शनिबार, वैशाख २२, २०८१

पाकिस्तानको कार्यवाहक प्रधानमन्त्रीमा अनवर उल हक काकर चयन

मेरोन्यूज २०८० साउन २८ गते १२:३१

काठमाडौं । पाकिस्तानको कार्यवाहक प्रधानमन्त्रीमा अनवर उल हक काकर चयन भएका छन् । आम निर्वाचन अब उनकै नेतृत्वमा हुनेछ ।

Advertisement

प्रधानमन्त्री शहबाज शरिफ नेतृत्वको मन्त्रिपरिषदले संसद विघटनको निर्णय गरेपछि विपक्षी दलसमेतको सहमतिमा अनवर कार्यवाहक प्रधानमन्त्री बनेका हुन् ।

कार्यवाहक प्रधानमन्त्री चयनको विषयमा निवर्तमान प्रधानमन्त्री शहबाज शरिफ र विपक्षी दलका नेता राजा रियाजबीच शनिबार छलफल भएको थियो । सोही छलफलपछि अनवरको नाममा सहमति जुटेको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन् ।

पाकिस्तान सरकारको सिफारिसमा राष्ट्रपति आरिफ अल्बीले गत बुधबार मध्यराति संसद विघटनलाई सदर गरेका थिए । संसद विघटन भएको मितिदेखि ९० दिनभित्र पाकिस्तानमा आम निर्वाचन गराउनुपर्ने छ ।

देश आर्थिक संकटमा परेको, पूर्वप्रधानमन्त्री इमरान खानलाई जेल सजाय भएको लगायतका थुप्रै उथलपुथलका बीच कार्यवाहक प्रधानमन्त्री अनवरलाई आम निर्वाचन शान्तिपूर्ण रुपमा गराउनुपर्ने जिम्मेवारी आइलागेको छ ।

अनवर उल हक काकर पाकिस्तानका चर्चित नेताहरुमध्येमा पर्दैनन् । अनवर सन् २०१८ मा बलुचिस्तानबाट स्वतन्त्र सांसदको रुपमा निर्वाचित भएका थिए । पछि सिनेटमा बलुचिस्तान अवामी पार्टीको संसदीय दलको नेता पनि बनेका थिए ।

मिडिया रिपोर्ट अनुसार अनवरको सम्बन्ध पाकिस्तानी सेनासँग निकै राम्रो छ । त्यसैले उनलाई निर्वाचन गराउने मुख्य जिम्मेवारीसहित कार्यवाहक प्रधानमन्त्री चयन गरिएको चर्चा छ ।

यसैबीच इमरान खानको पार्टी पाकिस्तान तहरीक ए इन्साफले कठपुतली सरकार र विपक्षी दलको फर्जी नेताको सल्लाहमा कार्यवाहक प्रधानमन्त्रीमा अनवरलाई चयन गरिएको टिप्पणी गरेको छ । अनवरले संवैधानिक र लोकतान्त्रिक अधिकारमा आँच आउन नदिने उसले विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया