बुधबार, वैशाख २६, २०८१

एमाले धादिङको अधिवेशनमा ‘कुटाकुट’, कार्यकर्ताको हात भाँचियो

मेरोन्यूज २०८० माघ २१ गते १०:३९

काठमाडौं । नेकपा (एमाले) जिल्ला कमिटी धादिङको नवौँ जिल्ला अधिवेशनमा धक्कामुक्का भएको छ ।  धक्कामुक्काबाट पार्टीका कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको छ । 

Advertisement

शनिबार साँझ बन्द सत्रमा दस्तावेज प्रस्तुत गर्दा हुलहुज्जत र धक्कामुक्का भएको र सन्तोष खनालको हात भाँच्चिएको ढुंगेलले बताएका हुन्।

जिल्ला अध्यक्ष भूमि त्रिपाठीले जबरजस्ती प्रस्ताव पेस गर्दै एकलौटी निर्णय भएको घोषणा गर्न खोजेपछि बैठकमा असहज परिस्थिति बनेको थियो । 

त्यसपछि जिल्ला कमिटीका सदस्य र नेताहरुमाथि हुलहुज्जत र धक्कामुक्का भएको जनाइएको छ ।  

एमाले धादिङ  जिल्ला अधिवेशन शुक्रबारदेखि सुरु भएको हो । सोही दिन साँझ बसेको कमिटीको अन्तिम बैठकमा बन्दसत्रमा प्रस्तुत गरिने आवश्यक दस्ताबेज, नीतिगत निर्णयलगायतका विषयमा छलफल भएको थियो ।

‘एमाले धादिङको नवौं जिल्ला अधिवेशनको बन्दसत्र सुरू हुनुपूर्व माघ १९ गते साँझ करिब ७ बजे बसेको जिल्ला कमिटीको अन्तिम बैठकमा, बन्द सत्रमा प्रस्तुत गरिने आवश्यक दस्तावेज, कतिपय नीतिगत निर्णय, बन्दसत्र सञ्चालनका लागि आवश्यक अध्यक्ष मण्डल लगायत विभिन्न समितिहरूमा रहने नेताहरूको नाम र जिल्ला कमिटीबाट ५ प्रतिशतले मनोनयन हुने प्रतिनिधिहरूका सम्बन्धमा जिल्ला कमिटी अध्यक्षबाट प्रस्ताव प्रस्तुत हुँदा बैठकका सहभागीबाट छलफलको माग गर्दैगर्दा जिल्ला कमिटी अध्यक्षले जबरजस्ती प्रस्ताव पेश गर्नुभयो। उहाँले एकलौटी निर्णय भएको घोषणा गर्न खोजेपछि बैठक कक्षमा असहज परिस्थिति सिर्जना हुन पुग्यो,’ प्रदेश अध्यक्ष ढुंगेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बन्दसत्र चलिरहँदा जिल्ला कमिटीका सदस्य र नेताहरूमाथि हुलहुज्जत र धक्कामुक्का भएको थियो। ‘शनिबार बन्दसत्रको सुरूआतबाट नै अघिल्लो दिनभन्दा बढी असहज, आक्रामक र आतंकित परिस्थिति देखा पर्‍यो। यही कममा भिडन्त भई पार्टी कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

धादिङ जिल्ला अधिवेशन अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए।

प्रतिक्रिया