शनिबार, वैशाख २२, २०८१

दुई हप्ताभित्रै आँखा पाक्ने रोगको सङ्क्रमण कम हुन्छ (अन्तर्वार्ता)

मेरोन्यूज २०८० भदौ ५ गते १४:२१

यतिबेला मुलुकका अधिकांश भेगमा आँखा पाक्ने रोगको सङ्क्रमण व्यापक रुपमा फैलिएको छ । काठमाडौँका अस्पतालमा मात्र नभई देशका अन्य अस्पतालहरुमा पनि यो रोगबाट प्रभावित बिरामीहरुको चाप निकै नै बढेको समाचारहरु सार्वजनिक भइरहेका छन् । यस समस्याका कारण कतिपय स्थानीय तहका विद्यालयहरूमा पठनपाठन ठप्प भएका छन् । मानिसको संवेदनशील अङ्ग मानिने आँखामा लाग्ने यस रोग डरलाग्दो नभए पनि हप्ता दिनसम्म आँखा हेर्न कठिनाइ गर्ने हुँदा मानिसको दिनचर्यामा असर हुने गरेको छ । छिट्टै एक मानिसबाट अर्को मानिसमा सर्ने भएकाले पनि यस रोगको सङ्क्रमणबाट धेरै जना प्रभावित बनेका छन् । अहिले आँखा पाक्ने रोग अधिकांशमा भाइरल इन्फेक्सनका रुपमा देखिएको चिकित्सकले बताएका छन् । उनीहरुका अनुसार सामान्यतया रुघाखोकी जस्तै यो रोग दुई साताभित्र आफैँ निको हुने वरिष्ठ आँखा रोग विशेषज्ञ डा सुमनशम्शेर थापा बताउँछन् ।

Advertisement

चौबिस वर्षदेखि जलविन्दु तथा मोतिविन्दुको विशेषज्ञका रुपमा काम गर्दै आएका डा थापा २३ वर्षसम्म तिलगङ्गा आँखा अस्पतालमा कार्यरत छन् । अहिले राजधानीको थापाथलीस्थित एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्रमा रही सेवा गरिरहेका छन् । प्रस्तुत छ, हाल देशभर सङ्क्रमणका रुपमा फैलिएको आँखा पाक्ने रोगका कारण, यसबाट बच्न अपनाउनुपर्ने सावधानीदेखि उपचारका बारेमा वरिष्ठ आँखा रोग विशेषज्ञ डा थापासँग गरिएको कुराकानीको सारसंक्षेप –

केही समयदेखि देशभर आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएको छ, यसको कारण के होला ?
– आँखा पाक्ने समस्या नेपालमा प्रायः हरेक वर्ष फैलिन्छ । बर्सातको मौसममा यो समस्या बढी देखिन्छ । अहिले देशैभरि विभिन्न जिल्लाहरूमा देखिएका छन् र बिरामीहरू उपचार खोज्दै अस्पतालहरुमा पुगेका छन् । काठमाडौँलगायत धेरै भागमा आँखा पाक्ने रोग यो झरीको मौसमसँगै व्यापक रुपमा देखिएको छ । एलर्जी, ब्याक्टेरिया र भाइरसका कारण यो रोग हुने गर्दछ । यो एडिनो भाइरसको सङ्क्रमणका कारण देखिने समस्या हो । यसले आँखाको सेतो भागको सतहमा हुने झिल्लीलाई सङ्क्रमित गर्दछ । यो समस्यालाई चिकित्सा भाषामा कन्जङ्किटभाइटिस भनिन्छ भने आम भाषामा आँखा पाकेको भनिन्छ । यो एउटा आँखाबाट अर्कोमा वा एक मानिसबाट धेरै जनामा तीव्र गतिमा फैलिन्छ । यो भाइरसको कारणले बिरामीको सम्पर्कमा आएको एक दुई दिनभित्रै अत्याधिक छिटो सङ्क्रमण हुने रोग हो ।

यस रोगका लक्षणहरु के के हुन त ?
– आँखा पाक्दा बिरामीहरूमध्ये केहीको आँखा रातो हुन्छ । निरन्तर आँसु बग्छ र कचेरा जम्छ । कतिपयलाई भने आँखै खोल्न गाह्रो हुन्छ वा उज्यालोमा हेर्न सकस पर्न सक्छ । आँखा बिझाउँछ । रोगका भाइरस आँखामा सङ्क्रमित भएपछि बिस्तारै आँखा रातो हुँदै जान्छ । आँखाको डिल सुन्निन थाल्छ । बिहान उठ्दा चिप्रा पर्छ । आँखा झिम्काउँदासमेत अप्ठेरो हुन्छ र आँसु धेरै बग्छ । एउटामात्र आँखामा देखिएको समस्या अर्को आँखामा सर्छ । आँखा गोलभेँडाजस्तो रातो हुने, आँसु आउने, चिप्रा आउने, परेला सुन्निने, आँखामा बालुवा पसेजस्तो बिझाउने हुनसक्छ । यस भाइरसको कारण कतिपयलाई टाउको र घाँटी दुख्ने, ज्वरो आउने र कसैकसैलाई कानको अगाडिको भाग सुनिनेजस्ता समस्या पनि आउन सक्छ ।

यस रोगले आँखालगायत शरीरको अन्य भागमा पनि असर पु¥याउँछ कि ?
–आँखा पाक्ने रोग हेर्दा जति डरलाग्दो देखिए पनि आत्तिनु पर्दैन । यद्यपि यसको असर कसैकसैलाई दुई हप्तासम्म पनि रहनसक्छ । भाइरस कन्जङ्किटभाइटिसमात्र भयो भने यसले दीर्घकालीन असर पार्दैन तर भाइरसको सङ्क्रमण क्षमता उच्च छ तर सङ्क्रमित मानिसको रोग प्रतिरोधात्मक क्षमता कमजोर छ भने त्यसले आँखाको सेतो भागको सतहमा हुने झिल्लीमात्र नभएर नानीलाई पनि असर गर्न सक्छ । ‘कर्निया’मा पनि असर गर्ने भएकाले त्यसले फुलो पार्न सक्छ । फुलो पर्नु भनेको मानिसको दृष्टि कमजोर हुनु हो । सङ्क्रमण निको भएपश्चात् प्रायः आँखामा नराम्रो असर नरहने भए पनि कसैकसैको आँखाको नानीमा केही मात्रामा असर रही दृष्टिमा न्यून असर पर्न सक्छ । यतिबेला आत्तिएर होइन, सजग रह्यौँ भने यस रोगबाट चाँडै नै मुक्ति पाउन सकिन्छ ।

रोग लागिसकेपछि कसरी छिटोभन्दा छिटो निको पार्न सकिन्छ ?
–सङ्क्रमित व्यक्ति भीडभाडमा नजाने, विद्यार्थी भए केही दिन स्कुल वा कलेज नजाने, चिकित्सकको सल्लाहबमोजिम औषधि हाल्ने, कालो चस्मा लगाउने जस्ता विधिहरु अपनाउनु पर्छ । सङ्क्रमितले आँखाको सरसफाइमा ध्यान दिनुपर्छ । दिनमा दुई/तीन पटक सफा पानीले आँखा सफा गर्नुपर्छ । नरम खालको कपडा प्रयोग गर्नुपर्छ । सङ्क्रमितले हरेक पटक आँखा छोएपछि साबुन पानीले हात धुनु पर्छ । बिरामीले प्रयोग गरेको धारा, ढोकाको चुकुल, रुमाललगायत सामग्रीहरू अरूले प्रयोग नगर्ने वा गर्नै परे राम्ररी साबुनपानीले धोएर मात्र प्रयोग गर्नुपर्छ ।

यस रोगबाट कसरी बच्न सकिन्छ त ?
– धेरैलाई आँखा पाकेको बिरामीलाई देख्दा आफूलाई पनि स¥यो भन्ने भ्रम छ, त्यो होइन । बिरामीको आँखा हेरेर सर्दैन । हावा वा आमनेसामने बस्दैमा सर्ने रोग यो होइन । तर सङ्क्रमितको आँखाबाट निस्कने आँसु वा चिप्राले सङ्क्रमण सार्छ । औषधि हालिदिने सहयोगीले राम्रोसँग साबुनपानीले हात धुनु पर्छ । शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको स्थितिमा यसले चाँडो सङ्क्रमण गर्नसक्ने भएकाले पोसिलो खाना खानुपर्छ । रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरूलाई यस भाइरसले चाँडो पक्रने भएकाले वृद्धवृद्धा र बालबालिकाले विशेष सुरक्षा अपनाउनु पर्छ । यो रोगको ध्यान दिनुपर्ने मुख्य कार्यमा बिरामीले आँखा नछुने, बिरामीलाई औषधि हाल्न वा अन्य कामले छोएमा राम्रोसँग हात धुने, चिकित्सकको निगरानीमा मात्र औषधिहरु प्रयोग गर्ने र अरूलाई यो रोग सर्न नदिन सजग हुने कार्य गर्नुपर्दछ । बिरामीलाई अलग्गै बस्ने, सुत्ने गर्नुपर्छ । घरबाहिर निस्कनु परेमा कालो चस्मा प्रयोग गर्न सकिन्छ । सङ्क्रमितको वरपर बस्ने मानिसहरू पनि उत्तिकै सजग भएर सतर्कता अपनाउनु पर्छ । विद्यालयका बालबालिकामा छिटो सर्ने हुँदा अभिभावक र शिक्षक सचेत हुनुपर्छ । विद्यालय नै बन्द गर्नुभन्दा बिरामीलाई दुई÷चार दिन विद्यालय नआउन भन्ने वा अलग्गै राख्न सकिन्छ तर ठूलो सङ्ख्यामा बिरामी बढेमा बन्द गराउनु पनि पर्नसक्छ ।

यतिबेला देशका कतिपय ठाउँमा बिरामीले औषधि नपाएको भन्ने समाचारहरु पनि आएका छन् नि ?
– हो मैले पनि कतिपय ठाउँमा बिरामीले औषधि नपाएको भन्ने गुनासो गरेको सुनेको छु । यो एकदमै नराम्रो कुरा हो । यसरी देशभरि नै सङ्क्रमणको रुपमा फैलिएको यस रोगबाट छिटोभन्दा छिटो मुक्ति पाउनका लागि सबैले सक्दो सहयोग गर्नुपर्ने बेलामा नाफाका लागि औषधि लुकाउने काम भएको छ भने त्यो निकै ठूलो अपराध हो । कसैले त्यस्तो गलत काम गरेको छ भने त्यस्ता मानवताविरोधी काम नगर्नुहोला । र राज्यले पनि यसमा निगरानी बढाएर गलत कार्य गर्नेलाई कारबाही गर्ने र साँच्ची नै औषधिको अभाव भएको ठाउँमा तत्काल औषधि पठाएर बिरामीलाई आश्वस्त तुल्याउनुपर्छ ।

अझै कति दिनसम्म यस रोगको सङ्क्रमण रहिरहन्छ ?
– यो मौसमसँग सम्बन्धित रोग हो । ह्युमडिटी कम भएपछि विस्तारै कम हुँदै जान्छ । सामान्यतः अझै दुई सातासम्म यसको सङ्क्रमण रहनसक्छ ।

यस रोगमा अस्पताल नै जानुपर्ने हो कि घरमै पनि उपचार गर्न सकिन्छ ?
– आँखा पाकेको लक्षण देख्नेबित्तिकै अघि भनेअनुसार सावधानी अपनाउँदै आँखाको उचित हेरविचार गर्नुपर्छ । चिसोले सेक्नु र आँखा धेरै रातो भएको खण्डमा साधारण खालको एन्टिबायोटिक थोपा लगाएर घरमै उपचार गर्न पनि सकिन्छ । आत्तिएर अस्पताल दौडिहाल्नुपर्ने वा अनेक औषधि प्रयोग गरिहाल्नु पर्दैन । तीनदेखि चार दिनपछि र अधिकतम पाँच दिनसम्म समस्या कम भएन भने अस्पताल जानु पर्छ । उज्यालोमा हेर्नै गाह्रो भयो भने तत्काल चिकित्सकको परामर्शअनुरूप अन्य जटिलता पहिचान गर्न परीक्षण गराउनु पर्छ । आफूखुसी औषधि प्रयोग गर्नु भने हुँदैन, चिकित्सकको रायअनुसार औषधोपचार गराउनु पर्छ ।

नेपालमा आँखा रोगको समस्या कस्तो पाउनुहुन्छ ?
– नेपालमा आँखासम्बन्धी रोग एउटा क्रोनिक रुपमा र अर्को नसर्ने खालको पाइन्छ । उमेर बढ्दै जाँदा जलविन्दु र मोतिविन्दुको समस्या देखिन थाल्छ । मोतिविन्दुको समस्या त धेरै कम भएको छ । मधुमेह, रक्तचापका बिरामीमा पनि आँखाको समस्या धेरै छ । पछिल्लो समय जीवनशैलीका कारण कम उमेरमै यी समस्या बढ्न थालेको छ ।

आँखा रोग विशेषज्ञ र उपचार सेवाको अवस्था कस्तो छ नि ?
– नेपालमा औसत जनसङ्ख्याको अनुपातमा आँखा रोग विशेषज्ञको सङ्ख्या निकै न्यून छ । हाल करिब तीन सयको सङ्ख्यामा विशेषज्ञ छन्, जबकि एक हजारभन्दा बढी हुन आवश्यक छ । विशेषज्ञसहितका आँखा अस्पतालहरु पनि राजधानी बाहिर निकै कम छ । अस्पतालहरुमा रहेका प्राथमिक आँखा उपचार केन्द्रहरुको स्तरोन्नति गर्न सकिएमा र कम्तीमा महिनामा एकपटक विशेषज्ञहरुमार्फत केन्द्रमा नै शल्यक्रिया गर्न सकिएमा धेरै बिरामीले राहत पाउने थिए । यसतर्फ राज्यले ध्यान दिनु जरुरी छ ।

(राससबाट)

प्रतिक्रिया