बिहीबार, वैशाख २०, २०८१

नक्कली शरणार्थी प्रकरण : धरौटी बुझाए पनि छुटेनन् ३ आरोपी

मेरोन्यूज २०८० मंसिर १७ गते १८:५२

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका तीन आरोपीलाई उच्च् अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएपनि उनीहरुलाई पून प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौं जिल्ल अदालतले पूर्पक्षमा पठाउने आदेश दिएपछि केन्द्रीय कारागारमा रहेका हरिभक्त महर्जन, शमशेर मियाँ र नरेन्द्र केसीलाई गत शुक्रबार उच्च अदालत पाटनले उनीहरुले दर्ता गरेको पूनरावेदनका आधारमा धरौटीमा छाड्न आदेश दिएको थियो ।

त्यही आदेशका आधारमा उनीहरुले आइतबार धरौटी रकम बुझाएपनि उनीहरुलाई प्रहरीले रिहा भने नगरेको पारिवारिक स्रोतले जनाएको छ ।

उच्च अदालत पाटनको आदेश अनुसार महर्जनले १५ लाख, मियाँ र केसीले १०र१० लाख रुपैयाँ धरौटी बुझाएका थिए । तर उनीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि अनुसन्धान गरिरहेको भन्दै प्रहरीले रिहा नगरेको हो ।

शुक्रबार उच्च अदालतले आशिष बुढाथोकीलाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो । उनलाई पनि अख्तियार र सम्पत्ति शुद्धीकरणमा बुझाउनुपर्ने भएकाले रिहा नगरेको केन्द्रीय कारागार स्रोतले बताएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएका मध्ये ९ जनालाई उच्च अदालतले थुनामा नराख्न आदेश दिएको छ ।

प्रतिक्रिया