शुक्रबार, वैशाख २१, २०८१

धार्मिक विवाद देखिएका बाँके र सर्लाहीका सिडियो र प्रहरी प्रमुखको सरुवा

मेरोन्यूज २०८० असोज २५ गते २१:११

काठमाडौँ । गृहमन्त्रालयले धार्मिक विवाद देखिएका बाँके र सर्लाहीका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयका प्रमुख परिवर्तन गरेको छ ।

Advertisement

बिहान मन्त्रालयले प्रजिअ सरुवा गरेपछि साँझ प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी प्रमुखको पनि सरुवा गरेको हो । गृह मन्त्रालयले बाँकेको प्रमुख जिल्ला अधिकारी विपीन आचार्यलाई मन्त्रालयमा जगेडामा तानिएको छ । त्यहाँ प्रजिअ बनाएर श्रवण कुमार पोखरेललाई पठाइएको छ ।

सर्लाहीमा भने दोलखाको प्रमुख जिल्ला अधिकारी रहेका कोमलप्रसाद धमलालाई पठाइएको छ । त्यहाँका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई इलाम सरुवा गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठोरलाई फिर्ता बोलाएर सुवास चन्द्र बोहरालाई पठाएको छ । त्यस्तै सर्लाहीका नरेशराज सुवेदीलाई फिर्ता बोलाएर प्रविण धिताललाई पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सामाजिक र धार्मिक सद्भाव भड्किने संकेत देखिएपछि असोज १६ बाट बाँकेमा लगातार कर्फ्यु लगाइएको थियो । हिन्दु र मुस्लिम समुदायबिच तनाव सिर्जना भएपछि नेपालगञ्ज क्षेत्रमा सुरुवाती दिनमा नै स्थानीय प्रशासनले सेनाको सहयोग लिएको थियो ।

सर्लाहीमा पनि हिन्दु र मुस्लिम समुदायको बिचमा विवाद भएको थियो । बाँकेमा सरुवा गरिएका एसपी बोहरा र सर्लाहीमा पठाइएका धिताल प्रहरीभित्र व्यवसायीक छविका अधिकृत मानिन्छन् ।

हिन्दु र मुस्लिम समुदायको बिचमा दंगा भड्किएपछि सुरक्षा परिषद्को बैठकमा दुवै जिल्लाका प्रजिअ र एसपीले ‘कार्यकुशलता देखाउन नसकेको’ विश्लेषण गरिएको थियो ।

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय दोलखाको प्रजिअमा टुवराज पोखरेललाई पदस्थापन गरेको छ ।

प्रतिक्रिया