आइतबार, वैशाख २३, २०८१

कोशीमा कांग्रेसलाई मुख्यमन्त्री दिएर केन्द्रको गठबन्धन भत्काउने एमालेको कसरत

मेरोन्यूज २०८० असोज १२ गते २०:५८

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले कोशी प्रदेशमा नेपाली कांग्रेसका उम्मेदवारलाई मुख्यमन्त्रीमा सघाउन तयार भएको छ । तर, त्यसका लागि एमालेले कांग्रेससमक्ष एउटा सर्त राखेको नेताहरू बताउँछन् । कोशीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापा परिवर्तन गरेर केदार कार्कीलाई बनाउने प्रस्ताव पनि एमालेको रहेको निकटस्थ स्रोतले बतायो ।

Advertisement

ठूलो दलको नेताको हैसियतमा कोशीको मुख्यमन्त्री बनेका एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले २० असोजभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक बाध्यता । सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यतामा रहेका कार्कीले विश्वासको मत पाउने सम्भावना नगन्य छ । तसर्थ एमालले अर्को चरणमा कांग्रेसलाई मुख्यमन्त्रीमा सघाएर केन्द्रको गठबन्धनमा दरार ल्याउने प्रयास थालेको हो ।

एमालेसँग ४० सांसद छन् । बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । एमालेसँग रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि एमालेलाई साथ नदिने संकेत गरेपछि एमाले यस्तो रणनीतिमा लागेको एक नेता बताउँछन् ।

राप्रपाका ६ सांसदले मत दिँदासमेत कार्कीको पक्षमा बहुमत पुग्दैन ।

एमालेकै उपसभामुख रहेको र सभामुख नभएका कारण प्रदेशसभा सञ्चालन उपसभामुखले गर्नुपर्ने भएकाले त्यसमा पनि एक मत घट्छ । त्यसो हुँदा सभाध्यक्ष सिर्जना दनुवारले मतदान गर्न पाउने छैनन् । त्यस्तो अवस्थामा एमालेसँग एक सीट घटेर ३९ मात्रै हुन्छ । यस्तो अवस्थामा बहुमत नपुग्ने देखेको एमाले कांग्रेसलाई मुख्मन्त्रीमा सघाएर केन्द्रको गठबन्धनलाई धक्का दिने प्रयासमा लागेको हो ।

संविधानको धारा १६८ को उपधारा ३ अनुसार सबैभन्दा ठूलो दलको हैसियतमा बनेको सरकारले विश्वासको मत नपाएपछि उपधारा ५ मा झर्नेछ । त्यही उपधारा ५ मा एमालेले आफ्नो रणनीतिक चाल अपनाउन खोजेको एमाले कोशीका एक नेताले जानकारी दिए । त्यसका लागि एमाले नेताहरू कांग्रेससँग निरन्तर संवादमा रहेका कांग्रेसका एक नेताले जानकारी दिए ।

एमाले नेताहरुले कांग्रेसका नेतासँग अनौपचारिक संवाद गरे पनि अहिलेसम्म ग्रिन सिङ्नल पाइसकेका छैनन् ।

कांग्रेस संसदीय दलको नेता परिवर्तन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली नै लागेको निकटस्थ स्रोतले बतायो । स्रोतले ओलीले अनौपचारिक रूपमा यसबारे कांग्रेसका नेता डा. शेखर कोइरालासँग पनि कुराकानी गरेको बतायो । डा. कोइरालाले ओलीलाई हुन्छ, हुन्न कुनै जवाफ नदिएको पनि स्रोतले बतायो ।

महामन्त्री गगन थापासँग पनि निकट रहेका कार्कीलाई पनि त्यसका लागि रणनीति अघि बढाउन ओलीले सिकाएको पनि कार्की निकट स्रोतले बतायो ।

प्रदेश सभामा कांग्रेसका २९ सांसद छन् । ती २९ मध्ये कोइराला र देउवा समूहका सांसद १०–१० जना छन् । प्रदेश सभामा कृष्ण सिटौला समूहका सांसद ९ जना छन् ।

अहिले देउवा र सिटौलाको समूह एकै स्थानमा छन् ।

कांग्रेसभित्र पनि पहिला दुईपटक मुख्यमन्त्री भएका उद्धव थापालाई उम्मेदवार बनाउन नहुने इतरसमूहका नेताहरुको लविङ छ । दुईपटकसम्म संविधान उल्लघंन गर्ने थापालाई अगाडि सार्न नहुने इतर समूहको तर्क छ ।

कोशीमा एमाले समर्थनमा कांग्रेसको मुख्यमन्त्री बनेमा केन्द्रमा पनि वर्तमान गठबन्धनमा दरार आउने ओलीको बुझाइ छ ।

प्रतिक्रिया