आइतबार, वैशाख २३, २०८१

बालुवाटारमा बैठक बसेर जनप्रदर्शन गर्ने माओवादीको निर्णय, किन ?

मेरोन्यूज २०८० कार्तिक १४ गते १४:२६

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी) तीन महिने पार्टी रुपान्तरण अभियानमा छ । अभियान कात्तिक १५ मा सकिँदैगर्दा उसले सोमबारबाट अभियानलाई थप एक महिना बढाउने निर्णय लिएको छ ।

Advertisement

त्यसो हुँदा अब माओवादीको ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ चार महिनाको हुनेछ । अभियान मंसिर १५ सम्म चल्नेछ । अभियानमा उसले केन्द्र देखि जिल्ला सम्मका नेताहरुलाई कार्यक्षेत्र नै तोकेर कार्यविभाजन गरेको छ । अभियान लिएर गाँउ गाँउ जाने नेता–कार्यकर्तालाई जनताले प्रश्न सोधेका छन्– अभियान किन ?

‘सरकारमा रहेको पार्टीले त काम पो गरेर देखाउने हो , काम गरे आफै जनता माओवादीसँग भइहाल्छन्, काम गर्ने ठाँउमा हुँदा अलमलिने र जनतासँग जोडिन भन्दै अभियान लिएर गाँउ आएर दुई दिन बाटो बढारेर मात्र अभियान सफल हुन्छ र ?’

मओवादीका नेता–कार्यकर्तालाई जनताले धेरैजसो ठाँउमा सोधेको प्रश्न यही हो ।

मओवादी नेतृत्वले भने केन्द्रमा बसेर सरकारले पनि काम गर्ने र सरकारले गरेका कामको प्रचार गदै जनतालाई अव माओवादी रुपान्तरण भएर आयो भन्ने सन्देश दिन गाँउ पुग्नु परेको दावी गरेका छन् । तर जनताका निरन्तरको प्रश्न, केही उत्साहपद देखिएपनि सरकारको काममा लाग्न थालेको सुस्तता आदीका कारण पछिल्लो समय माओवादीको अभियान प्रभावकारी हुन नसकेको विश्लेषण माओवादी बैठकमै पनि उठेको छ ।

माओवादीले जनताका घरघर पुग्ने, त्यस ठाँउको राजनीतिक पार्टीहरुको स्थिती, माओवादीको स्थिती सवै तथ्यगत विवरण माथिल्लो कमिटिलाई पठाउने भने पनि नेता कार्यकर्ता त्यस्तो तथ्यांक संकलन गर्ने, जनतासँग घुलमिल हुने र भेटघाट गर्ने काममा जुटेको देखिएका छैनन । एकाध ठाँउमा त्यसरी काम भएपनि धेरैजसो स्थानमा यसरी अियभान चल्दैन भन्दै नेता कार्यकर्ता नै कार्यक्षेत्र जान छोडन थालेका छन् ।

पर्टी नेता कार्यकर्तामा आउन थालेको यो निरासा तोड्न माओवादीले केही संयुक्त जनप्रर्दशन जस्ता कार्यक्रम बनाउने निश्कर्ष निकालेको हो । अर्काेतिर सरकारमै रहेका दलका नेता कार्यकर्ताले (मुख्यगरी कांग्रेस) माओवादीमाथि बढाउन थालेको घेराबन्दी, कांग्रेस एमालेका बीचमा बाक्लिन थालेको सम्वाद र कोशी प्रकरणसम्मले माओवादी नेतृत्वलाई झस्काइरहेको छ ।

त्यही आधारमा उसले कहिले समाजवादी मोर्चा, कहिले राष्ट्रिय समहमतिको सरकार त कहिले जनप्रर्दशन लगायतका कार्यक्रम पार्टीबाट बनाउनु परिरहेको छ । समाजवादी मोर्चा माओवादीले सरकारमै रहेका कांग्रेस बाहेकका दल र संसद बाहिर रहेको नेत्रविक्रम चन्द (विप्लव)सम्मका पार्टीलाई मिलाएर बनाएको छ । कांग्रेसलाई पनि निरन्तर सरकारभित्रै बसेर दबाव बढाईरहने र संसदको निर्णायक शक्तिका रुपमा मोर्चाका नाममा बार्गेनिङ पावर बढाईरहनका लागि माओवादीले समाजवादी मोर्चाको अवधारणा ल्याएको राजनीतिक वृत्तमा चर्चा छ ।

त्यही अवधारणा अनुसार समाजवादी मोर्चा बनाइएको यदाकदा घटनाक्रमले पनि पुष्टि गदैं लगेको देखिन्छ । एकाध सभाहरु बहेक यो मोर्चाले थप उल्लेख्य काम गर्न सकेको छैन । तर प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले चलाखीपूर्ण रुपमा मोर्चा निर्माण गरेर कांग्रेस र एमालेका अगाडी तेस्रो शक्ति अर्काे पनि छ हैं भनेर डन्डा भने चलाउन पाईरहेकै छन् ।

ठिक त्यसैगरि माओवादीले अहिले पार्टीको तर्फबाट जनप्रर्दशनको कार्यक्रम तय गरेका छन् । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकबाट माओवादीले मंसिर २२ मा काठमाडौंमा जनप्रर्दन गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष प्रचण्ड मुलुकको प्रधानमन्त्री छन् । राष्ट्रियता र स्वाधिनताको रक्षा, प्रतिगमन विरुद्धको आन्दोलन लगायतका विषय केन्द्रीत गरेर उसले पार्टीको बागमति प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क विशेष समितिको आयोजनामा मंसिर २२ मा काठमाडौंमा जनप्रर्दशन गर्न खोजेको हो ।

हेर्नुहोस् सर्कुलरमा उल्लेखित निर्णय

यो निर्णय गर्नुका खास दुई मक्सद भएको माओवादीका नेताहरुले बताएका छन् । पहिलो, सरकारभित्र– बाहिर रहेका दलहरुमा दबाब बढाउनु । माओवादी सडक संर्घषमा छ हैं भनेर देखाउनु । दोस्रो आफनो पार्टीका नेता– कार्यकर्ता जो कामविहिन छन्, उनीहरुलाई पार्टी कामको कार्यतालिका दिनु र अलमलाउनु । माओवादीको चार महिने (थपिएको एक महिनासहित) अभियानमा नेता– कार्यकर्तामा खास उत्साह देखिएको छनै । पार्टी बनाउनुपर्छ भन्ने रुची भएपनि जाँगर माओवादी नेता– कार्यकर्तामा देखिएको छैन ।

भोलिका दिनमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले पार्टीलाई कहाँ लगेर वुम¥याङ पार्ने हुन् भन्ने उनीहरुमा भय छ । त्यही भयका आधारमा पनि माओवादी नेता– कार्यकर्ता, पार्टी र पार्टीको अभियानमा उत्साहित देखिएका छैनन । तर पनि उनीहरु माओवादी छोडेर अन्यत्र जाने अवस्थामा पनि देखिन्नन् । जसकाकारण माओवादीले नेता– कार्यकर्ताको त्यही मनोविज्ञान र सधैको विद्रोही लवजलाई मेनटेन गर्न सडकका केही कार्यक्रम माओवादीले बनाउन चाहेको हो । त्यसैको एउटा नजिर हो– मंसिर २२ मा गर्न लागेको जनप्रर्दशन ।

जनप्रर्दशन गर्नु अगाडी उसलाई एउटा मसला भने मिलेको छ – राजावादीहरुको सक्रियता । राजावादीहरुले सक्रियता बढाएर प्राप्त उपलब्धीमाथी प्रहार गरिरहेकोले पनि त्यसको भण्डाफोर गर्न प्रर्दशन आवश्यक रहेको र निरन्तर खवरदारी जरुरी रहेको माओवादी नेताहरुको दावी छ ।

राजावादीहरुले निरन्तर प्रतिगमनकारी हर्कत बढाउन थालेको र जनयुद्द र जनआन्दोलनको बलमा प्राप्त उपलब्धी माथि निरन्तर आक्रमण गर्न थालेकोले त्यसको विरुद्ध खवरदारीका लागि पनि जनप्रर्दशन आवश्यक परेको हो,’ माओवादी केन्द्रका एक पदाधिकारी तर्क गर्छन् ।

माओवादी उपाध्यक्ष तथा पार्टी प्रवक्ता समेत रहेका नेता अग्निप्रसाद सापकोटाका अनुसार, माओवादीले कात्तिक २२ मा घोषणा गरेको जनप्रर्दशनको कार्यक्रम पहिलो चरणको हो । पहिलो चरणमा काठमाडौंको प्रर्दशनको कार्यक्रम पछि क्रमशः प्रदेश र जिल्लामा पनि प्रर्दशनका कार्यक्रम गर्ने तयारीमा माओवादी छ । माओवादीले तीन महिने अभियानको क्रममा पनि त्यस्तो जनप्रर्दशन लगायतका कार्यक्रम गर्ने निर्णय गरेवमोजिमकै अहिले घोषणा भएका कार्यक्रम भएको उनको भनाइ छ ।

सापकोटाले थप अगाडी भने, ‘व्यवस्थाविरोधी अराजकता देखिएका छन्, लोकतन्त्रको रक्षाका लागि हामीले नागरिकहरुलाई पार्टीको लेभलबाट पनि सचेत गराउनुपर्छ । सडकको संघर्ष भनेको एक किसिमले जनपरिचालन हो भनेर बुझ्दा हुन्छ । यो हामी देशैभरि गर्नेछौं ।’

प्रतिक्रिया