आइतबार, वैशाख २३, २०८१

माओवादीले कुन पार्टीसँग गर्दैछ पार्टी एकता ?

छैन कसैसँग तत्काल एकताको टुंग्गो, पार्टी नाम भने फेर्ने हतारो

शितल शर्मा २०८० असोज २ गते २०:४८

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको पार्टी नेकपा (माओवादी केन्द्र) ले पार्टीको नाम फेर्नेबारे औपचारिक रुपमा सर्कुलर गरेको छ । अन्य कम्युनिष्ट घटकहरुसँग एकता गर्न र त्यसलाई सफल बनाउन नेपाल कम्युनिष्ट पार्टीको पछाडी कोष्ठकमा रहेको माओवादी केन्द्रको नाम परिवर्तन पार्टीको महाधिवेशनबाट गर्न सकिने माओवादीले जनाएको छ ।

Advertisement

पार्टी मातहात कमिटिलाई पार्टी पदाधिकारी बैठकको निर्णय भन्दै गरिएको सुर्कलरमा त्यस्तो उल्लेख छ । माओवादी अहिले गत भदौं १६ देखि तीन महिने पार्टी रुपान्तरण विशेष अभियानमा छ । यो अभियान सकेपछि उसले पार्टीको विधान सम्मेलन गर्ने र विशेष महाधिवेशन गर्ने बताएको छ ।

तर यहीबीच माओवादी केन्द्रले गत भदौ २५ गते बसेको माओवादी पदाधिकारी बैठकको निर्णय भन्दै पार्टीको नाम परिवर्तनका लागि छलफल थाल्न कार्यकर्तालाई निर्देशन दिएको हो ।

हेर्नुहोस सर्कुलर

माओवादी केन्द्र अहिले एकीकृत समाजवादी, जनता समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँगै समाजवादी मोर्चामा छ । अवको राजनीतिक कार्यदिशा समाजवादीलाई बनाउनु पर्ने भन्दै माओवादीसहितका चार पार्टीले मोर्चा बनाएका हुन् ।

यही मोर्चाबाट सहकार्य गदै पार्टी एकताको तहसम्म पुग्ने मोर्चामा आबद्द दलहरुको भनाई छ । तर ठोस एकता नै हुने गरि भित्री छलफल भने यी पार्टीहरुका बीचमा भएको नदेखिएको माओवादी केन्द्रका एक नेताले बताए ।

प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दोस्रो विकल्पका रुपमा माओवादी धारका पार्टीहरुवीचको एकतालाई पनि जोड गरेका छन् । त्यसक्रममा उनले विप्लव लगायतका साना छरिएर रहेका माओवादी धारका पार्टीहरुसँग छलफल चलाईरहेका छन् ।

माओवादी धारका पार्टीहरुको बीचको एकतालाई अगाडी बढाउन प्रचण्डले पार्टी बैठकबाटै ठोस पहल लिन उपाध्यक्ष कृष्णवहादुर महरालाई जिम्मेवारी नै दिएका छन् । महरा पनि उत्साहित नै भएर एकताका लागि लागिरहेका छन् ।

तर त्यसले पनि ठोस गति लिन सकेको छैन । विप्लव माओवादीसँग एकताका लागि तयारी छन् । उनी इच्छुक पनि देखिएका छन् । तर पार्टीमा विप्लवलाई तत्काल लिँदा पार्टीभित्रका वर्षमान पुन र जर्नादन शर्मा फयाक्टरको रियाक्सन के कस्तो पर्न सक्छ भनेर प्रचण्डले अहिले नाडी छाम्ने काम गरिरहेका छन् । विप्लवलाई पार्टीमा भित्राएर जिम्मेवारी दिँदा पुन र शर्मा असन्तुष्ट हुनसक्नेतिर प्रचण्ड सचेत बन्न खोजिरहेका छन् ।

तर यो एकताले गति लिन सक्ने भएपनि तत्कालै यसमा पनि ठोस निर्णायक केही नहुने बताइएको छ ।

अर्काेतर्फ बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)सँग पनि माओवादी केन्द्रको एकता छलफल चलेको थियो । चुनाव पनि उनीहरुले एउटै चुनाव चिन्ह्रमा लडेका थिए । एकताका लागि भन्दै नेसपाले माओवादी केन्द्रलाई ९ बुँदे प्रस्ताव पनि पठाएको थियो । तर वीचमा बाबुराम भट्टराई फेरि प्रचण्डसग टाढिन थालेका छन् ।

बाबुरामको पार्टीमा नेता -कार्यकर्ता माओवादीसँगको एकताका लागि तम्तयार देखिएपनि बाबुरामले अनिच्छा देखाउन थालेका छन् । बाबुराम अहिले आफ्नै पार्टीको अभियान लिएर हिड्न थालेका छन् ।

यसो हुँदा माओवादीले विप्लवको पार्टी र सक्दा सिंगो बाबुरामको पार्टी नभए पनि बाबुरामको पार्टी टुक्रा बनाएर भएपनि एकतामा लयाउने कोसिसमा छन् ।

‘ठोस यहीसँग यसरी नै एकता भन्ने भएको छैन, तर पनि माओवादी धारका पार्टीहरु, बाबुरामको पार्टी लगायतसँग पनि छलफल जारी छ,’ माओवादीका एक पदाधिकारीले भने ।

‘भोलिको एकतालाई मध्यनजर गरेर नै अहिले नै पार्टीमा पार्टी नामका बारेमा पनि छलफल चलाउने र सुझाव लिनका लागि नेता कार्यकर्तालाई निर्देशन गरिएको हो,’ ती नेताले भने ।

बाबुराम भटटराईको नेपाल समाजवादी पार्टीभित्र दुई अध्यक्ष छन् । बाबुराम प्रचण्डसँग टाढिन खोजेपनि प्रचण्डको नेतृत्वमा रहेका महन्द्रिराय यादव भने नजिक हुँदै जान थालेका छन् । बाबुराम एकताप्रति सकारात्मक नभएपनि महिन्द्रराय यादवलाई र नेसपाभित्र रहेका कतिपय नेतालाई नजिक बनाएर भएपनि पार्टी एकतामा ल्याउने रणनीतिमा यतिवेला माओवादी देखिन्छ । त्यसैको प्रयासमा अहिले बाबुरामको पार्टीका एकथरी नेताहरुसँगको निरन्तरको सम्वादमा माओवादी नेताहरु छन् ।

२५ भदौंको पदाधिकारी बैठक पछि पनि माओवादीका नेताहरुले नेसापका अध्यक्ष महिन्द्रराय यादवलाई पत्र नै पठाएर सम्वादको श्रृंंखला मात्रै चलाएका छैनन, पार्टी नाम फेर्ने बहस चलेको र महाधिवेशनले निर्णय लिनेसम्मको जानकारीको पत्र पठाएका छन् । उक्त पत्रमा प्रचण्ड र देव गुरुडले हस्ताक्षर गरेका छन् । यो पत्र नेसपाका सूदुरपश्चिम इन्चार्ज जनकराज साहले सामाजिक सन्जालमार्फत सार्वजनिक गरेका छन् ।

हेर्नुहोस पत्र

तर नेसापा सूदुरपश्चिम इन्चार्ज साहले माओवादी अध्यक्ष प्रचण्ड र देव गुरुङको पत्र सही हो भने दुष्टाईको पराकाष्ठा हुने टिप्पणी गरेका छन् । उनले अगाडी भनेका छन्, ‘नेसपा बैठक अब रोचक- घोचक हुने’ नै भएको बताएका छन् ।

माओवादीमा पार्टी नाम फेर्ने बारेमा छलफल भएको नयाँ भने होइन, तर औपचारिक सर्कुलर नै गरेको भने सम्भवत: यो पहिलो पटक हो । यसपछि १ चैत २०७७ को केन्द्रीय कमिटी बैठकमा पनि प्रचण्डले पार्टी नाम र विचारधारा बदल्ने प्रस्ताव ल्याएका थिए । तर त्यसबेला प्रचण्डको प्रस्ताव अगाडि बढेन । त्यसपछि उनले भर्चुअल केन्द्रीय समिति बैठकमा पनि पार्टी नाम फेर्ने प्रस्ताव गरेका थिए ।

त्यसअगाडी एमालेसँग २०७५ सालमा एकीकरण गर्दा माओवादीले नाम छोडेको थियो। सर्वोच्च अदालतको आदेशपछि अध्यक्ष प्रचण्डले पुरानै माओवादी केन्द्र ब्युँताएका थिए।

शितल शर्मा

मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया