शनिबार, वैशाख २९, २०८१

मन्त्री किरातीले सोधे पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापालाई ८ बुँदे स्पष्टीकरण

मेरोन्यूज २०८० भदौ १ गते १८:१३

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपति विकास कोषका सदस्यसचिव मिलनकुमार थापालाई ८ बुँदे स्पष्टीकरण सोधेका छन्।

Advertisement

मन्त्री किराँतीले पशुपति क्षेत्रभित्रका विभिन्न पसल, पार्क तथा धर्मशाला सञ्चालन सम्झौता, विभिन्न हिसाबकिताबसमेतका विषय समेटेर शुक्रबार ८ बुँदे स्पष्टीकरण सोधेका हुन् ।

‘पशुपति क्षेत्र विकास कोषबाट व्यवस्थापन हुँदै आएका विभिन्न विषयका काम कारबाहीमध्ये देहायका विषय क्षेत्रसँग सम्बन्धित निर्णय, कागजातका प्रमाणित प्रतिलिपि तथा बुँदागत रूपमा स्पष्ट हुनेगरी सोसँग सम्बन्धित स्पष्ट जानकारी ७ दिनभित्र मन्त्रालयमा आइपुग्ने गरी पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलनकुमार थापाबाट माग गर्ने,’ मन्त्रालयले गरेको निर्णयमा उल्लेख छ ।

सदस्यसचिव थापासँग कोषबाट आफ्नो क्षेत्रभित्रका पसल, भवन, पार्क, धर्मशाला सञ्चालनका निमित्त कससँग, कुन व्यहोराको सम्झौता भएको छ सो सम्झौताका प्रमाणित प्रतिलिपिहरू उपलब्ध गराउन, कोषलाई बुझाउन बाँकी र बक्यौता रकमको विवरण, कोषबाट गरिएका सम्झौता बमोजिमको असुल उपर गरी लिनुपर्ने दायित्वबमोजिम रकमको हिसाब बुझाउन निर्देशन दिइएको छ ।

‘कोषले असुलउपर गर्ने, अनुगमन गर्ने र त्यसउपर कारबाही गर्ने समेतको काम, कर्तव्य र दायित्व त्यहाँको प्रचलित नियमानुसार कुन–कुन पदाधिकारी, कर्मचारीलाई तोकिएको छ, सोको विवरण,’ स्पष्टीकरणमा सोधिएको छ ।

कोष मातहत रहेको वनकालीको पार्किङ सम्झौताबमोजिम असुल हुनुपर्ने रकम विवरणसहितको व्यहोरा, कोषको गुरुयोजनाअनुसार पशुपति क्षेत्रका ७ र ८ नम्बर वडाका जग्गा अधिग्रहण गर्ने सम्बन्धमा मिति २०६६ भदौ ६ को निर्णयको व्यहोरा उपलब्ध गराउन स्पष्टीकरणमा मन्त्री किराँतीले निर्देशन दिएका छन् ।

प्रतिक्रिया