आइतबार, वैशाख २३, २०८१

देउवाले केन्द्रीय सदस्य मनोनयन गरेका ३२ मध्य १९ जना आफ्नै गुटका, अरु को-कसका ?

मनोनयन भएका अधिकांश महाधिवेशनमा पराजित अनुहार

मेरोन्यूज २०८० असोज ४ गते १६:५३

काठमाडौँ । देउवाले १४ औँ महाधिवेशनमा सभापतिमा निर्वाचित भएपछि ३२ जनालाई केन्द्रीय सदस्य मनोनयन गरेका छन् । ती मध्य १९ जना आफ्नो गुटका छन् । बाँकी केही पनि आफ्नो गुटका नभए पनि सहयोग गर्ने खालका छन् । अर्थात खर्को गुटमा नभएका आफूप्रति सकारात्मक भएकालाई देउवाले केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् ।

Advertisement

सभापति देउवाले १४ औं महाधिवेशनपछि १९ महिनामा ३२ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेका छन्।

०७८ मंसिरमा भएको १४ औं महाधिवेशन डा. शेखर कोइरालालाई हराएर देउवा सभापतिमा निर्वाचित भएका थिए।

विधानअनुसार महाधिवेशन सकिएको ६ महिनाभित्र केन्द्रीय सदस्यदेखि विभागहरूमा मनोनीत गरिसक्नुपर्छ। तर देउवाले अझै केन्द्रीय समितिलाई पूर्णता दिएका छैनन् । पार्टी कोषाध्यक्ष रिक्त छ। ७० मध्ये अहिलेसम्म १६ विभाग प्रमुख मात्रै तोकिएका छन्।

१६८ सदस्यीय केन्द्रीय समितिमा अझै दुई सदस्य मनोनयन गर्न बाँकी छ ।

सभापतिमा पराजित उम्मेदवार स्वतः केन्द्रीय सदस्य हुन्छन्। कांग्रेसमा १३४ जना केन्द्रीय सदस्य महाधिवेशनबाट निर्वाचित भएर आएका थिए। सभापतिलाई ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्ने अधिकार विधानले दिएको छ।

देउवाले मनोनयन गरेका रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि पार्टीसँगको आवद्धता टुंग्याएका थिए । ०७९ फागुन २५ गते पौडेल राष्ट्रपति निर्वाचित भएका थिए। उनको स्थानमा एक र बाँकी एक गरी दुई सदस्य मनोनयन गर्न बाँकी छ ।

देउवाले मनोनयन गरेकामध्य अर्घाखाँचीका मानबहादुर विश्वकर्मा, पर्वतका अर्जुनप्रसाद जोशी, बागलुङका किरणराज शर्मा पौडेल, रूपन्देहीका भरतकुमार शाह, पर्साका अनिलकुमार रूंगटा, काठमाडौंकी राधा घले, झापाकी गोमा भट्टराई, रुपन्देहीकी गंगा शाही, सुनसरीकी लक्ष्मी खतिवडा र नवलपुरकी सीता देवकोटा, विजयकुमार गच्छदार, प्रकाशशरण महत, नारायण खड्का, उमा रेग्मी, मीनबहादुर विश्वकर्मा, जीवनबहादुर शाही, प्रदीप पौडेल, विमलेन्द्र निधि र कल्याण गुरुङ आफ्नै गुटका हुन् । पौडेल अहिले अर्को गुटमा लागे पनि १४ औँ महाधिवेशनमा देउवा प्यानलबाटै महामन्त्रीको उम्मेदवार बनेका थिए ।

देउवाले मनोनयन गरेका संस्थापन इतरकामा गुल्मीका चन्द्र भण्डारी, कास्कीका शारदा पौडेल, मीनेन्द्र रिजाल, महोत्तरीकी किरण यादव, मोरङकी रुकमिनी कोइराला, सुजाता कोइराला इतर समूहका हुन् ।

नेता कृष्ण सिटौलासहित मनोनित काभ्रेका शिवप्रसाद हुमागाईं, ललितपुरकी धना खतिवडा सिटौला समूहका हुन् ।

धादिङकी उर्मिला थपलिया डा. शशांक कोइरालासँग निकट छिन् ।

कल्याणी रिजाल प्रकाशमान सिंहसँग निकट छिन् । प्रकाशमान अहिले इतर समूहमा छैनन् ।

मनाेनित भएका अधिकांश १४ ‍औँ महाधिवेशनमा विभिन्न पदमा उम्मेदवार बनेर पराजित भएका छन् ।

विमलेन्द्र निधि, प्रकाशमान सिंह, विजयकुमार गच्छदार, चन्द्र भण्डारी, प्रकाशशरण महत, प्रदीप पौडेल, सुजाता कोइराला, जीवन शाही, मानबहादुर विश्वकर्मा, मिनेन्द्र रिजाल, भरतकुमार शाह र अर्जुन जोशी उम्मेदवार बनेर पराजित भएका हुन् ।

प्रतिक्रिया