सोमबार, वैशाख २४, २०८१

फुटेको होइन जुटेको एनआरएनए बनाउने आरके शर्माको प्रतिबद्धता

मेरोन्यूज २०८० असोज २१ गते ८:५७

काठमाडौँ । चुनावी अभियानका क्रममा युरोपको भ्रमण सकेर गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षका सशक्त उम्मेदवार आरके शर्मा आफ्नो कर्मभूमि मध्यपूर्व फर्किएका छन् । शर्मा युरोपबाट फर्किँदा संयुक्त अरब इमिरेट्स (दुबई)मा भव्य स्वागत भएको छ ।

Advertisement

गत हप्ता बुधवार आफ्नो कर्मभूमि कतारको दोहामा अध्यक्षको उम्मेदवारी दिएपछि शर्मा साउदी अरब हुँदै बहराइन पुगेर युरोप भ्रमणमा निस्केका थिए । युरोपको करिब एक साता लामो भ्रमण सकेर शर्मा शनिवार बिहान दुबई आइपुगेका हुन् ।

दुबईमा शर्मालाई गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद युएईका अध्यक्ष विकास शाही,निवर्तमान अध्यक्ष तथा आइसीसी कोषाध्यक्षका प्रत्याशी ठाकुर ढुंगाना लगायतका अभियन्ताहरूले स्वागत गरेका हुन् ।

अध्यक्षको उम्मेदवारीका आफ्नो समर्थन जुटाउन तथा विश्वका गैरआवासीय नेपाली अभियन्तासँग छलफल र सुझावको लागि शर्माले ४० वटा देशको भ्रमण गरेका छन् ।

असोजको ३० देखि कात्तिक २ सम्म एनआरएनएको विश्व सम्मेलन काठमाडौंमा हुँदैछ । काठमाडौंमा आउनु अगाडि शर्माले आफ्नो कर्मभूमि मध्यपूर्वका अभियन्तासँग छलफल गर्नेछन् । काठमाडौँ फर्किएपछि उनले आफ्नो अभियानलाई थप सशक्त बनाउने बताइएको छ ।

शर्माले औपचारिक उम्मेदवारी घोषणामार्फत आफ्नो बाचापत्र सार्वजनिक गरिसकेका छन् । ‘२४ महिना २४ कार्यक्रम’ नाम दिएका बाचापत्रमा उनले आफूले अध्यक्ष भएपनि गर्ने कार्यको फेहरिस्त प्रस्तुत गरेका छन् ।

एनआरएनहरूबीच एकतालाई पहिलो प्रतिबद्धताका रुपमा अघि सारेका उनले भनेका छन्, ‘मेरो नेतृत्वमा आईसीसी गठन हुने बित्तिकै सबै गैरआवासीय नेपालीलाई एकताको मालामा उन्ने अभियानमा लाग्नेछु । मेरो कार्यकालमा ‘फुटेको होइन, जुटेको एनआरएन’ बन्नेछ । यो मेरो पहिलो प्रतिबद्धता हो ।’ अहिले एनआरएनए दुई वटामा विभक्त छ । उनले एनआरएनएलाई एक बनाउँदै अघि बढाउने प्रमुख एजेण्डाका रुपमा अघि सारेपछि एनआरएनए अभियन्ताहरुले महत्वका साथ हेरेका छन् ।

उनले गैरआवासीय नेपाली अभियानले अब देशभित्र नै रोजगारी पाउने वातावरण बनाउनको लागि काम गर्नुपर्ने आवश्यकता रहेको बताउँदै त्यसका लागि काम गर्ने पनि बाचा गरेका छन् । बैदेशिक रोजगारीमा जाने कामदारलाई सामाजिक सुरक्षा कोषको कार्यक्रममा जोड्न जनचेतनाको कार्यक्रम सञ्चालन गर्ने, समयसापेक्ष ज्ञान, दक्षता तथा सिपको कमीका कारण न्यून तलबमा काम गर्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्न नेपाल सरकार तथा निजी क्षेत्रसंग सहकार्य गरी अविलम्ब आवश्यक प्रशिक्षण कार्यक्रम अगाडि बढाइने जस्ता प्रतिबद्धता उनले आफ्नो बाचापत्रमा समेटेका छन् ।

यस्तै श्रमिकको आर्थिक स्थिति सुधार्नका लागि काम गर्ने योजना पनि शर्माले आफ्नो बाचापत्रमा समेटेका छन् । श्रमिक र तिनीहरूमा आश्रित परिवारको आर्थिक र सामाजिक सुरक्षाका लागि विशेष पहल गर्ने, सामाजिक सुरक्षा कोषमा हाल कायम रहेका योजनाहरूलाई गैरआवासीय नेपालीमैत्री बनाउन पहल गर्ने शर्माको योजना छ ।

अहिले देशले प्राप्त गरिरहेको विप्रेषण रकम उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्ने र बैदेशिक रोजगारको विकल्प खोज्नुपर्ने देखिएको भन्दै शर्माले त्यसका लागि विशेष पहल गर्ने बताएका छन् ।

यस्तै गैरआवासीय नेपाली कामदार भविष्य सुरक्षा प्राधिकरण’ गठन गर्ने महत्वकाक्षी योजना पनि शर्माले अघि सारेका छन् । ‘औपचारिक माध्यमबाट विप्रेषण पठाउने व्यक्तिलाई प्रोत्साहन गर्न पठाउने व्यक्तिको नामबाट भित्रिएको रकमको दुई प्रतिशत रकम सरकारले उक्त व्यक्तिको नाममा राखिदिने र पठाएको रकमको १० प्रतिशत रकम वैदेशिक रोजगारीमा रहेका व्यक्तिको सहमतिमा ‘गैरआवासीय नेपाली कामदार भविष्य सुरक्षा प्राधिकरण’ मा रहेको भविष्य सुरक्षा खातामा जम्मा गर्ने व्यवस्था मिलाउन पहल गरिनेछ । यसरी जम्मा हुँदै र बढ्दै गएको रकममा हरेक वर्ष एक निश्चित प्रतिशत ब्याज प्रदान गर्ने व्यवस्था मिलाउन पनि पहल गरिनेछ’, शर्माको बाचापत्रमा भनिएको छ ।

यस्तै सांगठनिक पुनर्संरचना, सबलीकरणयुक्त कार्यसम्पादन, संस्थागत सुशासनमा जोड दिएका शर्माले अनलाइनबाट पञ्जिकृत सदस्यले भोट गर्ने र राष्ट्रिय समन्वय परिषद र अन्तराष्ट्रिय समन्वय परिषदको निर्वाचन एकैदिन हुने व्यवस्था मिलाउने पनि बाचा गरेका छन् ।

देशको विकासका लागि आर्थिक कुटनीति र लगानी प्रबद्र्धनको कार्यक्रम सञ्चालन गर्ने, नेपालको बढ्दो व्यापार घाटा कम गर्न हरेक एनसीसीले नेपालको वस्तु निर्यात प्रबद्र्धनका लागि पहल गर्ने कार्यक्रम सञ्चालन गर्ने, विश्वव्यापी मान्यताअनुसार १८० दिनभन्दा बढी समय नेपाल बाहिर बस्ने नेपालीलाई गैरआवासीय नेपालीको मान्यता दिलाउन पहल गर्ने, दोस्रो÷तेस्रो पुस्ताका गैरआवासीय नेपालीलाई देशसँग जोडिरहन कार्यक्रम ल्याउने, भाषा र संस्कृतिको जगेर्ना गर्न पहल गर्ने जस्ता बाचापनि शर्माले गरेका छन् ।

हालसम्म बद्री केसी, रविना थापा, महेश श्रेष्ठ र विनय अधिकारीसमेतले अध्यक्षमा उम्मेदवारी घोषणा गरेको सन्दर्भमा आरकेको योजना प्रभावकारी र एनआरएनएमैत्री रहेको एनआरएनए अभियन्ताहरुको भनाइ छ । त्यसमाथि पहिले पटक मध्यपूर्वबाट सशक्त उम्मेदवारी आएकाले शर्माको पक्षमा माहोल तातिएको छ ।

प्रतिक्रिया