शुक्रबार, वैशाख २१, २०८१

मानिसले लक्ष्य नराखेपछि अलमल हुन्छ

नरेन्द्र रौले २०८० भदौ ६ गते १०:५६

राम घिसिङ पेशाले शिक्षक हुन् । उनले शिक्षण पेशामा डेढ दशक बढी समय बिताईसकेका छन् । राजधानीका बिभिन्न कलेजमा प्राध्यापन गरिरहेका घिसिङको परिचय यतिमा मात्रै सिमित छैन । उनी मोटिभेश्नल स्पिकर र लेखक पनि हुन् । बिगतमा तामाङ साहित्यको सर्वेक्षण (०७१),भाषण कला (०७८) जस्ता पुस्तक बजारमा ल्याईसकेका घिसिङको हालै प्रेरणा र सफलता पुस्तक प्रकाशित भएको छ । कलेज पढ्ने विद्यार्थी र विशेषगरी टिनएज पुस्तालाई लक्षित गर्दै उनले किताब लेखिरहेका छन् । पुस्तक, पठनपाठन र लेखनबारे घिसिङसग मेरो न्युज डट्कमका लागि नरेन्द्र रौलेले गरेको कुराकानी –

Advertisement

प्रेरणा र सफलता पुस्तक लेख्न कति समय लाग्यो ?
यो पुस्तक पूरै लेखिसक्न डेढ महिना लाग्यो । पहिलो लकडाउनमा पुस्तक त तयार भयो । तर, प्रकाशक, सम्पादक खोज्न भने अलि समय लाग्यो ।

यस पुस्तकभित्र कस्तो खालका विषयवस्तुहरू समेटिएका छन् ?
यस पुस्तकभित्र सफलताका सूत्रहरू समेटिएका छन् । त्यसमा मेरा अनुभवहरू र विश्व चर्चित ७० जना प्रेरक व्यक्तिका कथा समेटिएका छन् । यस्तै रामायण, महाभारतका अंश र चाणक्यले भन्नु भएका केही अंश पनि समेटिएका छन् । सफलतासम्म पुग्न के–के गर्ने भन्ने बारेमा धेरथोर पढ्न पाईन्छ ।

मैले विशेषगरी टिएनएज पुस्तालाई लक्षित गरी पुस्तक लेख्छु । त्यसमा पनि ११ र १२ कक्षामा पढ्ने विद्यार्थीहरूका लागि उपयोगी पुस्तक लेखौं भन्ने लागेर किताब लेखेको हो । जीवनमा लक्ष्य कसरी हासिल गर्ने भन्ने बारेमा विद्यार्थीहरूलाई यस पुस्तकले केही हदसम्म सघाउँछ । हुन त यही अवधारणामा बजारमा अरु पुस्तकहरू पनि देखिन्छन् । तर, ति पर्याप्त छैनन् ।

प्रेरणा र सफलता पुस्तक विद्यार्थीहरूले पढ्न किन जरुरी छ ?
एउटा गतिलो जागिर पाउने हो भने कोर्षका मात्र किताब मात्र पढे पुग्छ । उद्यम, व्यवसाय गर्नु छ, सीप र ज्ञान हासिल गर्नु छ भने कोर्ष बाहिरका किताबको अध्ययन गर्न जरुरी छ ।

प्रेरणा र सफलता पुस्तकले आफूलाई चिन्न मद्दत गर्छ । जीवनमा लक्ष्य निर्धारण गर्न र त्यो बाटोमा कसरी हिंड्ने भन्ने कुराको ज्ञान दिलाउँछ । यो पुस्तकले पूरै जीवन परिवर्तन गर्छ त म भन्दिनँ । तर, यसमा भएका कुरा कार्यान्वयन गर्न सके हरेक विद्यार्थीलाई फाईदा नै गर्छ ।

दैनिक रूपमा चार घण्टा अध्ययन गर्ने हो भने तपाईंको क्षेत्रमा अरूले जित्न सक्दैनन् । आफूले पढेका र जानेका कुरा कार्यान्वयन पनि गर्नुपर्‍यो । ज्ञान केवल पढ्नका लागि मात्र होईन, यो लागु गर्नका लागि पनि हो । मानौं, तपाईं पौडी खेल्न चाहनु हुन्छ, त्यसका लागि कि आफै पोखरी वा नदीमा गएर सिक्नुपर्‍यो, कि जान्ने मानिससँग जानुपर्‍यो । सफलताको पहिलो सुत्र नै यहि हो, अभ्यास । प्रेरणा सानो कुरा हो भने बाँकी त आफ्नो मिहिनेत नै हो ।

युवा पुस्तालाई प्रतिभावान बनाउन जरुरी छ । चीन र अमेरिकाबिच चीनको जनसंख्या बढी छ । तर, अमेरिका किन बढी शक्तिशाली छ त ? किनभने त्यहाँ हरेक नागरिकहरू सक्षम छन् । प्रतिभावान छन् । नेपालका युवाहरू पनि प्रतिभावान बनुन् भन्ने मेरो इच्छा हो ।

टिनएज पुस्ताले कस्ता खालका पुस्तकहरू अध्ययन गर्न जरुरी छ ?
मेरो विचारमा सबैभन्दा पहिले स्वास्थ्य र जीवनशैलीबारे पढ्नुपर्छ भन्ने लाग्छ । त्यसपछि राष्ट्रियता, आफ्नो देशको भुगोल, इतिहासका विषयमा पनि अध्ययन गर्न जरूरी छ । खप्तड स्वामीको विचार विज्ञान, जोसेफ मर्फिको पावर अफ सब्कन्सियस माइन्ड, एकहार्ट टोलेको द पावर अफ नाओ, रोबर्ट टि. कियोसाकीको रिच ड्याड् पोअर ड्याड्, स्टेफेन आर. कोभेको सेभेन ह्याबिट्स अफ हाइली इफेक्टिभ पिपुल, जेम्स क्लियरको अटोमिक ह्याबिट्स जस्ता पुस्तक पढ्न सुझाउँछु । असल पुस्तकले मानिसको जीवनशैली नै बदल्छन् ।

कोर्षका किताबले व्यक्तिलाई असल नोकर बनाउँन सघाउँछ भने ज्ञान बढाउँन भने आफ्नो क्षेत्रका किताब खोजेर पढ्नुप¥यो । आफ्नो क्षेत्रका टप ५, टप १० पुस्तक खोजेर पढ्नुप¥यो ।

बजारमा कस्ता खालका किताबको कमी पाउनु हुन्छ ?
नेपालको सन्दर्भमा भन्नुपर्दा देशको वास्तविक अवस्था झल्काउँने, राष्ट्रियता झल्काउँने किताब कम छन् । पुस्तकहरू भेटिए पनि उपयोगी भने कम छन् । सही बाटोमा हिंड्न प्रेरित गर्ने, करिअर छनौटमा सघाउ पुर्‍याउने पुस्तकहरूको कमी देख्छु ।

अहिलेको युवा पुस्तामा के कुरा कमी देख्नुहुन्छ ?
मानिसले लक्ष्य नराखेपछि अलमल हुन्छ । त्यो अलमल देख्छु । नेपालीले आफ्नै भाषा भुले जस्तो लाग्छ । नेपाली भएपछि मातृभाषा त जान्नैपर्‍यो । यो हाम्रो पहिचान हो । भाषाको ज्ञान, विषयको ज्ञान, प्रविधिको ज्ञान भएमा अहिलेको समयमा अघि बढ्न कोशेढुंगा सावित हुन्छ । आफ्नो भाषा जानिसके पछि अरु भाषा जान्नु पनि आवश्यक हुन्छ । जरा बिनाको रुख ठूलो हुँदैन । जस्तो बर पिपलको जरा जति गहिरो हुन्छ, त्यती अग्लो हुन्छ । र, लामो समय बाँच्छ ।

युवाहरूमा म सक्छु, म गर्छु भन्ने आत्मविश्वास हुनुपर्‍यो । अवचेतन मनको प्रयोग गर्न सक्नुपर्‍यो । नेपोलियन बोर्नापार्टकी आमाले जे पनि सम्भब छ भन्ने कुरा उनको दिमागमा भरिदिएकी थिईन् । जुनसुकै बेला पनि सकारात्मक कुरा सोच्न छाड्नु हुन्न । सामान्य मानिस पनि जीवनमा खत्रा बन्न सक्छन् । जीवन संघर्ष हो । संघर्ष बिनाको सफलता मजा हुँदैन ।

किताब लेख्ने क्रममा अरु लेखकका किताब कत्तिको पढ्नुभयो ?
अरु किताबहरू एक दर्जन जति पढें । अरुले कस्तो लेख्ने रहेछन्, त्यसबारे आइडिया लिनुपर्‍यो । भिडिओ धेरैको हेरियो । प्रेरणादायी भिडिओ, वैज्ञानिकका भिडिओहरू पनि हेरियो ।

‘लिङ्कनको पुस्तक प्रेम’ शीर्षकमा उनको बारेमा पढेपछि प्रेरणा लिएँ । उनले टाढाका विद्वान् व्यक्तिबाट जर्ज वासिङ्टनको जीवनी पुस्तक पढ्न ल्याए । राति अबेरसम्म पढे । उनका बुबाले ‘राती भयो, अब सुत’ भने । उनी छेवैमा पुस्तक राखेर सुते । राति पानी परेर पुस्तक भिज्यो । भिजेको पुस्तक सुकाएर उनी डराई-डराई फिर्ता दिन गए । पुस्तकको मामिलामा कडा थिए ती विद्वान् व्यक्ति । उनले ‘पुस्तक तिम्रो भयो तर मेरो खेतमा काम गर’ भने । लिङ्कन पुस्तक आफ्नो हुने खुसीले रमाएर काम गर्न थाले । तसर्थ लिङ्कन मन पर्यो । 

मेरा अर्का प्रिय लेखक हुन्, म्याक्सिम गोर्की । उनी किन मन परे भन्दा ‘स्कुल, कलेज नदेखेका महान साहित्यकार’ शीर्षकमा उनको दयनीय जीवनी मैले बालमञ्च पत्रिकामा पढें । उनका पाएसम्म धेरै कृति पढेको छु । आमा, बाल्यकाल, मान्छेहरूको माझमा,  मेरो विश्वविद्यालय, म्याक्सिम गोर्कीको जीवनी, कथाहरू,  मैले अध्ययन कसरी गरेँ ? लगायत पुस्तक पढेको छु ।

गोर्कीको ‘मेरो विश्वविद्यालय’ पुस्तकको भनाइ मननीय छ । त्यसमा लेखिएको लाइनले एकदम मन छोयो । त्यो लाइन यस्तो छ, – सम्झीराख ! मानिसलाई धेरै कुरा चाहिँदैन । बस् एक टुक्रा रोटी र आइमाई भए पुग्छ । तर, प्रगति गर्न त्योभन्दा माथि उठ्न निरन्तर कोसिस गर्नुपर्छ ।’

युवा विद्यार्थीहरूलाई के सन्देश दिन चाहनु हुन्छ ?
तपाईं जुन देशमा हुनुहुन्छ, त्यहाँको इतिहास पढ्नुहोस् । नपढि कोही पनि व्यक्ति सफल छैनन् । औपचारिक वा अनौपचारिक रुपमा अध्ययन गर्नुहोस् । मन परेको काम गर्नुहोस् । नत्र अघि बढिदैन । अध्ययनबिना आधुनिक पनि भईदैन । म सप्रिनु, देश सप्रिनु हो । म बिग्रिनु, देश बिग्रिनु हो भन्ने सोच्नुपर्‍यो । सिक्न नछोड्नुहोस् । सिक्दै अगाडी बढ्नुहोस् । जीवन संघर्ष हो । पछि हट्नु हुन्न । ढिलोचाँडो मानिसलाई पक्कै सफलता मिल्छ ।

प्रतिक्रिया