आइतबार, वैशाख २३, २०८१

कांग्रेस, एमाले र माओवादीलाई संसदीय दलको उपनेता छान्नै सकस

मेरोन्यूज २०८० असोज ९ गते २१:५५

काठमाडौं । प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रमा संसदीय दलको उपनेता छान्न महाभारत छ । एमालेले दलको उपनेता सुवास नेम्वाङलाई छानेपनि उनको निधनपछि त्यहाँ पनि उपनेता उछिट्याउन भित्री चलखेल शुरु भईसकेको छ ।

Advertisement

कांग्रेस र माओवादीले त दलको उपनेता अहलेसम्म छान्नै सकेको छैन । मंसिरको निर्वाचनपछि झण्डै १० महिना वित्दासम्म उनीहरुले संसदीय दलको उपनेता छान्न सकेका छैनन । कांग्रेस र माओवादीमा झै अब उपनेताको महाभारत एमालेमा पनि पर्ने देखिएको छ ।

कांग्रेसमा संसदीय दलको उपनेताका लागि हालका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, पूर्व महामन्त्री प्रकाशमान सिंह, शसांक कोइराला र बिमलेन्द्र निधि लागिपरेका थिए । पार्टीका चार हस्ती नै उपनेता आफु बन्न कम्मर कसेर लागेपछि कांग्रेस संसदीय दलका नेता समेत रहेका सभापति शेरवहादुर देउवाले कसैलाई पनि उपनेता चयन गरेका छैनन । उनले सूदुरपश्चिमका आफना विश्वासिला पात्र रमेश लेखकलाई प्रमुख सचेतक बनाएका छन् ।
तर उपनेता भने कसैलाई पनि दिईहालेका छैनन ।

एउटालाई उपनेता बनाउँदा अर्काे नेतासँग अन्तरविरोध चुलिने र त्यसले कालान्तरमा पार्टी सभापतिसँग दूरी बढ्ने देखेपछि देउवाले चलाखी अपनाउन उपनेता चयन नगरि त्यक्तिकै थन्काएर राखेका छन् ।

पार्टीको दलको बैठकमा समेत नेताहरुले घुमाउरो शैलीमा उपनेताका बारेमा निर्णय गरेर जान देउवामाथी आग्रह गरेपनि देउवाले सुने नसुने झै गरि बसिरहेका छन् ।

कांग्रेसमा जस्तै महाभारत माओवादी केन्द्रमा पनि छ ।
माओवादी केन्द्रको संसदीय दलको उपनेतामा उपमहासचिव वर्षमान पुन र जनार्दन शर्माले दावी गरेका छन् । प्रचण्डले उपनेता तोकेका छैनन ।

उपनेतामा भने पुन र शर्माले दावी गरेका उनीहरु निकट नेताहरु बताउँछन् । यद्यपि उनीहरुले आफूहरुको दावी संसदीय दलको बैठकमा राख्ने भन्दै सार्वजनिक रुपमा बोलेका छैनन् ।

दलको प्रमुख सचेतकमा भने हितराज पाण्डेलाई तोकेका छन् प्रचण्डले । पार्टीका सांसदहरुको भूमिका प्रभावकारी नभएको भन्दै ससदभित्र र बाहिर पनि आवज उठिरहेको छ । सांसदहरुलाई निर्देशन गर्न पनि दलको उपनेता तोक्न प्रचण्ड माथी दवाव छ । तर पनि उनले सुने नसुने झै गरिरहेका छन् ।

एमालेमा भने ओलीले संसदीय भूमिकामा जानकार रहेका पार्टी उपाध्यक्ष समेत रहेका सुवास नेम्वाङलाई सुरुमै दलको उपनेता तोकेका थिए । नेम्वाङ संविधानसभाका अध्यक्ष, सभामुख भईसकेका र संसदीय भूमिकामा सवैभन्दा परिपक्व नेता रहेका कारण उनको ठाउँमा अन्य नेताहरुले दावी गर्ने अवस्था नै थिएन । जसकाकारण उनी निविकल्प जस्तै थिए । तर उनको निधन पछि भने दलको उपनेता बन्न एमालेभित्र पनि रस्साकस्सी छ ।

उपनेताका लागि खासगरि उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लागिरहेको एमाले नेताहरु बताउँछन् । चुनाव जित्ने पदाधिकारीमध्ये वरिष्ठ नेता यी दुई जना मात्रै हुन् । चुनाव जित्नेमा अरु नेता सचिव तहका मात्रै छन् । त्यसैले पौडेल र गुरुङमध्ये एकजना दलको उपनेता हुने अनुमान गरिएको छ । पौडेल र महासचिव शंकर पोखरेल बिच देशभर समानान्तर समूह बनेको छ । सोहीकारणले महासचिव पोखरेलले पौडेललाई संसदीय दलको उपनेता बन्नबाट रोक्ने संभावना रहेको बताइन्छ ।

पौडेललाई रोकेमा गुरुङ उपनेता हुनसक्ने बताइन्छ । तर, पौडेल र गुरुङ एकै समूहको नेता भएको पनि एमालेभित्र चर्चा भइरहेको छ । त्यसैले, अबको उपनेता कसलाई बनाउने भन्नेमा पौडेल र पोखरेल को हावी हुने भन्ने विषयसँग पनि जोडिने एमालेभित्र विश्लेषण भइरहेको छ ।

प्रतिक्रिया