आइतबार, वैशाख २३, २०८१

कोशीको नयाँ मुख्यमन्त्री : कांग्रेसभन्दा माओवादीको पल्लाभारी

सत्ता गठबन्धनको बैठक बालुवाटारमा बस्दैं, माओवादीका इन्द्र आङ्वोलाई मुख्यमन्त्री बनाउने विषयमा सहमति खोजिने

मेरोन्यूज २०८० असोज २५ गते १३:३६

काठमाडौं । केन्द्रमा रहेको सत्ता गठबन्धन जोगाएर लैजान सत्ता गबठन्धनमा रहेका दलहरुले कोशी प्रदेशमा माओवादी केन्द्रलाई मुख्यमन्त्री दिने गरि सहमति निकाल्न लागेका छन् । त्यसका लागि अहिले दिउँसो सत्ता गबठन्धन दलहरुको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको छ ।

Advertisement

कांग्रेसभित्र प्रदेश सभा दलका नेता रहेका उद्दव थापाले फेरि विश्वासको मत जुटाउन नसक्ने र कांग्रेसभित्रै शेखर कोइराला पक्षले केदार कार्कीलाई मुख्यमन्त्रीमा अगाडी सार्न खोजेपछि माओवादीका आङबोको सम्भाबना बलियो बनेर गएको हो ।

‘माओवादीका प्रदेश संसदीय दलका नेता रहेका इन्द्र आङबो मुख्यमन्त्री बन्ने बाटो बलियो बनेर गयो, त्यसभित्र दुई वटा पक्षले काम गर्‍यो,’ कांग्रेसका एक पदाधिकारीले मेरोन्यूजसग भने,–‘पहिलो कांग्रेसभित्रको आन्तरिक किचलो, त्यसमा उद्दव थापा र केदार कार्की दुबैको एकले अर्काेलाई नछोडने दाबी, दोस्रो विश्वासको मत लिनका लागि निर्णायक रहेको राप्रपाको माओवादीलाई भए दिनसक्ने आश्वासन । यी दुई कारणले केन्द्रीय गठबन्धन जोगाउन पनि माओवादीका आङबो मुख्यमन्त्री बन्ने सम्भाबना बलियो बनेर गयो ।’

कांग्रेसमा उद्दब थापालाई रोक्न शेखर पक्ष लागेपछि दल नेता भन्दा बाहिरबाट मुख्यमन्त्री बनाउने पक्षमा सभापति देउवा उभिएनन । उनलाई कांग्रेसकै पूर्वका पिल्लरमध्येका कृष्ण सिटौलाले साथ दिए ।

शेखरले पनि आफनो अडान छोडेनन । जसकाकारण देउवा माओवादीप्रति लचक बनेका हुन् । अर्काेतिर गत मंगलबार मात्रै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले माओवादीका आङबोलाई मुख्यमन्त्री बने सहयोग गर्न तयार रहेको सन्देश प्रधानमन्त्री प्रचण्डलाई दिए । जसकाकारण आङबो बलियो बनेका हुन् ।

यस बारेमा सत्ता गबठन्धन दलले औपचारिक निर्णय लिन अहिले गठबन्धनको बैठक बस्न लागेको हो । माओवादीलाई मुख्यमन्त्री छोडन नहुनेमा अझै शेखर कोइराला पक्षका नेताहरु छन् । कोशीमा कांग्रेसका २९ सांसदमध्ये शेखर कोइराला समुहमा कार्कीसहित गोबिन्द गिरि, शमसेर राई, रामकुमार खत्री, बिनोद बान्तवा, इन्दिरा थापा, मनबहादुर राइ, गयानन्द मण्डल र शोभा पालुङ्वा छन् ।

उनीहरुले भने माओवादीलाई र उद्दब थापालाई मुख्यमन्त्री बनाउने सोचमा विद्रोह गर्ने चेतावनी पनि दिईरहेका छन् । संविधानको धारा १६८(५) अनुसार प्रदेश सभाका जुनकुनै सांसदले प्रदेशमा विश्वासको मत छ भनी आधार र कारण देखाए, त्यस्तो सांसदको् नेतृत्वमा प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नसक्ने प्रावधान यो धारामा छ ।

प्रदेश सभामा उपसभामुखसहित ४० सिट लिएर बसेको एमालेले भने कांग्रेसका कार्की समुहले विद्रोह गरेर मुख्यमन्त्री बन्न् चाहे आफुहरुको सहयोग हुने बचन दिईसकेको छ । तर कार्की समुहले पार्टीभित्र विद्रोह गर्ने या नगर्ने खुलेको छैन । सरकार गठनमा दलीय ह्वीप नलागेपनि पार्टीको निर्णय विपरित गएर एमालेसँग मिलेर कार्की समुहले सरकार बनाउने सम्भाबना नदेखिएको पनि कांग्रेसका एक सांसदले बताए ।

कथंकदाचित विद्रोह गर्न खोजे कांग्रेसभित्र भाडभैलो देखिने अवस्था बनेको छ ।

तर माओवादीका कोशी प्रदेश इन्चार्ज चक्रपाणि खनालले भने कोशीमा माओवादीको नेतृत्वमा सरकार बनाउने गरि करिव सहमति जुटेको बताएका छन् ।

उनले भने, ‘अहिले पनि छलफल चलिरहेको छ। माओवादी नेतृत्वमा सरकार बनाउन करिब करिब सहमति भइसकेको छ। तर, अहिले सबैको टुंगियो भन्न सकिँदैन। कांग्रेसले पनि तपाईँहरूको नेतृत्वमा सहमति जुट्छ भने हामीलाई आपत्ति छैन भनिसक्नुभएको छ।’

उनले कांग्रेसले आफूहरूलाई सरकारको नेतृत्व दिन तयार भएपछि आन्तरिक रूपमा अझै विवाद रहेको स्वीकारे ।

उनले भने, ‘शेखरजीको टिम सोमबार प्रधानमन्त्रीकहाँ जानुभएको थियो । उहाँले हामीलाई पहिले सहयोग गर्नुपर्‍यो भन्नुभएको रहेछ ।’

उनले कांग्रेसको नीति अनुसार दलको नेता नै मुख्यमन्त्री बन्ने विधान भएकाले शेखर पक्षले भनेको कुरामा सहमति बन्न नसकेको उनको बुझाइ छ ।

उनले थपे, ‘अहिले मध्यावधिमा जानसक्ने अवस्था छैन । सबै दल सहमत नै छन् । अहिले जहाँ सहमति जुट्छ त्यही गरौं भन्ने हाम्रो प्रस्ताव थियो। तर, हाम्रो पार्टी नेतृत्व लिनेबारे छलफल भएको छ।। त्यसबारे बिहान पनि छलफल भइरहेको छ ।’

माओवादीभित्र पनि आङबो सहित बाबुराम गौतम र दुर्गाप्रसाद चापागाई मुख्यमन्त्रीको लविङमा छन् । तर अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड माओवादीको भागमा मुख्यमन्त्री लिएर दल नेता आङबोलाई नै अगाडी सार्ने तयारीमा छन् ।

राप्रपाले भने कोशी सरकारबारे निर्णय लिन भोलि पार्टी बैठक बोलाएको छ ।

प्रतिक्रिया