आइतबार, वैशाख २३, २०८१

सरकारद्वारा इजरायलमा श्रम स्वीकृति बन्द

मेरोन्यूज २०८० असोज २८ गते १९:४८

काठमाडौं । नेपाल सरकारले इजरायलमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने काम बन्द गरेको छ ।

Advertisement

वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालले इजरायलका लागि श्रम स्वीकृति दिने काम अनिश्चितकालका लागि बन्द भएको जानकारी दिए ।

९ दिन अगाडि हमासले आकस्मिक रुपमा इजरायलमाथि गरेको आक्रमणको प्रत्याक्रमणस्वरुप इजरायलको तर्फबाट भीषण बमबारी जारी छ ।

बढ्दो जोखिमबीच नेपाल सरकारले वैदेशिक रोजगारीका लागि नेपालीबीच आकर्षक एक गन्तव्य इजरायल तत्कालका लागि बन्द भएको हो ।

साथमा यसअघि नै श्रम स्वीकृति लिइसकेका र उडानको मिति निश्चित भइसकेकाको हकमा समेत यात्रा रोकिएको छ ।

अध्यागमन विभागले ट्राभल एडभाइजरी जारी गर्दै विभिन्न प्रयोजनमा इजरायल प्रस्थान गर्ने तयारीमा रहेका सबै नेपाली नागरिकलाई इजरायल भ्रमणको योजना स्थगित गर्न आग्रह गरेको छ ।

वैदेशिक रोजगारी व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार मध्यपूर्वी मुलुकमध्ये इजरायल जानेले सबैभन्दा राम्रो आम्दानी गरिरहेका छन् । यो युद्धका कारण तत्कालका लागि आकर्षक रोजगारीको गन्तव्य बन्द हुँदा वैदेशिक रोजगारीमा ठूलो असर पर्ने उनी बताउँछन् ।

वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९।८० मा श्रम स्वीकृति लिएर १ हजार ८४ जना नेपाली इजरायल गएका थिए । जसमध्ये ७८५ जना महिला हुन् । विभागका महानिर्देशक दाहालले अहिले इजरायलमा ५ हजार हाराहारी नेपाली वैदेशिक रोजगारीमा रहेको अनुमान रहेको बताए ।

प्रतिक्रिया