिकर्मी र युवाहरुलाई उद्यमशिलता गर्न उनी सल्लाह दिन्छन् । नेपालमा श्रमको मूल्यांकन नभएकोमा सापटी काका खिन्न र दुःखी छन् । राजनीतिकर्मीले युवाहरुका लागि विशेष योजना ल्याउनु पर्नेमा उनी जोड दिन्छन् । नेपालमा हरेक क्षेत्रमा प्रशस्त अवसर भएको उनले देखेका छन् । स्वास्थ्य र शिक्षा सरकारले निःशुल्क गर्ने हो भने विदेश पलायन हुने क्रम कम हुन्थ्यो भन्नेमा उनलाई विश्वास छ ।

समाजसेवामा सक्रिय
सापटी काकाले ५ जना अनाथ विद्यार्थीहरुलाई आफ्नो आर्थिक सहयोगमा पढाईरहेका छन् । कास्कीका बिभिन्न तीन वटा स्कुलमा उनले वालवालिकाहरुलाई पढाईरहेका छन् । उनले स्कुल फि तिर्नुका साथै वालवालिकाहरुलाई आवश्यक लत्ता कपडा, स्टेशनरी सामान, स्कुल ड्रेस लगायतका सहयोग गर्दै आएका छन् । बिगत ५ वर्ष यता भूकम्प प्रभाबितका सन्तान, बाआमा सुस्त मनस्थीतिका सन्तान, गरिब तथा जेहेन्दार, दलितलाई उनले पढाएका छन् । आफूले एसएलसीपछि पढ्न नपाउँदाका पीडा उनले राम्ररी बुझेका छन् । स्कुल पढ्दा पेटभरी खान पाइदैनथ्यो । आर्थिक अभाबले उच्च शिक्षा हासिल गर्न पाईएन । यही पीडालाई बुझेर उनले अभावमा रहेका वालवालिकाहरुलाई सहयोग गर्न खोजेका हुन् ।

भावि योजना के छ ?
सापटी काका चलचित्र बनाउन र यही क्षेत्रमा आफ्नो भावि जीवन बिताउ“न चाहन्छन् । ‘क्यामेराका अगाडी निर्देशन गर्दागर्दै, काम गर्दागर्दै मर्न चाहन्छु । धेरै महत्वकांक्षा छैनन् ।’

प्रतिक्रिया