शनिबार, मंसिर १६, २०८०

विधागत पत्रकारिता विकासको जग

- विनोद ढुङ्गेल २०८० असोज १५ गते १२:५४

समाजका घटना र जानकारीको तथ्यपूर्ण प्रस्तुतिका आधारमा समाजको ऐनाका रुपमा पत्रकारिताले काम गर्छ । यसका लागि लुकेका वा लुकाउन खोजिएका सार्वजनिक महत्वका सूचनाहरू प्रस्तुत गर्छ । त्यस्ता सूचना तथ्यपूर्ण, सन्तुलित र विश्वसनीय हुनु पूर्वशर्त हो र त्यस्ता सूचना मात्र सम्प्रेषण गर्नु पत्रकारिताको धर्म हो । समाजमा त्यस्ता सूचनाको शक्तिलाई स्वीकार र सहन नगर्ने संस्कृति पनि नभएको होइन । त्यही संस्कृतिको परिणामका रूपमा कतिपय अवस्थामा पत्रकार तथा सञ्चारमाध्यममाथि भौतिक तथा मानसिक आक्रमण हुने गरेको पाइन्छ । एक महिनाभित्रै करिव एक दर्जनसम्म आक्रमणका घटना त्यस्तै अपसंस्कृतिका परिचायक हुन् ।

पत्रकारिताले मानव जीवन र जगतका विषयवस्तुलाई समाचार वा विचारका रुपमा समेट्छ, समेट्नुपर्छ । मानवीय चासोभन्दा बाहिर मिडिया छैन, जाँदैन । तर, मानिसको चासोको सीमा असीमित छ । चराचर जगतमा मात्र पनि हैनस समग्र पृथ्वी, ब्रम्हाण्ड र अनन्तसम्मै मानवीय चासो छ । जिज्ञासु मानिसको चासोका दायरा कसैले तोक्न पनि सक्दैन, सीमित परिधिभित्र कसैले रोक्न पनि सक्दैन । मानवीय उत्सुकताको जगमा टिकेको ज्ञानको खोजीसँगै पत्रकारिताको परिधि फैलँदो छ ।

त्यही जिज्ञासालाई समेट्ने नाममा तथ्यमा नपुगी वा तथ्यलाई तोडमोड गरी वा अर्ध–तथ्य प्रस्तुत गरी सनसनीपूर्ण सामग्री बनाउने र पस्किने काम पनि हुने गरेका छन् । सम्बेदनशील हुनुपर्ने माध्यम नै सनसनीपूर्ण भइदिएपछि परिणाम सधैँ सुखद हुन पनि सक्दैन । त्यस्ता कारणले पनि असहिष्णु मनहरूलाई थप उकासिदिन्छ । अनि, मिडियाकर्मी वा मिडियामाथि भौतिक आक्रमणसमेत भइदिन्छ । जबकि, नितान्त गलत सूचना नै सम्प्रेषण भए पनि त्यसको कानूनी उपचार खोज्ने विधि र प्रक्रिया छ ।

मानवीय अनन्त चासो र जिज्ञासालाई शान्त पार्न एउटा पत्रकारले कतिसम्म सक्ने भन्ने कुराको कुनै ठोस जवाफ छैन । जीवन, जगत र त्यसभन्दा पनि टाढाका सबै विषयलाई एउटै पत्रकारले बुझ्न र बुझाउन सक्दा पनि सक्दैन । तसर्थ विभिन्न विधामा केन्द्रित भएर अध्ययन गर्ने र त्यसमा दक्षता हासिल गरेर समाचार संकलन गर्ने पत्रकारिताको अभ्यासको विकास भएको हो ।

जिज्ञासुका चाहनाहरूलाई सकेसम्म समेट्नका लागि नै मिडियाले पत्रकारहरूलाई विभिन्न विधाको कार्यक्षेत्र तोकेर समाचार संकलन, प्रशोधन र सम्प्रेषण गर्ने गरेका हुन् । यही अभ्यास नै विधागत पत्रकारिता हो । त्यस्ता विधामा काम गर्नका लागि थुप्रै पत्रकार कस्सिएर लागेका पनि छन् । भलै तीमध्ये कतिपयको कार्यशैली, कार्यदक्षता, आचरण र अभ्यासका मामिलामा अनेक प्रश्न उठेका छन् । ती प्रश्नको उत्तर पनि अन्ततः तिनै पत्रकारहरूसँग नै छ ।

पत्रकारिताको थालनीको युगमा समग्र विषयमा एउटै पत्रकारले कलम चलाउँथे । समयको विकाससँगै विधागत पत्रकारिताको अवधारणा पनि विकसित हुँदै आयो । पत्रकारिताको लामो इतिहास भएका मुलुकमा विधागत रिपोर्टिङको चलन पनि विकसित नै छ । बिबिसी, सिएनएनजस्ता मिडियामा वातावरण रिपोर्टिङ गर्ने वातावरणविद्, स्वास्थ्य÷जनस्वास्थ्यको लागि चिकित्सक, जलवायु परिवर्तनको रिपोर्टिङ गर्ने विशेषज्ञ आदि देखिएका छन् । खेलाडीहरू खेल पत्रकार भएको उदाहरण त नेपालमै पनि छ । विधागत रिपोर्टिङ वास्तविक अर्थमा आधुनिक पत्रकारिताको शुरुवात हो । सिङ्गो पत्रकारिताकै दक्षता अभिवृद्धि गर्ने उद्देश्यले १९ औं शताब्दीको अन्त्यतिर संयुक्त राज्य अमेरिकामा बीट रिपोर्टिङ् थालनी भएको पाइन्छ । मेलानी म्यागिन र पिटर मौररले ‘अक्सफोर्ड रिसर्च इन्साइक्लोपेडिया अफ कम्युनिकेशन’मा उल्लेख गरेअनुसार विधागत पत्रकारिता र समाचार संकलन पत्रकारिताको व्यावसायिकता र तर्कसंगतताका साथै मिडियालाई सामूहिक उत्पादनमा रूपान्तरण गर्ने विषयसँग सम्बन्धित छ ।

अहिलको चलनचल्तीको भाषामा मूलप्रवाह भनिने मिसमास पत्रकारिताको हालिमुहाली देखिए पनि नेपालमा चाहिँ पत्रकारिताको थालनी नै विधागत पत्रकारिताबाट भएको हो । करीब तीन दशकअघि २०५१ सालमा छापा पत्रकारिता सिकाउनकै लागि ‘पत्रकारिता हाते किताब’ को आवश्यकता महसूस गरेको नेपाली पत्रकारिता आज विधागत अभ्यासमा अघि बढिरहेको छ । जबकि पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेको करीब १३० वर्षपछि रोपिएको पत्रकारिताको बीउ नै विधागत थियो, त्यो साहित्यिक विधा थियो ।

अहिलेभन्दा ठीक २५५ वर्षअघि पृथ्वीनारायण शाहले कान्तिपुर राज्यमाथि विजय हासिल गरेको १८२५ असोज १३ गतेदेखि १९५५ साल साउनमा ‘सुधासागर’ प्रकाशित हुँदासम्मको अवधि गणनाका आधारमा १३० वर्ष भनिएको हो । १९४३ सालमा वनारसबाट नेपाली भाषाको पहिलो पत्रिका ‘गोरखा भारत जीवन’ निकालेको सात वर्षपछि मोतिराम भट्ट नै नेपाल फर्किएर पं। कृष्णदेव पाण्डेसँग मिली प्रेस स्थापना गरेका थिए । काठमाडौं, ठहिटीको त्यही पाशुपत प्रेसमा ‘सुधासागर’ साहित्यिक मासिक छापेर १९५५ साउनबाट नेपाली पत्रकारिताको शुभारम्भ भएको थियो ।

रोचक पक्ष त के भने १९०८ मा जङ्गबहादुर राणाले हाते प्रेस (गिद्धे प्रेस) भित्र्याएको ४७ वर्षपछि नेपालबाट पत्रिका प्रकाशन शुरु भयो । तर, मोतीरामले स्थापना गरेको प्रेसमै १९५८ साल जेठ ३ गते पहिलो समाचारपत्रको रुपमा ‘गोर्खापत्र’ साप्ताहिक छापियो । यो हिसाबले अहिले सरकारी माध्यम भए पनि गोरखापत्र जनस्तरको टेकोपुँडोमा निस्केको देखिन्छ । गोरखापत्रको जन्म नेपाली साहित्यिक पत्रकारिताका प्रणेताहरूले तयार पारेको प्राविधिक पूर्वाधारमा भएको गौरव पनि विधागत पत्रकारिताले हासिल गरेको छ । पत्रकारिताकै वीजारोपण गर्ने व्यक्तिको हैसियतले मोतिराम भट्ट ‘नेपाली पत्रकारिताका आदिपुरुष वा संस्थापक’ नै हुन् । भलै उनलाई त्यसरूपमा खुला हृदयले सम्झिने र सम्मान गर्ने परम्पराको विकास हुनसकेको छैन । उनलाई ‘युवाकवि’मा मात्र सीमित गरिएको छ । नेपाली पत्रकारिता जगतको यो कञ्जुस्याइँको कारण अहिलेसम्म सायद कसैले खोजेको पनि छैन ।

विधागत पत्रकारिताको दृष्टिले हेर्दा राजनीतिक दृष्टिकोणसहितको निजी क्षेत्रको पहिलो समाचारपत्रको इतिहास कायम गर्दै राणा शासनको अन्त्य हुनुभन्दा तीन दिनअघि हृदयचन्द्रसिंह प्रधानको सम्पादकत्वमा निस्केको ‘जागरण’ साप्ताहिक राजनीति–पत्रकारिताको कोसेढुङ्गो हो । वास्तविक पत्रकारिताको विकास नै २००७ सालको राजनैतिक परिवर्तनपछि शुरु भएको मानिए पनि र व्यावसायिक पत्रिकाको प्रारम्भ प्रजातान्त्रिक व्यवस्थाको थालनीसँगै भएको ठानिए पनि त्यसपछि पनि अन्यभन्दा साहित्यिक पत्रकारिता नै बढी फष्टाएको पाइन्छ । यसबाट विधागत पत्रकारितामा साहित्यकारहरूको सक्रियता झल्किन्छ ।

विसं २००८ देखि २०१३ भित्र व्यापकरूपमा प्रकाशित हुन थालेका विभिन्न खाले पत्रपत्रिकाले त्यतिखेर समग्र पत्रकारिताको लोकप्रियता बढ्दै गएको सङ्केत गर्छन् । तर, त्यस अवधिमा समेत पत्रकारितामा साहित्यिक व्यक्तित्वहरूको रचना र उनीहरूको बाहुल्य रहेको तथ्याङ्क पाइन्छ । यसले पनि नेपाली पत्रकारिताको इतिहासमा साहित्यिक पत्रकारिताको वर्चस्वलाई पुष्टि गर्छ । त्यो भनेको पनि विधागत पत्रकारिताको वर्चस्वकै कुरा हो ।

विधागत पत्रकारितामा फोटो पत्रकारिताको अस्तित्व र इतिहास पनि खास देखिन्छ । गोरखापत्रले १९८४ साल वैशाख १३ गते छापेको फोटो–ब्लकबाट नेपाली छापामाध्यममा फोटो देखिन थालेको हो । यसैगरी सम्वाददाता राख्ने इतिहास २००० सालमा राजधानी काठमाडौंमा नगर सम्वाददाता राख्ने चलनबाट शुरु भएको र व्यंग्यचित्र अर्थात कार्टूनको थालनी २०१२ सालपछि भएको ग्रीष्मबहादुर देवकोटाले ‘नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास’मा उल्लेख गरेका छन् ।

यसैगरी नेपाली पत्रकारितामा महिलाको प्रवेश हस्तक्षेपकारी देखिन्छ । २००८ सालमा कुमारी कामाक्षी र साधना प्रधानद्वारा सम्पादित ‘महिला’ मासिक नेपाली पत्रकारितामा महिला प्रवेशको गौरवपूर्ण इतिहास कायम गर्दै उदाएको थियो । यो महिला बीटलाई नै पत्रकारिताको अभ्यास मान्नेहरूका लागि समेत गौरवको इतिहास हो । प्रजातन्त्रको आठ वर्षे अभ्यासपछिको २०१५ सालको निर्वाचित सरकारले दुई वर्षे उमेर पार गर्दा नगर्दै राजा महेन्द्रले पञ्चायती व्यवस्था लागू गरेपछि राजनीतिक स्वतन्त्रतासँगै प्रेस स्वतन्त्रता पनि खोसियो । फलतः पञ्चायती व्यवस्थाभरि पत्रकारिताको विकास अवरुद्ध भयो । अवरोधकै बीच पनि आर्थिक, साहित्यिक, खेलकूद, ग्रामीण, विज्ञान, प्रशासन आदि पत्रकारिताका केही अभ्यास भएको देखिन्छ ।

नेपाल अधिराज्यको संविधान, २०४७ ले प्रेस स्वतन्त्रता बहाल गरेपछि दैनिक पत्रिका प्रकाशनको लहर चल्यो । त्यसपछि नै विभिन्न विधामा समाचार लेख्ने प्रचलनको प्रयोग पनि व्यापक हुँदै गयो । तर, व्यावसायिक पत्रकारिताको शुरुवातीताका रिपोर्टिङको विधा व्यवस्थित नभइसकेको र राजनीतिक समाचारले बढी प्राथमिकता पाउने गरेको त्यस पुस्ताका पत्रकारहरूलाई हेक्का छ । त्यसताका एउटै बीटमा पत्रकारले लामो समय काम गर्न नपाउने र बेला–बेलामा कार्यक्षेत्र हेरफेर भइरहने हुनाले विशिष्टीकरणको अवसर कमजोर हुनपुग्थ्यो ।

विशिष्टीकरणको महत्वलाई नै ध्यानमा राखेर प्रेस काउन्सिलमा २०६३ सालमा ‘विधागत पत्रकारिता विकास उपसमिति’ गठन गरिएको पाइन्छ । त्यो उपसमितिले साहित्यिक तथा अन्य विधागत पत्रकारिताको विकास र सम्बद्र्धनका लागि नीति निर्माण गरी समस्या समाधानका लागि पहल गर्ने भनिएको थियो । यद्यपि त्यसपछिका काउन्सिलका गतिविधिहरूले के समस्या थिए र के हल गर्न के पहल ग¥यो भन्ने खासै देखिँदैन । आमसञ्चार विकासको प्रारम्भिक चरणमा छापामाध्यममा सीमित ‘प्रेस’ लाई जसले, जसरी, जुनसुकै मनसुवाले अनेकार्थी, पर्यायवाची शब्द प्रयोग गरे पनि अब छायामा पार्न सहज छैन । अर्थ विस्तारसहितको ‘प्रेस’ शब्द समग्र पत्रकारिता क्षेत्रलाई जनाउने संकेत शब्दको रुपमा स्थापित भइसकेको छ ।

रेडियो, टेलिभिजन हुँदै अनलाइन प्रविधिसम्म विस्तार हुँदा पत्रकारिता अब रोजगारीको एक माध्यमका रूपमा मात्र सीमित छैन । नयाँ–नयाँ घटनाको संकलन, चयन र सम्प्रेषणको समग्र प्रक्रियाका रुपमा रहेको यो पेशा समसामयिक ज्ञान आदानप्रदान गर्ने व्यवसाय भएको छ । यसको सम्बन्ध समाजका हरेक जीवनसँग गाँसिएको कुरा पत्रकारहरूले नै आत्मसात गरिरहेका छन् । पत्रकारहरूको यस्तो ठहर र रहरले नै पत्रकारितालाई सामाजिक क्रियाकलापका रूपमा समाजबारे समाचार र विचारको प्रसार गर्ने व्यवसायका रुपमा स्थापित गराएको छ । त्यसै क्रममा आमसञ्चारका साधनका लागि आवश्यक कच्चा पदार्थ संकलन, प्रशोधन, उत्पादन, भण्डारण र वितरणका काम यस पेशाअन्तर्गत हुँदै आएको सादृश्य छ ।

सिसाका टुक्रा जोडेर छापामा दल्नुपर्ने प्रविधिको ठाउँमा कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स– एआई) आइसकेको मात्र हैन, अब त समाचार कक्षमै हाबी भइसकेको छ । यो युगमा मानिसले रुचिअनुरुपका जानकारी पाउने अवस्था झनझन बलियो बन्दैछ । यो सुविधाले परम्परागत पत्रकारिता वा पत्रकारिताका साधनमै मात्र दुनियाँ निर्भर रहनुपर्ने अवस्थाको अन्त्य भएको छ ।

मिडियामा भूमण्डलीकरणको परिणामस्वरुप नै नेपाली उपभोक्ताले पनि आमसञ्चारका विश्वव्यापी उत्पादनसम्म पहुँच पाएका छन् । यस्तो समयमा एउटै मिडियाबाट सन्तोषजनक रूपमा सबै विषय समेट्न सम्भव छैन । साथसाथै कुनै विधा विशेषमा केन्द्रित रहेर पत्रकारिता गर्ने सञ्चारमाध्यमलाई पनि अरुभन्दा छिटो र पृथक स्वाद पस्कनुपर्ने बाध्यता बढ्दै गएको अनुभव पत्रकारहरूले गरिरहेका छन् । यो नेपालको मात्र नभएर दुनियाँकै पत्रकारिताको अनुभवको एक अंश हो । यसरी साहित्यको जगमा विधागत अभ्यास र त्यसको जगमा मिसमास पत्रकारिता गर्दै आजको युगमा आइपुगेको नेपाली पत्रकारिताको अबको दशा र दिशा सुधार्न भने पत्रकारहरूले मात्र गर्ने चिन्ता पर्याप्त छैन । बरु यसमा पूँजी लगानीकर्ता, विभिन्न प्रकारका श्रम लगानीकर्ता, सरकार, आमसञ्चार विज्ञलगायतका सबै सरोकारवालाहरूले सक्रिय चासो देखाउनु जरुरी छ ।

(लेखक पत्रकार हुन )

प्रतिक्रिया