आइतबार, वैशाख ३०, २०८१

इन्जिनियर श्रेष्ठलाई भ्रष्टाचार मुद्दामा तीन महिना कैद र ५ लाख जरिवाना

मेरोन्यूज २०८० साउन ३२ गते २१:००

काठमाडौँ । विशेष अदालतले जिल्ला समन्वय समिति सप्तरीका इन्जिनियर विकास श्रेष्ठलाई सहित तीन जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

Advertisement

विशेषका अध्यक्ष श्रीकान्त पौडेल र बलभद्र बाँस्तोलाको इजलासले मुद्दाका अन्य चार प्रतिवादीलाई भने सफाइ दिएको छ ।

बिहीबारको इजलासले कसुरदार ठहर गर्दै तीन महिना कैद सुनाएको अधिकृत यज्ञराज रेग्मीले जानकारी दिए । इञ्जिनिएर श्रेष्ठलाई दुईवटा मुद्दामा तीन–तीन महिना कैद तोकिएको छ भने इजलासले जरिवानासमेत निर्धारण गरेको छ ।

विशेषले इन्जिनियर श्रेष्ठले भ्रष्टाचार निवारण ऐनको दफा १९(२) बमोजिम गलत प्रतिवेदन दिएको र दफा ८(१०)ग बमोजिमको कसुर गरेको भन्दै दुवै कसुरमा तीन–तीन महिना कैद हुने फैसला गरेको हो । साथै, चार लाख ९९ हजार ६६५ रुपैयाँ जरिवानासमेत तिराउने फैसला गरेको छ ।

आर्थिक वर्ष ०७३।७४ मा राजविराजस्थित राज रंगशालामा स्तरोन्नति कार्यमा मिलेमतोमा भ्रष्टाचार भएको दाबीसहित अख्तियारले २९ असार ०७९ मा सातजनालाई प्रतिवादी बनाई मुद्दा चलाएको थियो । जसमध्ये तीनजनाले कसुर गरेको विशेष अदालतको फैसला छ ।

जिल्लाको खेलकुद विकास समिति र उदय निर्माण सेवाबीच भएको सम्झौतामा निर्धारित सर्त तथा मापदण्डविपरीत कार्य भए पनि जिससका इन्जिनियर श्रेष्ठले उक्त कार्य गुणस्तरीय र मापदण्डबमोजिम भएको भनी प्रमाणित गराएका थिए । उनले नै भएकोभन्दा बढी काम भएको भनी सिफारिस गरेपछि सरकारलाई लाखौैँको क्षति भएको दाबी अख्तियारले गरेको थियो ।

दुई निर्माण कम्पनीका सञ्चालकसमेत यसमा दोषी ठहर भएका छन् । यद्यपि उनीहरूलाई बिगो भराउने र जरिवाना तिराउने फैसला मात्रै भएको विशेषले जनाएको छ ।

अधिकृत रेग्मीले न्यू गाहिल कन्स्ट्रक्सनका सञ्चालक भीमराज यादव र उदय निर्माण सेवाका सञ्चालक उदय श्रेष्ठलाई जनही अढाई लाख रुपैयाँभन्दा बढी जरिवाना भएको जानकारी दिए ।

प्रतिक्रिया