बिहीबार, वैशाख २०, २०८१

भैँसेपाटीमा प्रदेश प्रमुख तथा मुख्यमन्त्रीको निवास प्रधानमन्त्रीद्वारा उद्घाटन

मेरोन्यूज २०८० भदौ १० गते २०:५४

काठमाडौँ । ललितपुरको सैँबु भैँसेपाटीमा सातै प्रदेशका प्रमुख तथा मुख्यमन्त्रीहरूका लागि सम्पर्क कार्यालय तथा निवास निर्माण भएका छन् । भवनहरूको प्रधानमन्त्री पुष्पकमल दाहालले एक कार्यक्रमबीच उद्घाटन गरेका छन् ।

उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले स्थायित्वको साथै समृद्धि र सुशासनको नयाँ यात्रामा जानुको कुनै विकल्प नरहेको बताए । राष्ट्रिय सहमतिका साथै मुलुकलाई समृद्धि र सुशासनको दिशामा अघि बढाउने उनले उद्घोष गरे ।

‘स्थायित्वका साथै समृद्धि र सुशासनको नयाँ यात्रामा जानुको कुनै विकल्प छैन,’ प्रधानमन्त्री दाहालले भने, ‘मैले कार्यकारी प्रमुखको हैसियतले यो पक्षमा आफ्नो ठाउँमा राष्ट्रिय सहमति र समझादरी गरेर अगाडि जाने प्रयास गर्दै आएको छु ।’

विसं २०७६ असोज २६ गतेदेखि निर्माण कार्य सुरु भएर चार वर्षभित्र निवास भवन सम्पन्न गरिएको हो ।

सातै प्रदेशका प्रमुख तथा मुख्यमन्त्रीको एक÷एक भवन एउटै कोलोनिमा निर्माण गरिएको छ ।

सत्र रोपनी सात आनामा भवन, पाँच रोपनीमा आन्तरिक सडक र आठ आनामा पोखरी र बगैँचा क्षेत्र रहेको छ । अत्याधुनिक सुविधायुक्त भवनसहित सबै पूर्वाधारको लागत मूल्य अभिवृद्धि करसहित ८५ करोड रहेको मन्त्रालयले जनाएको छ । केसी–समानान्तर जेभीले पूर्वाधार निर्माण गरेको हो ।

कार्यक्रममा प्रधानमन्त्री दाहालले नवनिर्मित भवनको साँचो प्रदेश प्रमुख र मुख्यमन्त्री हस्तान्तरण गरे । प्रधानमन्त्री दाहालले सुदूरपश्चिम प्रदेश र कोशी प्रदेशको प्रदेश प्रमुख तथा मुख्यमन्त्रीको भवन निरीक्षण पनि गरेका थिए ।

उद्घाटन समारोहमा संघीय मन्त्रीहरु, सातै प्रदेशका प्रमुख तथा मुख्यमन्त्री, मुख्यसचिव, ललितपुर महानगरपालिकाका प्रमुख, ललितपुरका जनप्रतिनिधि उच्च सरकारी अधिकारीलगगायतको सहभागिता थियो ।

प्रतिक्रिया