शुक्रबार, वैशाख २१, २०८१

पूर्वसभामुख महराका छोरा राहुल पुर्पक्षका लागि थुनामा

मेरोन्यूज २०८० असोज २६ गते १८:४७

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले भेपको सुन प्रकरणमा माओवादी उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ।

Advertisement

जिल्ला अदालत काठमाडौंका न्यायाधीश दण्डपाणि शर्माको इजलासले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

भेप प्रकरणमा पक्राउ परेका सुन तस्कर चिनियाँ नागरिकका सवारी चालक लोकेन्द्रकुमार पौडेलसँग भने इजलासले ५ लाख धरौटी मागेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानका आधारमा काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोगपत्रमा राहुलविरुद्ध आपराधिक विश्वासघात, भन्सार चोरी पैठारी तथा संगठित अपराधसम्बन्धी अभियोग किटान गरिएको छ।

गत वर्ष पुस १० गते दुबईबाट आएको जहाजमा विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको प्रकरणमा राहुल तानिएका हुन्। ८ करोड ५५ लाख २८ हजार रुपैयाँबरारको सुन तस्करीमा उनले सरकारी निकायहरूलाई प्रभावमा पारेको देखिएको छ। सुन चिनियाँ नागरिकले ७३ बट्टामा ७३० वटा विद्युतीय चुरोटमा लुकाएर ल्याएका थिए।

नेपाल आइसकेपछि भन्सारबाट छुटाउन राहुलले भूमिका खेलेका थिए। राहुलसँगै उनका बुवा कृष्णबहादुर महराले पनि धेरैपटक भन्सार अधिकारीहरूलाई फोन गरेको पाइएको थियो। साथै, तस्करीमा मुछिएका चिनियाँहरूसँग पनि उनको घनिष्ठ सम्बन्ध देखिएको थियो।

राहुलले आर्थिक लाभका निम्ति तस्करहरूसँग मिलेमतो गरेको, अपराध गर्न पिरामिड शैलीमा तहगत जिम्मेवारीहरू बाँडफाँट गरेको, भन्सारमार्फत नेपाल सरकारलाई प्राप्त हुने राजस्व नोक्सान हुनेगरी काम गरेको र भन्सारबाट सुन तस्करी गराउन प्रत्यक्ष भूमिका खेलेको प्रहरीको अनुसन्धानले देखाएको छ।

प्रतिक्रिया