आइतबार, वैशाख २३, २०८१

१५ वर्षपछि राष्ट्रसंघका महासचिवको हुन लागेको नेपाल भ्रमण

संयोग यस्तो मिलेको छ की- १५ वर्षअगाडी राष्ट्रसंघका महासचिव नेपाल आउँदा प्रचण्ड प्रधानमन्त्री थिए र अहिले पनि उनै छन्

मेरोन्यूज २०८० कार्तिक ११ गते १२:५४

कठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिवको १५ वर्षपछि नेपाल भ्रमण हुन लागेको छ । सन् २००८ अक्टोबरमा तत्कालिन महासचिव बान की मुनको नेपाल भ्रमणपछि राष्ट्रसंघका महासचिवको तहमा १५ वर्षको बीचमा हुन लागेको यो पहिलो नेपाल भ्रमण हो । यधपी राष्ट्रसंघका अहिलेसम्म प्रथम महासचिव ट्रिग्वे ली र अर्का महासचिव बुत्रोस बुत्रोस घालीले बाहेक प्रायः सबैले नेपाल भ्रमण भने गरेका छन् ।

Advertisement

हालका महासचिव एन्टोनियो गुटेरेसले आइतबारदेखि नेपालको चारदिने भ्रमण गर्दै छन् । उनका लागि नेपाल भ्रमणका एजेन्डा र कार्यतालिकाको टुंगो लागेको छ । यसको टुंगो नेपाल सरकार र नेपालस्थित संयुक्त राष्ट्रसंघीय स्थायी नियोगले गरेका हुन् ।

पोर्चुगलका पूर्वप्रधानमन्त्री समेत रहेका एन्टोनियो गुटरेसको राष्ट्रसंघको महासचिवका रूपमा यो दोस्रो कार्यकाल हो । उनी पहिलो कार्यकालमा नेपाल भ्रमणमा आएका थिएनन । तर गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सेप्टेम्बर १७ मा संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भेटेरै नेपाल भ्रमणको निम्तो दिएका थिए । महासचिव गुटेरेसले पनि त्यसलाई स्वीकार गरेर भोलि देखि नेपािलको भ्रमणमा निस्कन लागेका हुन् ।

पछिल्ला १५ वर्षमा राष्ट्रसंघका महासचिवको नेपाल भ्रमण यस्तो बेला हुन लागेको छ, तत्कालिन बान की मुन नेपाल भ्रमण आउँद पनि माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री थिए । अहिले गुटेरेस नेपाल भ्रमणमा आउन लाग्दा पनि प्रचण्ड नै प्रधानमन्त्रीका रुपमा छन् ।

माओवादी शान्तिप्रक्रियामा आएपछि भएको निर्वाचनबाट त्यतिबेला माओवादी सरकारमा पुगेको थियो र सरकारको नेतृत्व प्रचण्डले नै गरिरहेका थिए । अहिले पनि कांग्रेससहितको गठबन्धन सरकारको तर्फबाट प्रचण्डले नै सरकारको ने्तृत्व गरिरहेका बेला राष्ट्रसंघका महासचिवको नेपाल भ्रमण हुन लागेको हो ।

बन की मुन नेपाल भ्रमणमा आउँदा माओवादी १० वर्षे शसस्त्र युद्दको नेतृत्व गरेर शान्ति प्रक्रियामा आएको थियो । हतियार ब्यवस्थापन र सेना समायोजनको क्रम चलिरहेको थियो, ठिक अहिले गुटेरेस नेपाल भ्रमणमा आउँदा नेपालको शान्तिप्रक्रिया अन्तिम टुंग्गोमा पुराउन दलहरुको जोडबल चलिरहेको बेला परेको छ ।

गुटेरेसले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बानेधन गर्ने कार्यतालिका समेत बनेको बेला प्रधानमन्त्रीले शान्ति प्रक्रिया लगायतका राष्टिय मुद्दामा राजनीतिक दलहरुको मत एकै बनाउन कसरथ गरिरहेका छन् । उनले राष्ट्रसंघका महासचिवलाई नेपालमै बोलाएर नेपालको शान्ति प्रक्रिया करिव टुंग्गोमा पुगेको सन्देश दिन प्रचण्डले चाहिरहेका छन् ।

नेपाल सन् १९५५ को १४ डिसेम्बरमा संयुक्त राष्ट्रसंघको सदस्य भएको हो। सदस्य भएको तीन वर्ष तीन महिनापछि मात्रै राष्ट्रसंघबाट महासचिव स्तरमा नेपाल भ्रमण भएको थियो। सन् १९५९ को १६ मार्चमा संयुक्त राष्ट्रसंघका तत्कालिन महासचिव ड्याग ह्यामर्सोल्ड नेपाल भ्रमण गरेका थिए । उनी नै नेपाल भ्रमण गर्ने पहिलो राष्ट्रसंघका महासचिव हुन्। उनी राष्ट्रसंघको दोस्रो महासचिव थिए ।

६४ वष अगाडी पहिलो पटक नेपाल भ्रमणमा आएका राष्ट्रसंघका महासचिव ड्यागलाई गौचर हवाईअड्डामा स्वागत गर्दै परराष्ट्रमन्त्री साहेब्ज्यू पुरेन्द्रविक्रम शाह

प्रथम महासचिव ट्रिग्वे लीका पालामा नेपाल संयुक्त राष्ट्रसंघको सदस्य भइसकेको थिएन । जसकाकारण पनि प्रथम महासचिवले नेपाल भ्रमणको अवसर पनि पाएनन । नेपालले राष्ट्रसंघको सदस्यता प्राप्त गर्दा ड्याग ह्यामर्सोल्ड राष्ट्रसंघका महासचिव थिए।

ड्याग नेपाल भ्रमणमा आउँदा सुवर्णशमशेरको अध्यक्षतामा प्रमुख दल सम्मिलित चुनावी सरकार गठन भएको थियो। सोही फेब्रुअरी १९ बाट नेपालमा पहिलो आमनिर्वाचन सुरु भएको थियो। उनी आउँदा केही क्षेत्रको निर्वाचन परिणामसमेत आउन थालेको थियो।

सन् १९५९ को मार्चमा महासचिव ह्यामर्सोल्ड पूर्वी तथा दक्षिण एसियाली मुलुकहरूको भ्रमणमा निस्किएका थिए । त्यसै भ्रमणको क्रममा उनी थाइल्यान्डको बैंककबाट कलकत्ता हुँदै काठमाडौँ ओर्लिएका थिए। त्यतिबेला तेस्रो देशबाट नेपाल आउने अधिकांश अतिथिहरू भारत भ्रमण सम्पन्न गरेर मात्र काठमाडौँ आउँथे। महासचिव ड्याग भने बैंककबाट कलकत्ता ट्रान्जिट हुँदै पहिले काठमाडौँ आएका थिए ।

१६ मार्च १९५९ ९२०१५ चैत ३० मा कलकत्ताबाट उडेको विमान दिउँसोतिर काठमाडौँको गौचर हवाईअड्डामा अवतरण गरेको थियो । नेपालको दुईदिने भ्रमणका क्रममा उनलाई कलकत्ताबाट काठमाडौँसम्म ल्याउन राजा महेन्द्रले प्रयोग गर्ने विमान पठाएका थिए।

विमानका पाइलट एक जना सिख थिए जोसँग ड्याग विमानको ककपिटमा सवार भएर आएका थिए। विमानबाट हवाईअड्डामा ओर्लिंदा उनलाई स्वागत गर्नका लागि परराष्ट्रमन्त्री साहेब्ज्यू पुरेन्द्रविक्रम शाह पुगेका थिए।

त्यसपछि सन् १९६७ को अप्रिलमा तात्कालिक महासचिव ऊ थान्तले नेपाल भ्रमण गरेका थिए। बौद्धमार्गी ऊ थान्तले त्यतिखेर बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका थिए। त्यसलाई उनले आफ्नो जीवनकै सर्वाधिक महत्त्वपूर्ण दिनमध्ये एक भनेका थिए। त्यसको केही वर्षपछि नै लुम्बिनी विकासको निम्ति गुरुयोजना बनेको थियो।

सन् १९६७ मा नेपाल भ्रमणमा आएका महासचिव ऊ थान्त राजा महेन्द्रसँग भेट गर्दै

थान्तपछि सन् १९८१ को फेब्रुअरीमा तत्कालिन महासचिव कुर्त वाल्डहाइमले राजा वीरेन्द्रको पालामा नेपाल भ्रमण गरेका थिए । सन् १९८९ को मार्चमा महासचिव हाभियर पेरेज द कोयारले पनि नेपाल भ्रमण गरेका थिए। नेपालमा प्रजातन्त्रको पुनर्स्थापनापश्चात् थप दुई महासचिवले नेपाल भ्रमण गरिसकेका छन्। अहिले गुटेरेसले भ्रमण गर्दा तेस्रो महासचिव हुनेछन् ।
सन् २००१ को मार्चमा महासचिव कोफी अन्नानले नेपाल भ्रमण गरेका थिए भने सन् २००८ को अक्टोबरमा महासचिव बान कि मुन काठमाण्डौं आएका थिए।

महासचिव गुटेरेस आइतबार राति १ बजे त्रिभुवन विमानस्थलमा आइपुग्नेछन् । उनलाई विमानस्थलमा परराष्ट्रमन्त्री साउदले स्वागत गर्ने कार्यक्रम छ । त्यसपछि महासचिव होटल जानेछन् । उनले दिउँसो परराष्ट्रमन्त्री साउदसँग द्विपक्षीय भेटवार्ता गरेपछि प्रधानमन्त्री दाहाल र राष्ट्रपति रामचन्द्र पौडेलसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ ।

लगत्तै नेपालका पूर्वप्रधानमन्त्रीहरूसँग सामूहिक भेटवार्ता गर्नेछन् । महासचिव गुटेरेस ललितपुरको पाटन दरबार स्क्वायरको अवलोकनमा पनि जानेछन् भने त्यहाँबाट फर्केपछि प्रधानमन्त्रीको आयोजनामा हुने रात्रिभोजमा सरिक हुनेछन् ।


कात्तिक १३ गते सोमबार महासचिव गुटेरेस जलवायु परिवर्तनको असरलाई बुझ्न सोलुखुम्बुको स्याङ्बोचेसम्म अवलोकन गर्न पुग्ने कार्यक्रम छ । त्यसपछि उनी काठमाडौं फर्केर ललितपुरस्थित यूएन हाउसको कार्यक्रममा सहभागी हुनेछन् । त्यसपछि उनी पोखरा उड्ने र राति पोखरामै बस्ने कार्यक्रम छ । कात्तिक १४ गते मंगलबार महासचिव गुटेरेस पोखराबाट बिहान अन्नपूर्ण सर्किट अवलोकनपछि पोखरा फर्केर पुरानो विमानस्थलमा पत्रकार सम्मेलन गर्नेछन् । त्यसपछि गौतम बुद्धको जन्मस्थल लुम्बिनीतर्फ लाग्नेछन् ।


लुम्बिनीबाट काठमाडौं फर्केर सोही दिन बेलुकी संघीय संसद्को दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम तय छ । त्यसपछि संसद्कै परिसरमा पत्रकार सम्मेलन गर्नेछन् । कात्तिक १५ गते बुधबार महासचिव गुटेरेस नेपालको आफ्नो चारदिने भ्रमण पूरा गरी फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया