शनिबार, वैशाख १५, २०८१

सिंहदरबारमा अखडा जमाइरहेका कर्मचारीलाई बाहिर पठाइन्छ : सामान्य प्रशासनमन्त्री

मेरोन्यूज २०८० साउन १९ गते १७:३१

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐनको मस्यौदा गरी सहमतिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको जानकारी दिएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उनले कानुन मन्त्रालयबाट सहमति प्राप्त भएपछि यथाशीघ्र मन्त्रिपरिषद्मा लैजाने बताए । मन्त्री मोदीले भने, ‘तीन सयभन्दा बढी स्थानमा लामो समयसम्म निमित्तको जिम्मेवारीमा रहेका स्थानीय तहमा कर्मचारी व्यवस्थापनको काम भइरहेको छ, अनुमानयोग्य कर्मचारी सरुवा मापदण्ड बनाउने कार्यलाई पनि मन्त्रालयले प्राथमिकतामा राखेको छ ।’

मधेस प्रदेशका स्थानीय तहमा निमित्तबाट चलाउने कार्य शून्यमा झारिएको जानकारी दिँदै उनले सिंहदरबारलाई लामो समयदेखि अखडा बनाएर बसेका केही कर्मचारीको सरुवा र जिम्मेवारी पनि ज्येष्ठता तथा क्षमताका आधारमा अन्यत्र हुने बताए ।

सरकारले अर्थतन्त्र सुधार, जनजीविकाका मुद्दा तथा विकास र समृद्धिको विषयलाई पनि उच्च महत्व दिएको जनाउँदै मन्त्री मोदीले देशमा पछिल्ला समय भएका विभिन्न घटनाका सम्बन्धमा सरकारले निष्पक्ष छानबिनका लागि निर्देशन दिँदै वातावरण बनाइरहेको जानकारी दिए ।

यसअघि बैठकमा सदस्यहरुले संघीय निजामती ऐन, सुन प्रकरण लगायतका घटना तथा भ्रष्टाचारसँग जोडिएका विषयका सम्बन्धमा जिज्ञासा माग गरेका थिए ।

प्रतिक्रिया