आइतबार, वैशाख २३, २०८१

सफल होला बागमतीमा पनि कोशी दोहोर्‍याउने कांग्रेसका सांसदको प्रयास !

मेरोन्यूज २०८० कार्तिक २ गते २०:३४

काठमाडौँ । कोशीमा विद्रोह गरी कांग्रेसका केदार कार्की मुख्यमन्त्री बनेपछि हौसिएका बागमतीका कांग्रेस सांसदहरू पनि कोशी प्रकरण दोहोर्‍याउने प्रयासमा लागेका छन् । तर, कोशीमा जस्तो बागमतीमा कांग्रेसबाट विद्रोह गरेकालाई एमालेले साथ दिँदा पुग्ने अवस्था भने देखिन्न ।

Advertisement

विद्रोहबारे बागमतीका सांसदहरूले आफूसँग कुरा गरेको कांग्रेस महामन्त्री गगन थापाले बताएका छन् । बिहीबार काठमाडौं प्रेस युनियनले गरेको कार्यक्रममा बागमतीका ४ जना सांसदले मुख्यमन्त्री कांग्रेसबाट बनाउने विषयमा सकारात्मक हुन आग्रह गर्दै आफूलाई भेटेको विषय सार्वजनिक गरे । आफूले यो विषयमा सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालालाई भन्न भनेको भन्दै महामन्त्री थापा पन्छिए ।

‘आज बिहान बागमती प्रदेशका चार सांसद आउनुभएको थियो । उहाँहरू बागमती प्रदेशमा हाम्रा ३७ सांसद छन् । हामी सबैभन्दा ठूलो पार्टी हो हामी माओवादीलाई मान्दैनौं । हाम्रो (शेखर पक्ष) केही दिनभित्र १२, १३ जना पुगेका छन् । सरकार बदल्दिऔं भन्दै हुनुहुन्थ्यो,’ थापाले कार्यक्रममा भने, ‘मैले यस्तो कुरा चाहिँ पार्टी सभापति र वरिष्ठ नेतालाई गएर सोध्नुहोला मलाई कम ज्ञान छ भनेको छु । तर, यो सबैतिर आउँछ । कसरी जाने के गर्ने भन्ने टुंगो नभएपछि आउँछ ।’

बागमतीमा कांग्रेसका ३७, एमालेका २७, माओवादीका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका ३, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन् ।

११० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ५६ सांसद चाहिन्छ ।

कांग्रेसबाट विद्रोह गर्ने सांसदहरू १३ जना नै भए पनि एमालेका २७ सांसदले समर्थन गरिदिँदा बहुमत पुग्ने अवस्था देखिन्न । किनकि त्यसो हुँदा ४० सांसदमात्र पुग्छन् ।

बागमती प्रदेश सभामा सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना र प्रदेश सांसदसमेत रहेका प्रदेश सभापति इन्द्र बानियाँबीच विवाद भएकाले प्रदेश सांसदहरूले प्रयास भने नगर्लान् भन्न सक्ने अवस्था छैन ।

०७९ सालको संघीय चुनावमा आफूलाई बानियाँले हराउन भूमिका खेलेको आरोप लगाउँदै डीनाले बागमतीमा संसदीय दलको नेता चुन्दा बानियालाई सभापति शेरबहादुर देउवाको बल लगाएर हराएकी थिइन् । र, बहादुरसिंह लामालाई डिनाको जोडबलमा संसदीय दलको नेता बनाइएको थियो । त्यही कारणले संस्थापन समूहमा रहेका बानियाँ अहिले इतर समूहसँग नजिक छन् ।

बानियाँको पक्षमा अहिले १८ जनासम्म सांसद रहेको निकटस्थहरू बताउँछन् । त्यति संख्याले विद्रोह गरे पनि बागमतीमा कोशीमा जस्तो बहुमत पुग्ने अवस्था छैन ।

अहिले बानियाँको पक्षमा बहुमत सांसदको सहयोग पुग्ने देखिए पनि दलको नेता परिवर्तन गर्न भने आँट गरेका छैनन् ।

अधिकांश समानुपातिक सांसद लामासँग रुष्ट छन् । संसदीय दल प्रभावकारी नभएको गुनासो सांसदहरूको छ । सरकार परिवर्तन गर्ने चर्चासँगै निर्णायक बनाउन सांसदहरू लागि परेका छन् ।

कोशीमा संविधानले सरकार गठनका लागि व्यवस्था गरेको अन्तिम विकल्प प्रयोगमा आएको थियो । बागमतीमा संविधानको धारा १६८ को उपधारा २ बमोजिमको सरकार छ ।

बागमतीमा दलका नेता लामासँग श्याम खड्का, विमल ठकुरी, सुना परियार, हरिप्रभा खड्गीलगायत असन्तुष्ट रहेको बताइन्छ ।

संघमा वर्तमान गठबन्धन सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री रहेका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको जोडबलमा राजनीतिक पृष्ठभूमि नभएकी मसिना खड्कालाई बागमतीमा वन तथा वातावरण मन्त्री बनाएपछि बागमतीमा असन्तुष्टिको चुरो बढेको एक सांसदले बताए ।

प्रतिक्रिया